space for add
space for add

समाचार

इलामका १० प्रतिशतले मात्रै गरे स्वास्थ्य बीमा, बीमा गराउँदा फाइदैफाइदा

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २३ पुष :
सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम शुरु गरेको चार वर्षमा इलाममा दश प्रतिशत सर्वसाधारणले मात्र स्थास्थ्य बीमा गरेका छन् । आर्थिक वर्ष ०७०÷७१ बाट कैलाली, बाग्लुङ र इलाम जिल्लामा शुरु गरेको यो कार्यक्रम अहिलेसम्ममा २२ जिल्लामा बिस्तार भएपनि प्रचार प्रसार कम हुँदा प्रभावकारी बत्र सकेको छैन ।
सरकारले गरिबी र पिछडिएका वर्गलाई प्रमाणपत्र वितरण नगरेका कारण स्वास्थ्य बीमा लक्षित वर्गसम्म पु¥याउन मुस्किल भएको अधिकारीहरूले बताएका छन् । भूकम्प लगायतका बाधा अड्चनका बाबजुद् इलाममा २०७३ असार १५ बाट स्वास्थ्य बीमा शुरु भएको थियो । २०७४ देखि स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्ने ब्यवस्था गरिएको छ । 
गाउँमा बीमालेख दर्ता गर्ने दर्ता सहयोगीले बीचमा काम छाडेपछि समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका बरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्ल बतउँछन् । तर अहिले थप ३७ जनालाई तालिम दिएको उनले बताए । 
‘जिल्लाका १० स्थानीय तह सबैमा वडामा एक जना दर्ता सहयोगी छन् । समस्या छैन’, उनले भने । शुरुमा दर्ता सहयोगीले तलब आउँछ भत्रे अपेक्षा गरेको र केहिले काम छाडेको उनले बताए । दर्ता सहयोगीलाई बीमालेखको रकमको दश प्रतिशतका दरले भुक्तानी दिने गरिएको पाइएको छ । जिल्लामा मङ्ंिसर १ बाट सेवा लिने बिमितको सङ्ख्या २६ हजार सात सय ४७ रहेको छ । नयाँ दश हजार थपिने समितिका दर्ता अधिकारी खेम अधिकारीले जानकारी दिए । सदस्यता दर्ताको केहि महिनापछि सेवा सुरु हुने भएकाले कतिपय झुक्किएर नवीकरणमा समस्या हुने गरेपनि यसको प्रचार भएपछि नवीकरण पनि भइरहेको अधिकारी बताउँछन् ।
बैशाखदेखि असार महिनासम्म सदस्यता लिनेलाई भदौ १ बाट, साउनदेखि असोज सम्म सदस्यता लिनेलाई मङ्सिर १ देखि, कार्तिकदेखि पुषसम्म लिनेलाई फागुन १ देखि र माघदेखि चैतसम्म सदस्यता लिनेलाई जेठ १ देखि सेवा शुरु गर्ने गरिएको छ । 
पाँच सदस्य भएका परिवारले बार्षिक दुई हजार पाँच सय तिरेर बीमा गरेमा प्रति परिवार बार्षिक पचास हजारसम्मको स्वास्थ्य सेवा उपलव्ध हुन्छ । पाँच जनाभन्दा बढी सदस्य भएमा थप एक जनाको चारसय २५ रुपैयाँ तिरेर सदस्य बनाउन सकिन्छ । 
पाँचभन्दा थप सदस्य भएमा जनही दश हजार गरी बढीमा एक लाखसम्मको सेवा पाइने अधिकारीले बताए । स्थास्थ्य बीमा गरेका ब्यक्तिले तोकिएका सेवा प्रदायक अस्पताल र स्वास्थ्य संस्थामा सेवा लिन सक्छन् । ‘नेपालको संविधानले मौलिक अधिकारको रूपमा स्वास्थ्य सेवालाई निःशुल्क रुपमा उपलब्ध गराउने उल्लेख छ । तर स्वास्थ्य सेवा लिनका लागि बीमा किन गर्नुप¥यो ?’ सर्वसाधारणलाई बुझाउन जरुरी ठान्छन् मल्ल, ‘संविधानले आधारभूत स्वास्थ्य सेवा भनेको हो । स्वास्थ्य भनेको हात भँचाईको उपचारदेखि अन्य जोखिमयुक्त शल्यक्रियाका कुरा पनि पर्दछन्’, उनले भने । बिदेशमा स्वास्थ्य बीमा नगराई विद्यार्थीले पढ्न नपाउने र जागिर पनि नपाउने ब्यवस्था रहेको पनि उनले बताए ।
स्वास्थ्य बीमा गरेका बिरामीलाई सेवा प्रदायक संस्थामा निःशुल्कबाहेकका औषधीमात्र तोकेको रेटमा उपलब्ध हुने बताइएको छ । शुरुमा तीन सय २० प्रकारका औषधी उपलब्ध गराउने भनिए पनि हाल आएर नौ सय २८ किसिमका औषधी उपलब्ध गराउने गरिएको अधिकारीले जानकारी दिए । यसमा आयुर्वेद औषधी पनि समावेश गरिएका छन् । 
स्वास्थ्य बीमा नीतिमा गरिबीको प्रमाणपत्र भएका, अपाङ्ग र अशक्तलाई बीमामा छुट दिने भनिएपनि सरकारले गरिबीको प्रमाण–पत्र वितरण कार्यान्वयन नगर्दा हालसम्म लक्षित वर्गमा पु¥याउन नसकिएको अधिकारीले बताए । ‘शुरुमा बुझ्ने र बुझेकाले मात्र स्वास्थ्य बीमा गरे । हाल त्यस्तो सेवा नपाउनेले खोजेर बीमा गर्न थालेका छन्’, दर्ता अधिकारी खेम अधिकारीले भने । 
कुनै कुनै सेवा प्रदायक संस्थाले स्वास्थ्य बीमा गरेकालाई सेवा दिन कञ्जुस्याइँ गरेको सर्वसाधारणले गुनासो गरेको इलाम ४ की दर्ता सहयोगी सिता खतिवडाले बताइन् । कतिपय सेवाग्राहीले गम्भिर किसिमका बिरामीलाई दिइने औषधी समेत बाहिरबाट कित्र लगाएपछि सर्वसाधारणमा स्वास्थ्य बीमाप्रति आकर्षण कम भएको उनको तर्क थियो । सेवाग्राही संस्थामा कहिलेकाँही इण्टरनेट नहुँदा वा सेवाग्राहीको नविकरण, ब्यालेन्स चेक गर्दा ढिलो हुने अधिकारीले दावी गरे । 
स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढेपछि सेवा प्रदायक संस्था प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्थानमा चिकित्सक, ल्याब र फार्मेसी सेवा उपलब्ध हुन थालेका छन् । पहिले डाक्टर नबस्ने प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्थानमा अहिले सेवाग्राहीको भीड लाग्ने गरेको पनि वरिष्ट जनस्वास्थ्य प्रशासक मल्लले बताए । 
स्वास्थ्य बीमा गराएकाले बहिरङ्ग सेवा, ल्याव, एक्स–रे, ड्रेसिङ, घाउ चिरफार, अक्सिजन, प्रसुति, फिजियोथेरापी र सर्जिकल लगायतका २८ किसिमका सेवा पाउने बताइएको छ । तर सुन्दर बनाउने (सर्जरी) कृत्रिम अङ्ग राख्ने, कृत्रिम गर्भाधान, लिङ्ग परिवर्तन, मादक पदार्थ सेवन गरि दुर्घटना भएमा त्यस्ता रोगीको उपचार सेवा भने उपलब्ध नगराइने बताइएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...