समाचार

उभौली पर्व सुरु

गते ००:०० मा प्रकाशित

इलाम, २४ बैशाख (सस) ः किराँत समुदायले मनाउने उभौली पर्व आइतबार सुरु भएको छ । बालीनाली लगाउने समय आएको सम्झनामा मनाईने यो पर्वमा प्रकृतिसँग नजिक रही प्राकृतिक विपत्ति आइनपरोस् भन्दै प्रकृति, देवीदेवता र भूमिको पूजा गर्ने प्रचलन रहेको छ । यो पर्वको अवसरमा आइतबार देशभर विभित्र कार्यक्रमहरूको आयोजना गरिएको छ । इलाममा पनि साकेला थानमा बिजुवाद्वारा पूजाआजा गर्दै उद्घाटन गरे । आइतबारदेखि एक महिनासम्म साकेला मनाउने चलन छ । परम्परागत भेषभुषामा सजिएर गोलो घेरामा ढोल र झयाम्टा बजाउदै साकेला नाचिन्छ । इलामको ओपिधारामा रहेको साकेला थानमा आइतबार किराँत राईहरुले सुम्निमा र पारुहाङको पूजा गरेर साकेला गीत गाउँदै र नाच्दै साकेला पर्व मनाउन शुरु गरेका छन् । यो पर्व इलाममा १५ दिन मनाइने र १५ दिनको अवधिमा इलामका १० स्थानमा किराँतहरुको बृतचित्र प्रर्दशनका साथै अन्य कार्यक्रमहरु गरिने जानकारी दिइयो । किरात राई यायोक्खा नगर कमिटिले आयोजना गरेको गरेको कार्यक्रमा यायोक्खाका जिल्ला सचिव श्याम राई, एकीकृत नेकपा माओवादीका सचिव राम राई, समेतका वक्ताले आफनो संस्कृति, परम्परा र रितिरिवाजलाई जगेर्ना र संबर्धन गर्नु सबैको दायित्व रहेको बताए । कार्यक्रम यायोक्खाकि नगर समिति अध्यक्ष बबिता राईको अध्यक्षतामा भएको थियो । सोही अवसरमा फिक्कलमा राई समाज सेवाको आयोजनामा पञ्चहर्क स्मृति पुरस्कार तथा अभिनन्दन समारोह आइतबार सम्पन्न भएको छ । चण्डी नाचसहित बजार परिक्रमा गरी सुरू भएको कार्यक्रमा मारूनी, साकेला नृत्यसँगै गायक कुबेर राई र देवदास राईलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । नेपाल आदिबासी जनजाति महासङ्घ इलामका अध्यक्ष किरण सुनुवारको प्रमूख आतिथ्य तथा राई सेवा समाज फिक्कलका अध्यक्ष दुर्गाबहादुर राईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कुबेर राई, किशोर लिम्बू र कमल राईले गीत गाएका थिए । कार्यक्रमको स्वागत मन्तव्य मदनकुमार राईले गरेका थिए । यस्तै लिम्बू जातिको मौलिक पर्व याक्वा तङ्नाम उभौलीको अवसरमा आइतबार सामुहिक पूजा तथा शुभकामना आदानप्रदान कार्यक्रम इलाम नगरपालिका ९ मा सम्पन्न भएको छ । किरात याक्थुम चुम्लुङको आयोजनामा भएको कार्यक्रममा चुम्लुङका केन्द्रीय सदस्य याम लिम्बूले लिम्बू जाति भाषिक तथा अन्य गतिबिधिमा सधैँ पछाडी पारिएको तथा होच्याइएकोले अगाडी बडनको लागी सबै एकजुट हुनुपर्ने बताए । लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष जलन लिम्बू, लिम्बुवान सङ्घर्ष समिति इलामका संयोजक डिल्ली चेम्जोङसमेतले शुभकामना मन्तब्य राखे । कार्यक्रममा ढोलनाच, धाननाच लगायत सांस्कृतिक कार्यक्रमहरु भएका थिए । किरात याक्थुम फासीङ सजुमका अध्यक्ष बखत बहादुर आङदेम्बेको अध्यक्षतामा कार्यक्रम भएको हो । (तस्विरमा इलाम सदरमुकामको ओपीधारामा उभौलीको अवसरमा साकेला नृत्य प्रस्तुत गरिँदै ।)


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...