अब पनि त्यही सडक निर्माण ?
भगीरथ भण्डारी,
इलाम :
नेपालको संविधान (२०७२) जारी भएपछि २०७४ सालमा स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन भयो । पहिलो कार्यकाल सकिएपछि स्थानीय तहको दोस्रो नेतृत्व चयन भयो । अघिल्लो पाँच वर्षको अवधिमा धेरै उतार चढाव पार गर्दै तीन तहकै सरकारले कामको मार्ग तय गरे । कुनै स्थानीय तहले छिटो फड्को मारे त कुनैले कछुवा गतिमा । भौगोलिकताका आधारमा विकासको गति छिटो र ढिलो हुनु अनौठो होइन । तर जुनै नेतृत्व आए पनि सडक निर्माणमा नै अलमलिएको छ ।
जिल्लाको आर्थिक स्तर उकास्ने धेरै कृषिजन्य उत्पादन गर्न सक्ने सम्भावना भए पनि स्थानीय तहको प्राथमिकता नहुँदा आम्दानीको मुख्य श्रोत रहेको कृषिजन्य उत्पादन उक्सन सकेको छैन । पहिलो पाँच वर्षमा सबै स्थानीय तहको प्राथमिकता सडकमै प¥यो र दोस्रो निर्वाचन पछि पनि प्राथमिकतामा सडक नै छन् । इलामका ४ नगरपालिका र ६ गाउँपालिका रहेका सबै ठाउँमा विकासको प्राथमिकता सडक मानै पुगे पनि दीर्घकालीन योजनाविनै खनिएका सडक अहिले पनि ज्युँका त्युँ छन् । पहिलो पाँच वर्षमा जति पनि सडक खनिए तर हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने र बर्खा लागे पछि बन्ध हुने अवस्थामा छन् । सडक निर्माणमा दीर्घकालीन सोच नहुनु र घर घरमा बाटो पुर्याउने परिपाटीको कारण विनियोजित बजेट सदुपयोग नभएको हो । पालिकाबाट सदरमुकामसम्म बाह्रै मास यातायात सञ्चालन हुने गरीको सडक कुनै पनि नबन्दा अहिलेको नयाँ नेतृत्वको प्राथमिकता पनि सडक निर्माणमा नै देखिन्छ । पहिलो पाँच वर्षमा खनिएका सडक दोस्रो पाँच वर्षमा मर्मत समेत हुने अवस्था देखिँदैन । जिल्लाका सबै पालीकाले भौतिक पूर्वाधार विकासमा सबैभन्दा बढी सडक आयोजनामा लगानी गर्ने गरेका छन् ।
इलामका दश पालिकामा पहिलो कार्यकालमा कच्ची सडकको नयाँ ट्र्याक खन्ने काममा धेरै लगानी गरे । त्यस बेला खनिएका कतिपय सडक पहिरोमा सीमित बने । दोस्रो निर्वाचन पछि अघिल्लो पाँच वर्षमा खनिएका सडकको स्तरोन्नति तथा गर्ने, सडक ग्राभेल गर्ने र कतिपय ठाउँमा पक्की सडक निर्माण गर्ने भन्दै स्थानीय सरकारले लगानी गरेका छन् । पहिले जति सडक खनिए उक्त सडक स्तरोन्नतिका लागी पर्याप्त बजेट नहुँदा अल वेदर सडक निर्माणका लागी स्थानीय सरकारलाई फलामको चिउरा नै बनेको देखिन्छ ।
सरकारले बर्सेनि करोडौँ लगानी गरे पनि सडकको स्तर भने खासै उक्सिएको छैन । ग्रामीण क्षेत्रबाट गुड्ने गाडीहरू हिउँदको समयमा पनि मर्मतको लागि दिनदिनै ग्यारेज पुग्छन् । ‘गाउँबाट आएका गाडीहरू मर्मत नगरी फर्किने अवस्था नै नभएको पूर्वेली जिप तथा यातायात सेवा प्रालिका कार्यकारी सचिव सुमन काफ्ले बताउँछन् । इलामका ग्रामीण क्षेत्रबाट करिब तीन हजार जिप सदरमुकाम सहित जिल्लाका मुख्य बजार र झापासम्मको यात्रामा निस्किन्छन् । कच्ची सडक गुड्ने सवारी दिनदिनै मर्मत गर्नुपर्ने अवस्था छ । ग्रामीण क्षेत्रबाट गुड्ने गाडीहरूले मर्मतको लागि न्यूनतम तीन हजार रुपैयाँ देखि २० हजार रुपैयाँ सम्म खर्च गर्ने गरेको काफ्लेको भनाई छ ।
इलामका कतिपय गाउँपालिकाले सडक मर्मत र अन्य भौतिक विकासको लागि ‘हेभी इक्युपमेन्ट’ समेत खरिद गरेका छन् । माइजोगमाई गाउँपालिकामा दुई वटा हेभि इक्युपमेन्ट छन् । माइजोगमाईमा एउटा ब्याक हुक र जेसिबी मेसिन छ । त्यस्तै इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका र रोङ गाउँपालिकाले समेत सडक मर्मत गर्ने प्रयोजनको लागि जेसिबी मेसिन खरिद गरेका छन् । आफ्नै मेसिन भएका पालिकाहरूमा समेत सडकको अवस्थामा भने सुधार भएको देखिँदैन । जसका कारण अब पनि सडक निर्माणलाई नै प्राथमिकता राख्नुपर्ने देखिन्छ ।
फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनाल पहिले घर घरमा सडक पु¥याउन खनिए अहिले उक्त सडक मर्मतका लागी पर्याप्त बजेट नभएको बताउँछन् । ‘कच्ची सडकको मर्मत भनेको सोलीङ र ग्राभेल हो तर पहिले यति धेरै बाटोहरू खनिएकी अहिले त्यस बेला खनिएका सबै बाटोमा पाँच वर्ष भित्र पनि सोलीङ र ग्राभेल गर्न सकिने अवस्था छैन’ उनले भने, ‘वडाबाट पालिका र सदरमुकाम जोड्ने मुख्य सडक मर्मतको काम भइरहेको छ, बर्खाको समयमा पनि पालिका सम्म पुग्न कुनै समस्या नहुने गरीको बाटो बनाउने गरी लागिरहेका छौ ।’ ‘हामीले सदरमुकाम जोड्ने सडक निर्माण गरे पनि राँके रवि सडक हाम्रो काबुभन्दा बाहिर रहेको र दोभानमा पुल नभएको कारण त्यता पनि सजिलो छैन खनालले भने, तर पनि हामी पालीका भित्रका मुख्य सडकलाई अल वेदर बनाउने गरी लागिरहेका छौ ।’ फाकफोकथुम मात्र होइन जिल्लाको अन्य पालिका सँगै सन्दकपुर, रोङ र माईजोगमाई गाउँपालिकाका ग्रामीण सडक पनि बर्खाको समयमा यातायात सञ्चालन हुन सक्ने गरी बनेनन् । जनताले गाउँको विकासको लागि पाँच वर्षको लागि चुनेर पठाए पनि बर्खाको समयमा बिरामी हुँदा यातायात सञ्चालन नभएर झोलुङ्गोमा बोक्नुपर्ने बाध्यता अझै रहेको छ ।







प्रतिकृया दिनुहोस