समाचार

इलामका स्थानीय तहमा कर्मचारी अभाव

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २३ पुष :
सिंहदरबारको अधिकार गाउँगाउँमा भनिए पनि इलामका २८ वडामा अझै कर्मचारीको अभाव छ । 
नागरिकलाई घरदैलोमै सेवा प्रदान गर्ने लक्ष्यका साथ स्थानीय तहमा कर्मचारी ब्यवस्थापन गर्ने भनिए पनि जिल्लाका सूर्याेदय, माई र देउमाई नगरपालिका तथा रोङ, फाकफोकथुम, सन्दकपुर, माङसेबुङ र चुलाचुली गाउँपालिकाका केही वडामा कर्मचारी अभाव हुँदा दैनिक कामकाजमा समस्या हुँदै आएको सम्बन्धित नगरपालिका तथा गाउँपालिकाहरूले जनाएका छन् । 
चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा ८१ वटा वडामध्ये २८ वटामा खरिदार, नासुस्तरका कर्मचारी हालसम्म आई नपुगेकाले स्थानीय तहमा कर्मचारी अभाव रहेको जिल्ला समन्वय समितिले जनाएको छ । ती नगरपालिका र गाउँपालिकामा लेखापाल र प्राविधिकका दरबन्दीअनुसार कर्मचारी नहुँदा काम प्रभावित बन्दै गएको फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुबेदीले बताए । कर्मचारी अभावमा वडा सचिवले नै सबै काम गर्नुपर्ने बाध्यता रहेकोसमेत उनले सुनाए । 
कर्मचारी अभाव भएपछि गाउँपालिकाले वडाका प्राविधिकलाई नै वडा सचिवको समेत जिम्मेवारी दिएका छन् । ‘प्राविधिक र सचिवको काम एकै ब्यक्तिले गर्नुपर्दा धेरै समस्या भएको छ’, प्रशासकीय अधिकृत सुवेदी भन्छन्, ‘स्थानीय तहमा कर्मचारी ब्यवस्थापन चाँडै नहुने हो भने गाउँपालिकामा आएको धेरै रकम काम गर्न नसकेर फिर्ता हुने अवस्था छ ।’ 
जिससमा रहेका कतिपय पद र दरबन्दी गाउँपालिका, नगरपालिकामा नभएकाले कर्मचारी ब्यवस्थापनमा समस्या भएको जिल्ला समन्वय समितिले जनाएको छ ।
शाखा अधिकृत पदका कर्मचारीलाई वडा कार्यालयमा नासु तथा खरिदारको कामकाज गर्न पठाउन नसकिएको स्थानीय विकास अधिकारी झरेन्द्र चापागाइँले बताए । जिससमा अहिले आठ जनाको दरबन्दी कायम भए पनि निजामति, स्थानीय विकास र साविक जिविसका कर्मचारीसहित १७ जना कर्मचारी छन् ।
कतिपय नगरपालिका र गाउँपालिकाहरूले करारमा कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाएका छन् । सूर्योदय नगरपालिकाले हालै नौ जना प्राविधिक (सहायक कम्प्यूटर अपरेटर) र नौ जना कार्यालय सहयोगी भर्ना गरेको छ । उनीहरुलाई वडाको काममा खटाउने जनाइएको छ । त्यसैगरी माई नगरपालिका, देऊमाई नगरपालिका, इलाम नगरपालिका र केही गाउँपालिकाले कर्मचारी आवश्यकता खुलाएका छन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...