समाचार

संगीतमा साधना गरे सफलता

गते ००:०० मा प्रकाशित

संगीतमा साधना गरे सफलता

विसं. २०३५ सालमा इलाम सदरमुकाममा जन्मिएका अनुप दियालीले संगीतलाईनै आफ्नो पेशा बनाएका छन् । २०४८ सालदेखि विद्यालयस्तरमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिदालिदै दियालीको सांगीतिक प्यासन बढ्दै गयो । विद्यालयस्तरमा गठन गरिएको कञ्चन सांस्कृतिक सुमह मा आबद्ध भइ उनले आफ्नो सांस्कृतिक यात्रालाई गति दिने काम गरे । जिल्लास्तरमा स्थापना भएको कलाकार समुहमा आबद्ध भइ जिल्लाका विभिन्न भागहरुमा गइ सांगीतिक कार्यक्रम आयोजना गरेको उनीसँग अनुभव छ । संगीत सिक्नकै लागि २०५० सालमा काठमाण्डौ पुगेका दियालीले दुइघण्टा लामो प्रदल यात्रा गरेर संगीत विद्यालय पुगेको अनुभव सुनाउछन् । सांगीतिक पारिवारिक वातावरण मा हुर्किएका कारण पनि अनुपलाई सङ्गीतको क्षेत्रमा लाग्न सहज भयो । संगीतलाई आफ्नो साधना ठान्ने उनै इलामे युवा अनुप दियालीसँग सन्दकपुर दैनिकले गरेको कुराकानी उहाँ प्रस्तुत छ ।

प्रश्नः सांगीतिक क्षेत्रमा तपाइको विधा कुन हो ?

उत्तरः तबलाबादन । तबलाबादन भएपनि सांगीतको क्षेत्रमा म भोकलको पनि शिक्षक हुँ ।

प्रश्नः तबलाबादन नै किन ?

उत्तरः मलाई संगीतका हरेक विधा मन पर्छ । नेपालमा उपलब्ध भएका बाद्यबादनका सामाग्री मलाई बजाउन आउछ । म स्टेज सो मा गीतहरु पनि गाएको छु । तर २०५०सालछेकमा इलाममा भएको राष्ट्रिय स्तरको एक कार्यक्रममा आउनुभएका तबलाबादक अच्युतराम भण्डारी ले बजाएको तबला र बहाँको जोस देखेर म इन्सपायर्ड भए ।

प्रश्नः बाद्यवादनको कुन विधामा प्रवेश गर्ने धोको थियो ?

उत्तरः यै विधा मेरो आफ्नो विधा बन्ला भन्ने केहि थिएन । बुबाले त मलाई भोकल बढि सिकाउनुहुन्थ्यो । सायद बुवाको चाहना पनि म गायक नै बनोस् भन्ने थियो होला तर तबलाप्रति मेरो लगाब ह्वात्तै बढेर गयो । काठमाण्डौ गएर पनि मैले तबला नै सिके । तबलामै मेरो हातहरु नाच्न रमाए ।

प्रश्नः आरोह म्युजिक एकेडेमी सञ्चालन गर्नुभएको थियो, किन बन्द भयो ?

उत्तरः १३–१४ बर्ष अघिको कुरा हो आरोह स्थापना गरेको । उसबेला इलाममा संगीतप्रति मानिसहरुको प्यासन त थियो तर बोक्रे प्यासन मात्र । १–२ महिना संगीत सिक्न आउने अनि आफैलाई संगीतको बादसाह सम्झिने मानिसहरुको भिड थियो उसबेला । अहिलेको जस्तो परिस्थिति थिएन नि त्यसबेला । फेरि पैसा तिरेर सिक्नुपर्दा मानिसहरुलाई सित्तैमा सिकाइदिएपनि हुन्थ्यो जस्तो गर्थे । यिनै कारणले गर्दा यसबेला खुलेका संगीत विद्यालय दिगो हुन सकेन ।

प्रश्नः १४ बर्षदेखि व्यवसायिक रुपमा संगीतको क्षेत्रमा लाग्नुभएको छ, थेगिखाने स्थिति छ त?

उत्तरः पहिलेको जस्तो संगीतको क्षेत्रमा निरास भइहाल्ने स्थिति अहिले नेपालमा छैन । काठमाण्डौकै कुरा गर्नुहुन्छ भने संगीतकै क्षेत्रमा लागेका मानिसहरु धेरै पैसा कमाएर बसेका छन् । तिनीहरुको प्रमुख पेशा नै संगीत हो ।

प्रश्नः तपाइको चै निः

उत्तरः म पनि काठमाण्डौको शुभतारा इन्टरनेशनल स्कुलमा भोकल सिकाउछु । त्यो नै मेरो प्रोफेसन बनेको छ । त्यसबाट हुने आम्दानीले मेरो परिवार राम्रैसँग धानिएको छ ।

प्रश्नः सुफिज इन नेपाल के हो?

उत्तरः सुफिज इन नेपाल एउटा सांगीतिक समुह हो । त्यसमा हामी मनोज सेवा, परविन्दर सिं, सन्जिव बराइली र म छु । हामीले नेपालमा सुफि संगीत लाई प्राक्टिसमा ल्याउनका लागि यो समुह स्थापना गरेको हो । यसको पहिलो कार्यक्रम नै हामीले इलाममा आयोजना गरेका थियौ । सो कार्यक्रममा सत्यराज आचार्यले समेत पर्फम गरेका थिए ।

प्रश्नः इलामको संगीतिक क्षेत्रलाई अघि बढाउन तपाइको तर्फबाट के के भइरहेको छ ?

उत्तरः इलामको केहि जुझारु युवाहरुको साथमा हामीले आरम्भ नामको संगीत प्रतिष्ठान स्थापना गरेका छौ । इलाममा विभिन्न सांगीतिक कार्यक्रमहरु आरम्भकै नामबाट गरिरहेको छौ । यस्तो प्रकारले आयोजना हुने कार्यक्रमले इलामको सांगीतिक माहौल तताएकै छ ।

प्रश्नः सांगीतिक दौडको क्रममा चीन २ बर्ष बसेर के गर्नुभयोः चीनको कुन कुन स्थानमा गएर कार्यक्रमहरुमा पर्फम गर्नुभयो ?

उत्तरः हामी ६ महिनाको लागि चीनमा कन्ट्राक्ट बेसिसमा गएका थियौ । त्यहाँ गएर हामीले सांगीतिक कार्यक्रमहरुमा पर्फम गर्नुपर्ने थियो । दुइ बर्षको दौरानमा ल्हासा, सिगारचे, जिग्यात्से, लान्जिङ, चेन्दु र सांघाइमा कार्यक्रम पर्फम गर्ने अवसर मिल्यो । हाम्रै परिवारबाट म र मेरो भाइ नै गएका थियौ । छ महिनाको कन्ट्राक्ट सकिएपछि हाम्रो एग्रीमेन्ट थप हुँदै गयो ।

प्रश्नः संगीतको क्षेत्रमा लागेपछि के उपलब्धि हात लागेजस्तो लाग्छ ? उत्तरः काठमाण्डौमा बसेर राष्ट्रियस्तरमा कार्यक्रमहरुमा पर्फम गर्न पाइयो । त्यहि ठाउमा बाद्यवादकको रुपमा चिनिन पाइयो । यो गर्वगर्न लायक विषयनै हो ।

प्रश्नः सांगीतिक सफलताको श्रेय कसलाई दिन चाहनुहुन्छ ?

उत्तरः मेरो वुवा नै उहिलेको समयमा दार्जिलिङमा गएर संगीत सिक्नुभएको हो । घरको माहौलनै सांगीतिक भएपछि हामीमा पनि संगीतप्रति प्यासन जाग्नेनै भयो । मेरो परिवारमा यस्तो वातावरण नभएको भए सायद म संगीतको क्षेत्रमा म हुदिन थिए होला । यसर्थ सफलताको श्रेय म मेरो परिवारलाई नै दिन चाहन्छु ।

प्रश्नः संगीतमा भविष्य कस्तो छ ?

उत्तरः पहिलेको जस्तो अवस्था अब सांगीतिक क्षेत्रमा छैन । स्थिति सहज बन्दै गइरहेको छ । मतलब संगीतमा भविष्य राम्रो देख्छु म तर संगीतमा लगनशीलताको आवश्यकता छ । अन्य पेशा सरह कलाकार भएर बाँच्नसक्ने अवस्था छ ।

प्रश्नः अन्त्यमा सांगीतिक क्षेत्रमा लाग्न चाहने, संगीतमा भविष्य खोज्नेहरुलाई अग्रज भएको नाताले के भन्न चाहनुहुन्छ ?

उत्तरः हालको परिवेशमा संगीतमा भविष्य उज्वल छ । लगनशील भएर संगीतमा साधना गरे सफलता अवश्य मिल्छ । साधना गर्नुस्, सफल बन्नुस ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...