झण्डी डाँडा-रम्भ्याङ इलामको सुन्दर पर्यटकीय गन्तब्य
पृष्ठभूमिः
झण्डी डाँडा इलामको रोङ गाउँपालिका–६ रम्भ्याङस्थित एक प्रमुख र आकर्षक पर्यटकीय स्थल हो । अर्गानिक पर्यटकीय स्थलका रुपमा परिचित झण्डी डाँडा १ हजार ३ सय ९६ मिटर उचाईमा छ । यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौँ हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौँ स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । झण्डी डाँडा सौन्दर्यका लागि मात्र नभई साहसिक खेलका लागि पनि उत्तिकै सम्भावना रहेको डाँडो हो । उहाँ विभिन्न संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिएको छ । यहाँ प्रतीक्षालय बनाईएको छ । मेची राजमार्गको हाँसपोखरीबाट करसोङ पदमार्ग बनेपछि झण्डीको महत्व र सहजता बढेको छ । झण्डी डाँडालाई गाजलेथुम्का नामले समेत चिनिन्छ ।
झापाको काँकडभिट्टाबाट २४ किलोमिटर उत्तरमा पर्ने झण्डी डाँडा मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा छ । यो ठाउँ तराई र पहाड दुवैतिरबाट पायक पर्ने भएकाले पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ हो । भारतबाट समेत मेची खोला हुँदै यहाँ आउन सकिन्छ । हाँसपोखरी र ब्युटी बोर्डर दुवै पोइन्टबाट गाडीमा र पदमार्ग भएर पनी झण्डी डाँडामा आउने सुविधा छ । साइक्लिङ रोड समेत भएकाले साइकलमा समेत युवाहरु यो पदमार्गबाट आउने गरेका छन् । चुरे क्षेत्रमा यो उचाईको डाँडो बिरलै पाइने गरेकाले पनि झण्डी डाँडाको महत्व अझ बढेको छ । झण्डीमा पर्यटकले क्याम्प फायर र नाईट स्टे क्याम्प पनि गर्ने गरेका छन् ।
झण्डी डाँडा घुम्न आउने आन्तरिक पर्यटक यहाँको सौन्दर्यमा लालयित हुन्छन् । झण्डी डाँडालाई पर्यटकले प्राकृतिक भ्यु–टावरको उपमासमेत दिने गरेका छन् । भर्जिन पर्यटकीयस्थल भनेर पनि व्याख्या हुने गरेका छन् ।
झण्डी डाँडा धार्मिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थान हो । किरात राईका आदिम पुर्खा रिनाहाङले देवी पूजा गरेको ठाउँको रुपमा झण्डी डाँडालाई मानिएको छ । झण्डी डाँडामा रहेको खेलमैदानलाई स्थानीय अगुवाले “रिनाहाङ सानो आहाल खेल मैदान“ नामसमेत राखेका थिए । यसलाई अहिले झण्डी खेलमैदान पनि भनिन्छ । जस्तै, किरातीहरुले उधौली, उभौलीजस्ता पर्व, संसारी पूजा, ढोलपूजा गर्दा ध्वजपताका झण्डा गाढ्ने चलन थियो । त्यही चलनअनुसार संस्कार सकेपछि, पूजाविधि सकेपछि यहाँ डाँडामा झण्डा जस्तै ध्वजापताका गाढ्ने गरेको इतिहास पाइन्छ । त्यही आधारमा यो डाँडाको नाम नै झण्डी डाँडा रहन गएको किंबदन्ती छ । किरातीहरु वा साम्पाङ राईले यो डाँडालाई “रिनाहाङ डाँडा“ पनि भन्ने गरेका पाइन्छ । रिनाहाङको बसोबास भएकाले र अहिले पनि मृग र मृगिनी को रूपमा अझै सोही क्षेत्रमा अस्तित्वमा रहेकाले झण्डीडाँडा आसपासमा जथाभावी दिसापिसाव फोहोरमैला नगर्नु भनेर बुढापाकाहरूले पहिलेदेखि बताउनुहुन्थ्यो । किरात संस्कृतिको धरोहरका रुपमा रहेको झण्डी डाँडा अहिले पर्यटकको मुख्य आकर्षणको केन्द्र पनि भएको छ । अहिले पनि साकेल थान छ भने उधौली र उभौलीमा पूजा गरिन्छ । ढोल, झ्याम्टा बजाएर साकेला नाचिन्छ ।
झण्डी डाँडामा भ्यु–पोइन्टको अवधारणा र स्थापना गर्न सङ्घीय र स्थानीय सरकार, स्थानीय अगुवा, किरात फ्रेन्ड्स क्लब लगायतको योगदान महत्वपूर्ण छ । रोङ गाउँपालिकाले यसको आसपासमा गुराँस र रम्भ्याङ कृषि सहकारी संस्थाको अगुवाईमा चिया रोपिएको छ । अहिले यहाँ घुम्नका लागि युवा, ज्येष्ठ नागरिक, केटाकेटी सबै एक पटक पुग्ने प्रयास गरिरहेका भेटिन्छन् । फेसबुक लगायत सामाजिक सञ्जालहरु हेर्दा लाग्छ कि, यो मनमोहक झण्डी डाँडा पुगेर सेल्फी नखिचे, भिडियो लाइभ नगरे र फोटो पोष्ट नगरे जीवनको रमाईलो पाटो चाँही अपुरो नै हुनेछ ।
झण्डी डाँडामा झापा, मोरङ्ग, सुनसरी लगायत तराई क्षेत्रहरु र भारतको सिलिगुडी, कोलकाता लगायत स्थानबाट गर्मी छल्न पर्यटन आउनलाई नजिक पर्छ । कोलाकाताबाट ६ सय २ किलोमिटरमा (राजधानी काठमाडौँ देखि भन्दा नजिक) झण्डी डाँडा आइपुगिन्छ । कोलकाताबाट बेहामपुर–मालदा, किसनगञ्ज हुँदै काँकडभिट्टा आइपुगिन्छ । विमानस्थलमा ओर्लिएर पनि काँकडभिट्टा हुँदै झण्डी डाँडा आउन सकिन्छ । बागडुग्राबाट झण्डी डाँडा ४३ किलोमिटरमा छ । झण्डी डाँडा दृश्यावलोकनका लागि मात्र नभई वनभोजका लागि पनि राम्रो सम्भावना रहेको स्थान हो ।
झण्डी डाँडाबाट दृश्यावलोकनः
यहाँबाट सूर्योदय र सुर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । असोजदेखि जेठसम्म सूर्योदय दृश्यावलोकन गर्ने उपयुक्त मौसम हो । झण्डी डाँडासम्म पुग्न मेची राजमार्गको हाँसपोखरी खण्डबाट शुरु हुने करसोङ पदमार्ग अन्तर्गत गुगल पोइण्ट, देवानगढी, गिद्धेभीर, दैले, हल्लने कुहँदै दिनभरी पैदल हिँडेर धजे भञ्ज्याङ आसपासमा बास बस्न सकिन्छ । रम्भ्याङ धजे आसपास र सलकपुरमा होम–स्टे छन् । भोलिपल्ट बिहानै झण्डी डाँडाबाट सूर्योदय दृश्यावलोकन पश्चात् झापातर्फको यात्रा तय गर्न सकिन्छ । स्थानीयबासी यो क्षेत्रमा पहिलेदेखि नै झुल्केघाम हेर्न जाने गरेका थिए । कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के मेची नदीलगायत इलाम र झापाका गाउँ–सहर मात्र नभई भारतको दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ सिलिगुडी, मटीगढा, बागडुग्रा, टिस्टा नदी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । अचेल यहाँ आन्तरिक र बाह्य पर्यटक समेत आउने क्रम बढेको छ ।
झण्डी डाँडामा वनभोज
यो क्षेत्रमा पहिलेदेखि नै स्थानीयबासी बसन्त र सरद ऋतुमा वनभोज (पहिले बनभात भनिन्थ्यो) खान जाने गरेका थिए । तिहारमा देउसी भैली खेलेको रकमले र वा प्रत्येक घरबाट जनही माना–चामल तेल आदि सङ्कलन गरी मासु किनेर लिएर जाने गरेका थिए । बनभोजमा स्थानीय सांस्कृतिक, लोक, दोहोरी गीतहरु समेत गाइन्थ्यो । जसले गाउँ र छरछिमेकमा सामाजिक सद्भाव वा भाइचारा विकासमा योगदान गरेको थियो । आजभोली तराईतिरबाट विद्यालय समूह, युवा समूह, देउसी समूहहरु दिनभरिको गर्मी छल्न र वनभोज खान ट्रयाक्टर, पिकअप र जिप लिएर आउन थालेका छन् । कच्चीबाटो भएपनि यहाँ आउन र रमाइलो गर्न उनीहरु उत्साहित देखिन्छन् । सडक, पूर्वाधार, आवासको थप सुधार र विकास गर्ने हो भने क्रम अझै बढ्ने निश्चित छ ।
झण्डी डाँडामा साहसिक खेल सम्भावना
झण्डी डाँडा आसपासमै प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । २०७८ सालमै यहाँबाट प्यराग्लाइडिङ परीक्षण भएको थियो । प्याराग्लाइडिङ सञ्चालनपछि भारत कोलकातासम्मको पर्यटकसमेत यहाँ आर्षिक गर्ने पर्यटनकर्मीको लक्ष्य छ । यो प्याराग्लाइडिङ इलामबाट झापा झर्ने भएकाले दुवै जिल्लाको पर्यटनलाई समेत यसले जोड्नेछ । मिनी माउन्टेन आसपास प्याराग्लाइडिङ ल्यान्डिङ गराउन सके मिनी माउन्टेन लगायत त्यस क्षेत्रको पर्यटनीय सम्भावना थप उजागर हुनेछ । जसबाट स्थानीय लाभावन्वित हुन सक्ने देखिन्छ । झण्डी डाँडाबाट प्याराग्लाइडिङमा उडेर मिनी माउन्टेन झर्ने रुट बन्न सके त्यहाँबाट झापा धुलाबारीको होटल मेची क्राउन लगायत उपयुक्त स्थान पुगेर बास बस्न समेत पायक पर्छ पर्यटकलाई । वा धुलाबारी स्थित होटल मेची क्राउन लगायतमा बसेका पर्यटकलाई मिनी माउन्टेन हुँदै झण्डी डाँडा पुग्न पनि सहज हुन्छ । मिनी माउन्टेनबाट शुरु हुने जिर्मले सांस्कृतिक सर्किट पदमार्ग भएर खारखोला, पहिरोडाँडा, देवी डाँडा, चुलिढुंगा, कुवापानी, जौबारी, मनकामना धाम हुँदै वा लामागाउँस्थित गुम्बाबाट धजे भएर पनि पुग्न सकिन्छ ।
करसोङ पदमार्ग भएर मेची राजमार्गको हाँसपोखरीबाट यात्रा गर्ने, रम्भ्याङस्थित होमस्टे बस्ने, झण्डी डाँडामा इभिनिङ भ्युसँगै शीतल मनोरञ्जन लिने, भोलिपल्ट बिहान झण्डी डाँडाबाट सूर्योदय दृश्यावलोकन गरी प्याराग्लाइडिङबाटै झापा प्रस्थान गर्ने प्याकेज राम्रो बन्न सक्छ ।
स्थानीय युवा अगुवा निमाकुमार राई, डम्बरबहादुर राई लगायतको नेतृत्वमा झण्डी डाँडामा २०५४÷०५५ सालतिर खेलमैदान निर्माण सुरु गरिएको थियो । त्यही बेलादेखि नियमित फुटबल प्रतियोगिता हुँदै आएको यो स्थानमा अचेल युवा पुस्ताले फुटबल लगायत खेलकुद आयोजनालाई निरन्तरता दिएका छन् । एकान्त, शान्त यो स्थानमा फुटबललगायत खेल खेल्न जाने निकै उत्कृष्ट ठाउँ मान्ने गरेका छन् खेलप्रेमीले । सोही स्थानमा स्थानीयले साकेला थान स्थापना गरी पूजाआजा गरी उधौली र उभौली मनाउने गरका छन् । किरात फ्रेण्डस् क्लबको अगुवाईमा सो स्थानको विशेष हेरचाह र सरसफाई गर्ने गरेका छन् ।
कसरी पुग्ने झण्डी डाँडा ?
– मेची राजमार्गस्थित हाँसपोखरी खण्डबाट करसोङ पदमार्ग हुँदै करिब ९ किमी ।
– मिनी माउन्टेनबाट शुरु हुने जिर्मले सांस्कृतिक सर्किट पदमार्ग भएर मनकामना धाम हुँदै वा लामागाउँस्थित गुम्बा हुँदै ।
– मेची राजमार्गकै हर्कटे बजारबाट गाडीको कच्ची सडक १० किमी ।
– झापा काँकडभिट्टाबाट निन्दा, सलकपुर हुँदै २४ किमी उत्तर ।
– झापा धुवाबारीबाट उत्तर सेङलेङटार हुँदै कुवापानी जैबारी मनकामनाधाम धजे हुँदै २८ किमी कच्ची सडक ।
– भद्रपुर विमानस्थलबाट ४५ किमी ।
– झापा धुलाबारी र चारालीबाट समेत शान्तिनगर मुर्चुंगे बजार चिसापानी तेलपानी जौबारी मनकामनाधाम धजे हुँदै समेत झण्डी डाँडा पुगिन्छ ।
– झापाको बाहुन्डाँगी, निन्दासिरान, जिर्मले, मनकामनाधाम हुँदै धजे भएर ।
– भारत कोलकाताबाट हेहामपुर–मालदा, किसनगञ्ज, झापा काँकडभिट्टा हुँदै ६ सय २ किमी ।
– भारत बागडुग्रा विमानस्थलबाट ४३ किमी ।
घरबास (होमस्टे)
झण्डी डाँडामा आउने पर्यटकलाई लक्षित गरी रम्भ्याङ गाउँमा पनि होमस्टे विस्तर गरी पर्यटकलाई खाने–बस्ने व्यवस्था मिलाइएको छ । सलकपुरमा जस्केलो सामुदायिक होमस्टे लगायतमा पर्यटक बस्ने गरेका छन् ।
झन्डीडाँडा जादा पर्यटकलाई खान,बस्न–
– रम्भ्याङ होमस्टे (सम्पर्क ९७६२९०२११२) दशरथ रिजाल ।
– हरि प्रधान, कमला पसल, खाना तथा बास (सम्पर्क ९८१७०८९८९८) ।
– झन्डीडाँडा रम्भ्याङ सामुदायिक होमस्टे (सम्पर्क ९८६२६९१५५१ ) ।
अहिले यहाँका होमस्टेमा पर्यटक आइरहेका छन् ।
होम–स्टेका कारण स्थानीयको आम्दानी बढ्न थालेको छ । यहाँसम्म आउने पर्यटकले गर्ने खर्च सोझै स्थानीय होमस्टे व्यवसायी र किसानको हातमा पुग्ने गरेको छ । त्यतिमात्र होइन, गाउँमा उत्पाउन भएका सिमी, मुला, इस्कुस, साग लगायत तरकारी पनी यहाँ आइपुग्ने पर्यटकले किनेर लैजान थालेका छन् । यसका साथै स्थानीय लोपोन्मुख लेप्चासहित राई, नेवार, तामाङ विभिन्न जातजातिका सांस्कृतिक परम्परा संरक्षणमा पर्यटनकै माध्यमबाट सहयोग पुग्ने गरेको छ । यहाँ आउने पर्यटकलाई स्थानी जातजातिले आ–आफ्ना सांस्कृतिक नाँच र प्रस्तुति देखाउने गरेका छन् ।
झण्डी डाँडाको काखमा धजे भञ्ज्याङ
रोङ–६ मा पर्ने झण्डी डाँडाको फेदमा अवस्थित धजे भञ्ज्याङ महत्पूर्ण र ऐतिहासिक ठाउँ हो । झण्डी डाँडा प्रवेश गर्ने प्रमुख नाका पनी हो । यो ठाउँ पञ्चायककालमा इलाम–झापा आउ–जाउ गर्ने नाका वा गौंडा थियो । धजेको सौन्दर्य पनि पर्यटक लोभ्याउने खालको छ । यहाँ अढाई दशकअघिसम्म ठूला मेलासमेत लाग्ने गरेको थियो । गाउँको कृषि उपज बिक्री र विनिमय हुने गरेको थियो उधौली, उभौली, चैतेदशैँ लगायत अवसरमा याँ ४ देखि ५ दिनसम्म पनी मेला लाग्ने गरेको थियो । झण्डी डाँडा रमिते डाँडा जस्ता पर्यटकीय स्थल यसको नजिकै छ । अर्को महत्वपूर्ण क्षेत्र लामालागाउँ (जहाँ विशाल गुम्बा बन्दैछ) पनि नजिकै छ । यहाँको रमिते डाँडामा रहेको गुम्बामा दर्शन गर्न आउनेहरु धजेकै बाटो भएर झण्डी डाँडामा पुग्न सक्छन् ।
धने भञ्ज्याङमा विश्रामका लागि बरपीपल र चौतारो पनि छ । बटुवा, पर्यटक र घाँस–दाउरा गर्नेहरु हावामा सुस्ताउँदै यहाँ आराम गर्छन् । बर–पीपल चौतारामा बसेर दक्षिणतिर हेर्दा तराईका समथर फाँटहरु र उत्तरतर्फ कञ्चनजंघा हिमाललगायत हिमशृंखला, अन्तुडाँडा, र कन्याम लगायत विभिन्न स्थान देखिन्छन् । धजे भञ्ज्याङ आसपासमा रक क्लामइम्बिङको सम्भावना पहिल्याइँदैछ । धजे र झण्डी बिचमा जिपलाईनको पनी अध्ययन गरिँदैछ । यहाँ लिङ्गे पिङ हालेर त्यसैलाई मनोरञ्जन थप बनाउने सम्भावना पनी उत्तिकै छ ।
धजे भञ्ज्याङमा यातायात सुविधा, बदलिंदो, जीवनशैली, पर्यटन विकासको गितविधि र सम्भावनालाई मध्यनजर गरेर पुरानो धजे मेलालाई पुनस्र्थपना गर्न स्थानीय तहमा गृहकार्य सुरु भएको छ । स्थानीयको लागि फुकोफालो सिजन बैशाखे पूर्णिमा र मङ्सिरे पूर्णिमामा धजे र झण्डी डाँडाको पर्यटनसमेतलाई समेटेर रम्भ्याङ धजे मेला तथा झण्डी पर्यटन सांस्कृतिक उत्सव आयोजना गर्नु उपयुक्त हुने स्थानीय अगुवाको भनाई छ ।
थप योजना
झण्डी डाँडा क्षेत्रमा रक क्लाइम्बिङ, जिपलाईन र प्याराग्लाइडिङ जस्ता साहसिक खेलका लागि प्रशस्त सम्भावना छ । नजिकैको धार्मिक र पर्यटकीयस्थलहरु श्रीअन्तु, कन्याम, पाथिभरा, मिनि माउण्टेन आउने पर्यटकहरुलाई झण्डी डाँडामा आउने वातावरण बनाउन उक्त स्थानहरुदेखि सोझो सडक सञ्जाल र एक ठाउँमा आएको पर्यटकलाई अर्को स्थानमा समेत पुग्ने गरी प्याकेज योजनाहरु अपनाउन जरुरी देखिन्छश्र श्रीअतु, कन्याम र झण्डी डाँडा (तीनचुला आधार) एकीकृत पर्यटन अवधारणा समेत दीगोपनका लागि अघि सारिएको छ । यसले कन्याममा एकछिन र श्रीअन्तुमा एक दिन बस्ने पर्यटकको बसाई लम्बाउन सकिन्छ । आउने पर्यटकलाई त्याहँको कृषिसँग जोड्न र किसानको आम्दानी बढाउन सकिने सम्भावना छँदैछ । झापाबाट सबैभन्दा नजिकै रहेको लालीगुराँसको वन पनि झण्डी डाँडा मै बनउने लक्ष्य गाउँपालिकाको छ । यी र यस्ता पर्यटनका लागि अग्र र पृष्ठ सम्बन्धन भएका कृषि, रोजगारी, मनोरञ्जन, आयआर्जन जस्ता पक्षलाई थप प्रवर्धन गर्न जरुरी छ । झापा, कन्याम, भारतीय सिमावर्ती नाकाहरु र श्रीअतु लायत क्षेत्राबाट सहज आवतजावतको लागि पक्की सडक लगायत कनेक्टिभिटी र विद्युत, पिउने पानी, यातायात सुविधा, सुरक्षा लगायत आधारभूत पूर्वाधार यथेषस्ट पु¥याउनु पूर्व शर्त बनेको छ ।
झण्डी डाँडामा पर्यटन समिति
झण्डी डाँडाको पर्यटन प्रवद्र्धन गर्न २०८१ मा रोङ ६ नं. वडा कार्यालयको अगुवाईमा डम्बर बहादुर राईको अध्यक्षतामा झण्डी डाँडा पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन समिति गठन गरिएको छ । समितिमार्फत सो क्षेत्रको पर्यटन प्रवद्र्धन र विकास, चेतना विकास, पर्यापर्यटन, खेल पर्यटन, सांस्कृतिक पर्यटन लगायतलाई अघि बढाउने लक्ष्य रहेको वडा अध्यक्ष सत्यम राई चौरासेको भनाई छ ।






प्रतिकृया दिनुहोस