समाचार

गापा केन्द्र पुनर्विचार गर्न किध तथा साउ संघको माग, गाउ“सभाले गरेको निर्णय परिवर्तन हुन नसक्ने अध्यक्षको स्पष्टोक्ति

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २९ माघ ः

पश्चिमी इलामको माङ्सेबुङ गाउँपालिकाको केन्द्र पुनर्विचार गर्न र सच्याउन माग गर्दै किरात धर्म तथा साहित्य उत्थान संघले आग्रह गरेको छ । संघका केन्द्रीय, राष्ट्रिय, उपत्यका तथा विभिन्न जिल्ला शाखाहरूले गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोलाई पत्र बुझाएर त्यस्तो आग्रह गरेका हुन् ।
यसअघि गत पुष १८ गते माङसेबुङको गाउँसभाले स्थानीय चतुरेलाई केन्द्र निर्धारण गर्नेगरि निर्वाचनको माध्यमबाट निर्णय गरेको थियो । निर्वाचनमा गाउँपालिकाकाका अध्यक्षसहितको ३४ मतमध्ये १८ मत चतुरेको पक्षमा र १४ मत विपक्षमा भई चतुरे छानिएको हो । मतदानमा अध्यक्ष र एकजना सदस्य जो जिल्ला समन्वय समितिमा निर्वाचित भइसकेका थिए, उनीहरूको मत परेको थिएन ।
अध्यक्ष इदिङ्गोका अनुसार मत बराबरी भएको अवस्थामा अध्यक्षको मत निर्णायक हुने भएकाले उनले त्यतिबेला मत दिन नपाएका हुन् । बाँकी ३२ जनाले केन्द्र छनौटका लागि मत जाहेर गरेर चतुरे निर्धारण भएको हो ।
स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ५ मा भएको ब्यवस्थाअनुसार गाउँसभाको बहुमतबाट केन्द्र हेरफेर गरिएको पनि अध्यक्ष इदिङ्गोले बताए । उक्त उपदफामा भनिएको छ– गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमतबाट प्रस्ताव पारित गरि एक पटकको लागि गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम वा केन्द्र हेरफेर गर्नुपर्नेछ । त्यसअघि सरकारले साविक इभाङ गाविसको कार्यालय रहेको स्थानलाई अस्थायी केन्द्र तोकिदिएको थियो ।
संघले भने चतुरे केन्द्र विवाद भएको र चतुरे केन्द्र हुँदा त्यहाँबाट केही तल पर्ने किरात धार्मिकस्थल साविक बाँझो गाविसको लारुम्बास्थित माङ्सेबुङमा ल्याइएको खानेपानीको स्रोत प्रदुषण हुने भएकाले केन्द्र पुनर्विचार गर्न आग्रह गरेको जनाएको छ । चतुरे छेउमा त्यहाँको खानेपानीको मुहान रहेको छ । उक्त खानेपानी त्यहाँ आउने श्रद्धालु भक्तजनले समेत प्रयोग गर्दै आएको संघको भनाई छ ।
संघको केन्द्रीय समिति, राष्ट्रिय समितिसहित काठमाण्डौ उपत्यका समिति, झापा, मोरङ, सुनसरी, तेह«थुम, धनकुटा, ताप्लेजुङ, इलाम र पाँचथर शाखा समितिका जिल्ला अध्यक्षहरुको हस्ताक्षरसहित गाउँपालिकालाई दिइएको केन्द्र पुनर्विचार गरिपाउँ भन्ने पत्रमा जनप्रतिनिधीहरुले मतदान प्रक्रियाबाट चतुरे केन्द्र निर्णय गरेकोमा संघ स्तब्ध भएको जनाइएको छ ।
अध्यक्ष इदिङ्गोले भने गाउँ सभा नै स्थानीय सरकारको सबैभन्दा माथिल्लो संयन्त्र भएको कारण त्यसले गरेको निर्णय पुनर्विचार हुनसक्ने ठाउँ नभएको बताएका छन् । छ वटा वडा रहेको माङ्सेबुङमा तीनवटा साविकका गाविस गाभिएका छन् । वडा नम्बर १ मा साविक गजुरमुखी गाविस, वडा नम्बर २ मा इभाङ गाविसको १ देखि ५ र ९, वडा नम्बर ३ मा बाँझो गाविसको ७ र ८ तथा इभाङको ६ देखि ८, वडा नम्बर ४ मा बाँझोको २, वडा नम्बर ५ मा बाँझोकै ९ र वडा नम्बर ६ मा बाँझोका १ र ३ देखि ९ वडा परेका छन् ।
१४२ दशमलब ४१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिकाको जनसङ्ख्या १८ हजार ५०३ रहेको छ । चतुरे साविक इभाङ ६ मा र हालको माङ्सेबुङ ३ मा पर्छ । गाउँपालिकाको बीचमा पर्ने पुरानो बजार क्षेत्र पनि भएकाले चतुरे प्रस्ताव गरिएको पनि अध्यक्ष इदिङ्गोको भनाई छ । त्यहाँ पूर्वाधार भने नभएका कारण हाल पनि गाउँपालिकाको कार्यालय भने साविक इभाङ गाविसको कार्यालयमै राखिएको छ । आगामी दिनमा केन्द्रमा कार्यालय सारिने उनले बताए ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...