• मंगलबार ४-२६-२०८३/Tuesday 08-11-2026
  • 06:12:55

फर्निचर उद्योगमा अवैध काठ, काठ व्यापारी टाप

सोमबार, २५ श्रावण, २०८३

इलाम : 

चुलाचुली गाउँपालिका–६ बेलचोकमा ठुलो परिमाणमा सखुवाको अवैध फेन्टा र काठ बरामद गरिएको छ । स्थानीय सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको इलामेली फर्निचरमा लुकाएर राखिएको सालको चिरान काठ (फेन्टासहित) बरामदको लागि स्थानीय वन प्रशासनले सशस्त्र प्रहरी बलको सहयोग लिनुपरेको बताइएको छ ।
अवैध काठ सङ्कलन गर्ने विश्वकर्मा लगायतका व्यक्तिहरू भागेको र उनीहरूको खोजतलास भइरहेको पनि डिभिजन वन कार्यालयले जनाएको छ ।


अवैध रूपमा काठ सङ्कलन गरी फर्निचर उद्योग सञ्चालन तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाको आधारमा २४ गते वन कार्यालयको टोलीले खोजतलास गर्दा साल तथा साज (असना) जातको चिरान काठ बरामद बरामद गरेको हो ।


बरामद गरेको काठ मध्ये साल जातको चिरान पाँच सय ८७ थानको ४६५.०५ क्यु.फी. र साज जातको चिरान थान ६ को ६.२५ क्यु.फी. गरी जम्मा चिरान थान ५९३ को ४७१.३० क्यु.फी. परिमाण रहेको छ । काठको बिगो आठ लाख १७ हजार ३३५ रुपैयाँ बराबरको रहेको डिभिजन वन कार्यालय, इलामका सूचना अधिकारी भुवन मणि शर्माले जानकारी दिए ।
डिभिजन वन कार्यालय इलामका वन सहायक द्वय धनिरामसिंह कुशवाह र सीता योगीको संयुक्त कमान्डको टोलीले काठ बरामद गरेको थियो । माई सब डिभिजन वन कार्यालय, सुखानी, इलामा तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी सँग समेत सहयोग लिइएको शर्माले जानकारी दिए ।


प्रतिकृया दिनुहोस