समाचार

सुन्तला बेचेको रकमले समाजसेवा

गते ००:०० मा प्रकाशित

सुन्तला बेचेको रकमले समाजसेवा

शब्दःसुदिप/तस्विरःराजेश

नेपाल धर्म निरपेक्ष घोषणा भएपछि हिन्दु धर्मबाहेकका धर्मको प्रचारप्रसारमा सहजता आएको छ भने क्रिसमस डे, ल्होसार, इद, उधौली, उभौली पर्व, चासोक तङनाम लगायतका पर्वहरु भव्यताकापूर्वक मनाउन सहज बन्दै गएको छ । क्रिसमस डे सेलिब्रेसन गर्ने सन्दर्भमा यस पत्रिकाका प्रकाशक राजेश पराजुलीसँग मत मिल्यो । दिउँसोको २ बजेपछि हामी हानियौ सिधै इनपा ३ स्थित बर्तबहादुर राईको घर । समाजसेवी राईको विषयमा जान्ने र सन्दकपुर दैनिकमा अन्तरवार्ता प्रकाशन गर्ने उद्देश्यले राईको घरमा पुगेका थियौ । सुनेका थियौ –‘राई समाजसेवी हुन् । राईले विभिन्न विद्यालयको भवन निर्माणमा सहयोग गरेका छन् । माइभगवती वृद्धाश्रम तथा नेपाल रेडक्र सोसाइटी इलामको आजीवन सदस्य बनेर सहयोग पु¥याइरहेका छन् ।’

घरैछेवैको बारीमा अम्बकको रुख ढाल्दै दाउराको जोहो गरिरहेका बर्तबहादुर राईले बोले,‘माथि नै आउनुपर्ने हो ?’ बर्तबहादुर राई कता हुनुहुन्छ, हामीले प्रश्न गरेका थियौ । एकैछिन कुराकानी गर्नुथियो तपाईसँग, राजेश दाइले भन्नुभयो । बर्तबहादुरका जहान बृद्धा मनमाया राईले आफु कान कमै मात्र सुन्ने गरेको बताउदै घाममा बस्न अनुरोध गरिन् । सुन्तला ताछ्दै बर्तबहादुरलाई बुझ्न कुरा कोट्याउन थाल्नुभो राजेश दाईले । भित्तामा सजाइएको प्रमाणपत्रको लहरले सङ्केत ग¥यो, ‘दुइ कोलमको सानो अन्तवार्ता मात्र नहुने रैछ, यो म्याटरले पेजनै फुल हुने रैछ ।’

प्रमाणपत्रहरु देखाउन धकाउदै राईले प्रमाणपत्रको थाक झिके । विभिन्न विद्यालयहरुले ‘शैक्षिक भौतिक तथा विद्यालयको स्तरोन्नतिको लागि महत्वपूर्ण योगदान पु¥याएको’ उल्लेख गर्दै सम्मान पत्र तथा कदर पत्रहरु प्रदान गरेका रहेछन् । राईले यस्ता प्रमाणपत्रहरु पाउन थालेको वि सं. २०४६ देखिनै रहेछ । तीन बर्षको अन्तरालमा आफ्नो जेठा छोरा तथा एक छोरी गुमाएका बृद्धदम्पतिको एकमात्र साहाराको रुपमा एक बुहारी रहिछिन् । सङ्खुवासभातिरका एक जनाले आफ्नो छोरीलाई भारतमा लगेर बेचेको सम्म खबर आफुले पाएयता छोरीको अत्तोपत्तो नभएको उनले बताए । माइला छोरा र कान्छा छोरा पनि बुबाआमाबाट अलग्गै बस्दै आएका रहेछन् । ‘२०३५ सालमा पनि ताप्लेजुङको सिनामबाट दुखनै पाएर आएको हुँ, समाजसेवा गरेर प्रमाणपत्रको थाक लागेपनि अहिले दुख नै छ ।’ २०४२ सालमा इनपा ३ मा जग्गा किनेर सुन्तलाखेती शुरु गरेका राईलाई तत्कालिन कृषि बिकास शाखाले अगुवा कृषकको प्रमाणपत्र नै दिएको रहेछ । विभिन्न समयमा स्थानीय तथा क्षेत्रीय स्तरमा आयोजना हुने कृषि प्रदर्शनीमा प्रथम तथा दोश्रो भएको प्रमाणपत्रको सङ्ख्या नै अधिक रहेछ राईसँग । कृषि विकास बैङ्कबाट २०४३ सालमा लोन लिएर गाइपालन थालेका राईले फलफुल तथा तरकारीखेतीमा आफ्नो जीवनको अधिक समय दिए । ६९ बर्ष पार गरेका राइको जीवनसाथी मनमाया राई पनि ६५ बर्ष पुगिसकेकी छिन् ।

‘पहिले जस्तो खट्न सकिदैन, तरकारी खेती त अब छाडियो बाबु’, राईले भने । कृषि विकास कार्यालयका कार्यालय प्रमुखहरु राजेन्द्र खरेल र द्वारिका दाहालको प्रेरणाले कृषि क्षेत्रमा पुरस्कार तथा प्रमाणपत्रहरु हासिल गर्न सफल भएको राईले बताए । आफुलाई गुण लगाउनेलाई कहिल्यै नभुल्ने बताउदै राइले विष्णु भक्तराज र मनमोहन पोखरेलले पनि आफुलाई अगुवा कृषक बनाउन सहयोग गरेको बताए । ‘कुन पैसा तपाइ विद्यालयको भवन निर्माण तथा समाजसेवामा खर्चिनुहुन्छ भन्ने मेरो प्रश्नमा राईले भने, ‘पहिले त तरकारी र दुध बेचेको पैसाले सहयोग गर्न पुग्दै थियो, अहिले घरमा दूई बृद्ध तथा एक बुहारी मात्र छौ, सुन्तलाको बगान छ, सुन्तला बेचेको रकमले सहयोग गर्न पुगेको छ ।’ यसपटक राईले आफ्नो सुन्तला बगान ८६ हजार रुपैयाँमा बेचेका छन् ।

बर्षभरीको गर्जो टार्ने आम्दानीको मुख्य श्रोत नै राईको सुन्तलाबाट आएको आम्दानी हो । सुन्तलाको आम्दनीबाट बचाएको रकमनै राईले पछिल्लो समयमा समाजसेवामा खर्चिने गरेका छन् । साङरुम्बा उच्च मावि साङरुम्बा, पोखरी प्रावि इलाम, जनसेवक प्रावि चिसापानीलाई विद्यालय भवन निर्माणको लागि उनले आर्थिक सहयोग गरेका छन् । सुखसयलको जीवन भोग गर्ने उनको कुनै मोह छैन । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा योग साधना गर्न जान्छन् उनी । आजकल भने घरमा रहेकी आफ्नी बृद्धा जीवनसङ्गीनीलाई अधिक समय दिनुपर्ने भएकोले घरमै योगसाधना गर्छन् बर्तबहादुर ।

‘आफ्नो अन्न कटाएर समाजसेवा गर्ने बर्तबहादुरहरु दुइचार मात्र भए देश अर्कै हुन्थ्यो’, बर्तबहादुरको घरबाट फर्किदै गर्दा हामी गफियौ । शब्दःसुदिप/तस्विरःराजेश


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...