• मंगलबार ४-२६-२०८३/Tuesday 08-11-2026
  • 08:26:23

रोङका विद्यार्थीका हातमा बचत, खातामा सेयर 

मंगलबार, २६ श्रावण, २०८३


२१ सयभन्दा बढी विद्यार्थीको बचत खाता, ४६० को डी–म्याट र १५८ को सीआरएन लिंक; विद्यार्थीका नाममा कम्पनीका आईपीओ पर्न थाले

भगीरथ भण्डारी,
इलाम २६, साउन,


इलामको रोङ गाउँपालिकाले विद्यालयका विद्यार्थीलाई बचत देखि सेयर बजारसम्म जोड्न थालेको छ । गाउँपालिकाका सबै विद्यार्थीलाई सेयर बजारमा सहभागी गराउने गरी आईपीओ भर्न सुरु गरेको हो ।
गाउँपालिकाले विद्यार्थीलाई आर्थिक रूपमा सक्षम र उद्यमशील बनाउने उद्देश्यले कार्यविधि बनाएरै कार्यक्रम अघि बढाएको जनाएको छ । ‘अध्यक्षसँग विद्यार्थी विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम कार्यविधि, २०८०’ अन्तर्गत ‘एक विद्यार्थी, एक रुपैयाँ बचत’, अभिभावकविहीन विद्यार्थी व्यवस्थापन, विद्यार्थी उद्यमशीलता र प्रोत्साहन गरी चारवटा कार्यक्रम सञ्चालनमा छन् ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुबास)का अनुसार ‘एक विद्यार्थी, एक रुपैयाँ बचत’ कार्यक्रमअन्तर्गत दुई हजार एक २९ विद्यार्थीको बैंक खाता खोलिएको छ । ती खातामा ३२ महिनामा ७० लाख ५८ हजार ३ सय ६५ रुपैयाँ बचत भइसकेको अध्यक्षले बताए । बैंक खातालाई आधार बनाएर विद्यार्थीलाई सेयर बजारमा प्रवेश गराउन थालिएको गाउँपालिकाको भनाइ छ । विद्यार्थी उद्यमशीलता कार्यक्रमअन्तर्गत हालसम्म चार सय ६० विद्यार्थीको डी–म्याट खाता खोलिएको छ भने एकसय ५८ विद्यार्थीको सीआरएन लिंकसमेत पूरा भइसकेको स्याङ्बोले बताए । गाउँपालिकाले विद्यार्थीको आईपीओ भरेकोमा हालसम्म १६ वटा आईपीओ परेको जनाएको छ  ।


विद्यार्थीका नाममा हाइड्रोदेखि पेन्ट्ससम्मका सेयर
गाउँपालिकाका अनुसार सेयर बजारमा विभिन्न कम्पनीको आईपीओ विद्यार्थीका नाममा परेको जनाएको छ । जसमा एपोलो हाइड्रोको आईपीओ गणेश आधारभूत विद्यालयका निहित राईको नाममा परेको छ । त्यस्तै, कलंगा हाइड्रोको आईपीओ गणेश आधारभूत विद्यालयका प्रतिम राई, उमा महेश्वर माध्यमिक विद्यालयका सोनिया राई र साइमन राई तथा शान्तिपुर माध्यमिक विद्यालयकी युनिस्का दाहालको नाममा परेको छ । सानिगार्ड हाइड्रोको आईपीओ गणेश आधारभूत विद्यालयका प्रतिम राई र प्रनिशा सुनुवार, शंकर आधारभूत विद्यालयका सुबिहान भुजेल तथा आगमन राईको नाममा परेको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ उमा महेश्वर माध्यमिक विद्यालयकी आर्या सारु मगरको नाममा परेको छ । एभरेस्ट कलरको आईपीओ शान्तिपुर माध्यमिक विद्यालयकी युनिस्का दाहाल र सुकृति खड्काको नाममा परेको छ ।
सर्वोत्तम पेन्ट्सको आईपीओ सरस्वती माध्यमिक विद्यालय, भालुझोडाका कुशल राई तथा माउन्ट एभरेस्ट हाइड्रोको आईपीओ गणेश आधारभूत विद्यालयकी राशी राईको नाममा परेको गाउँपालिकाको विवरणमा उल्लेख छ ।


एउटै विद्यार्थीको नाममा एकभन्दा बढी कम्पनीको आईपीओ
गाउँपालिकाका केहि विद्यार्थीहरुले एकभन्दा बढी कम्पनीको आईपीओसमेत पाएका छन् । शान्तिपुर माध्यमिक विद्यालयकी युनिस्का दाहालको नाममा कलंगा हाइड्रो र एभरेस्ट कलरको आईपीओ परेको छ । त्यस्तै गणेश आधारभूत विद्यालयका प्रतिम राईको नाममा कलंगा हाइड्रो र सानिगार्ड हाइड्रोको आईपीओ परेको छ । गाउँपालिकाले विद्यार्थीलाई सेयर बजारबारे व्यवहारिक ज्ञान दिँदै सानो उमेरदेखि नै बचत तथा लगानीको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।


अभिभावकविहीन विद्यार्थीलाई मासिक दुई हजार
गाउँपालिकाले अभिभावकविहीन विद्यार्थी व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ ।  पालिकाले माध्यमिक सम्मको शिक्षा निःशुल्क गर्नुका साथै स्वास्थ्य बीमा, खाना र लत्ताकपडाको व्यवस्थापन गरेको जनाएको छ । विद्यार्थीलाई ‘उज्यालो भविष्य भत्ता’ शीर्षकमा मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले बताए । अभिभावकविहीन विद्यार्थीको खातामा गाउँपालिकाले प्रतिविद्यार्थी १० हजार र सिद्धि हाइड्रोले २० हजार रुपैयाँ गरी ३० हजार रुपैयाँ जम्मा गरिसकेको  उनको भनाई छ ।


पाँच वर्षभित्र आर्थिक अभावले पढाइ नछुट्ने लक्ष्य 
गाउँपालिकाले आगामी पाँच वर्षभित्र आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपर्ने लक्ष्यका साथ काम गरेको जनाएको छ । बचतबाट सुरु भएको कार्यक्रमलाई सेयर बजार र उद्यमशीलतासम्म विस्तार गर्दै विद्यार्थीलाई भविष्यमा आफ्नै पुँजी निर्माण गर्न सक्ने बनाउने गाउँपालिकाको योजना छ । सम्पूर्ण विद्यार्थीलाई सेयर बजारमा जोड्ने काम देशमै पहिलोपटक स्थानीय तहबाट सुरु गरिएको दाबी गाउँपालकिकाको रहेकोे छ । 


 

प्रतिकृया दिनुहोस