space for add
space for add

समाचार

वनभोज गन्तब्य बन्दै कन्याम

गते ००:०० मा प्रकाशित

रोहितचन्द्र भट्टराई
कन्याम, २५ मङ्सिर ः हरेक वर्ष हिउँदयाम लागेपछि वनभोज खान आउनेको भीड लाग्ने गरेको कन्यामको हुर्हुरे चिया बगानमा यसपाली पनि चहलपहल बढ्दै गएको छ । दैनिक १५ देखि ५० वटा समूहले वनभोज कार्यक्रम लिएर आउने हुर्हुरेको वातावरण हरेक दिन ब्यस्त र स्थानीय बासिन्दाको दैनिकी बन्दै गएको छ । वनभोज कार्यक्रमसँगै फुटपाथमा पसल गर्दै आएका, पानी बोक्ने, घोडा ब्यवसायमा लागेका स्थानीय बासिन्दालाई पनि भ्याइनभ्याई हुने गरेको छ । बिहान उठेर आ–आफ्नो दैनिकीमा निस्किएका स्थानीय बासिन्दा बेलुकासम्म त्यहिँ रहन्छन् ।
विशेषगरी पूर्वाञ्चलका इलामसहित सुनसरी, मोरङ, सिराहा, सप्तरी र झापा अनि भारतको पश्चिम बङ्गालबाट समूह बनाएर वनभोज खान कन्याममा आउने गरेको पाइएको छ । हुर्हुरे चियाबगानको सुन्दरता, इलाम प्रवेशसँगसँगैको हरियाली वातावरण, कन्यामको चिसोपना, रमणीय र मनोरञ्जनका लागि उपयुक्त स्थान तथा लभडाँडाले परिचित स्थानहरु भएका कारण तराईबाट धेरै सामुहिक र पारिवारिक वनभोज कार्यक्रम तय गरेर आउने गरेको बताएका छन् ।
झापाको घैलाडुब्बा ९ स्थित पाथिभरा एजुकेशन एकेडेमीबाट शनिबार वनभोज खान आएका कक्षा ९ का विकास शिवाकोटीले कन्याम रमाइलो भएको सुनेर विद्यालयले वनभोज खान आउने कार्यक्रम बनाएको बताए । उनले भने, ‘नौलो ठाउँ, पाथिभरा मन्दिरको दर्शन गर्न पाइने, रमाइलो, चिसो ठाउँ भएको सुनेर आयौँ । सुनेजस्तै रमाइलो लागेको छ ।’ विकासका साथी मनिष मगरले भने, ‘चियाबारीमा लभ डाँडा पनि रहेछ, झन रमाइलो, लभ गर्नेहरुका लागि अझ मजा ।’ उनीहरु शिक्षक विद्यार्थीसहित ५० जनाको समूह बनाएर आएका हुन् ।
कन्यामसँगैको कोल्बुङमा मेची राजमार्गकै छेउमा अवस्थित प्रसिद्ध सानी पाथिभरा धार्मिक स्थल भएकाले कन्याम आउँदा उक्त धार्मिक स्थलमा पनि पुग्न पाइने र मनोकाङ्क्षा पुरा गर्नको निमित्त भगवानसँग बरदान माग्न पाइने भएकाले पनि वनभोजका लागि कन्यामकै गन्तब्य बनाउने गरेको पनि पाइएको छ । सुनसरीको इटहरीबाट सामुदायिक वनभोज कार्यक्रममा आएकी अन्दाजी ६० वर्षीया बृद्धा मनमाया लिम्बुले भनिन्, ‘अरु कुराको रमाइलो त छँदैछ, नजिकै भएको पाथिभरा मन्दिरमा पनि दर्शन गर्न पाउने भएकोले हामी आएका हौँ । त्यहाँ मागेको बरदान सबै पुग्छ रे ।’
इटहरी बौकाझोडा र श्रजंगा लाइनका ५० जना मनमायाकै समूहमा शनिबार वनभोज खान आएका थिए । उनीहरुमध्येका एक युवा राजेन्द्र राउतले भने, ‘यहाँ नआएको धेरै भएको थियो । चिया बगान, डाँडाकाँडा, लभ डाँडा, घुमफिर गर्न, पहाड पखेरा राम्रो लागेर, रमाइलो मौसम रमणीय ठाउँ भएर मनोरञ्जन गर्न मन लागेर यहाँ आएको, यहाँको सिन मन पर्यो ।’ पहिले आइसकेका र कन्याममा वनभोज खाएर गएका ब्यक्तिहरुलाई कन्यामको रमणीय वातावरणले पुनः वनभोज कार्यक्रम लिएर आउने मन हुने गरेको राउतको भनाईले पुष्टि गरेको छ ।
मोरङको बेलबारीबाट ४५ जनाको समूहमा वनभोज खान आएका देबेन्द्र कार्कीले पनि चियाबगानको रमणीय वातावरणले वनभोज खान उपयुक्त ठाउँ भएकोले कन्याम आएको बताए । सबै दृष्टिकोणले सुन्दर, रमणीय र आनन्दमय स्थल भएपनि वनभोज खान आउनेका लागि विजुली र पानीको भने केही समस्या भएको देबेन्द्रको भनाइ थियो । उनले भने, ‘वनभोज स्थलको पैसा तिरेबापत सयलिटर पानी पाएको भएपनि त्यति पानीले वनभोज खान नपुग्ने् र अरु पाँचसय बराबरको पानी खरिद गर्नुपरेको छ । बाजा बजाउन विद्युत छैन । ब्याट्री खोज्नु परेको छ ।’ डाँडा भाग भएकाले पानीको मुहान नजिकै नहुँदा कन्याममा पानीको केही समस्या छ भने वनभोजस्थलमा विद्युत बिस्तार गरिएको छैन ।
वातावरणीय रमाइलोपनसँगै कन्याममा वनभोज खान आउनेले घोडा चडेर घुम्न पाउँदा पनि खुशी लागेको बताएका छन् । यहाँ आएका पर्यटकलाई सशुल्क घोडामा चडाएर घुमाउन २० देखि ३० वटा घोडा, घोडा ब्यवसायीहरुले ल्याएका हुन्छन् । मोरङकै डाँगीहाट ५ स्थित लक्ष्मी उच्च माविबाट वनभोज खान आइपुगेकी एक किशोरी विद्यार्थीले भनिन्, ‘मलाई त घोडा चड्न पाएर झनै मज्जा आयो । हाम्रोतिर घोडा चड्नै पाइँदैन । मैले त देखेको पनि थिएन ।’
कन्याम गाविसको कार्यालयले वनभोज खान आउनेका लागि सशुल्क रुपमा वनभोजस्थल, पानी, पार्किङस्थल र शौचालय उपलब्ध गराउँदै आएको छ । उक्त कार्यका लागि गाविसमार्पmत ८० हजार रुपैयाँमा ठेक्का लिएर रकम संकलन गर्दै आएका ठेकेदारमध्येका अनुप लिम्बुका अनुसार वनभोज स्थलबापत बसमा आउने समूहलाई तीनसय र सानो गाडिमा आउनेलाई दुईसय ५० रुपैयाँ शुल्क लिने गरिएको छ । उक्त रकम लिएपछि ठेकेदारले नै सय लिटर पानी निःशुल्क उपलब्ध गराउँछन् । पानीले नपुगे अन्य स्थानीय बासिन्दाले प्रतिलिटर डेढ देखि अढाई रुपैयाँ लिएर पानी उपलब्ध गराउने गरेका छन् । यो बाहेक पार्किङ शुल्क प्रतिसवारी ३० रुपैयाँ र शौचालयमा प्रतिब्यक्ति पिशाव गरेबापत ५ तथा दिशागरेबापत १० रुपैयाँ तिर्नुपर्ने लिम्बुले बताए ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...