समाचार

विरासत जोगाए ‘हेभिवेट’ले

गते ००:०० मा प्रकाशित

विरासत जोगाए ‘हेभिवेट’ले


इलाम, २७ मङ्सिर (रासस)

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पाँचौँपटक विजयी भएका छन् । २०४८ र २०५१ सालको निर्वाचनमा उनले नेपाली काँग्रेसका तोयानाथ भट्टराईलाई पराजित गरेका थिए भने विसं २०५६ को निर्वाचनमा नेपाली काङ्ग्रेसका बेनुपराज प्रसाईसँग पराजित भएका थिए ।
संसद् पुनःस्र्थापना भएपछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा नेता खनालले काङ्ग्रेसका प्रसाइँलाई र विसं २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यलाई पराजित गरे ।
विसं २००६ चैत ६ गते इलामको साविक साँखेजुङ गाविस वडा नम्बर ४ मा जन्मिएका उनी सञ्चारमन्त्री, कृषि, भूमिसुधार तथा वनमन्त्री हुँदै २०६७ साल माघ २३ गते देशको ३७औँ प्रधानमन्त्री बने । पन्ध्र वर्षकै किशोर अवस्थामा कम्युनिष्ट आन्दोलनमा होमिएका नेता खनालले २०२१ सालमा विद्यार्थी सङ्गठनको अध्यक्षबाट राजनीतिक यात्रा शुरू गरेका हुन् । विसं २०२५ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेपछि नेपाली राजनीतिसँगै शिक्षण पेशामा संलग्न हुँदा पटक–पटक गरी सात वर्ष जेल जीवन बिताएका थिए ।
झापा विद्रोहपछि २०३१ सालमा गठित क्रान्तिकारीहरूको सङ्गठन कोअर्डिनेशन कमिटी, नेपाल कम्युनिष्ट पार्टी मालेको संस्थापक सदस्य रहेका खनाल सोही पार्टीको महासचिवसमेत भएका थिए । विसं २०३७ पछि भूमिगत भएका उनी नौ वर्षपछि २०४६ सालको जनआन्दोलन पछि खुलामञ्चबाट सार्वजनिक भएका थिए ।
विसं २०६५ मा भएको बुटवलको आठौँ महाधिवेशनबाट नेकपा (एमाले)को अध्यक्षमा निर्वाचित भएका नेता खनाल विसं २०७१ को नवौँ महाधिवेशनबाट पार्टीको वरिष्ठ नेता बन्नुका साथै हालैको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट वाम गठबन्धनबाट उम्मेदवार बनेर ३६ हजार ८०७ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरे ।
यसैगरी प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङको यो विजय यात्रा चौँथो पटक हो । नेकपा (एमाले) केन्द्रीय सदस्य र कानून विभाग प्रमुखसमेत रहेका उनले २०५६ सालको संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसका कुलबहादुर गुरुङलाई सोही क्षेत्रबाट पराजित गरे । विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काङ्ग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई नेता नेम्वाङले पराजित गरेका थिए ।
संविधानसभामा दुईपटक साभाध्यक्षका साथै दोस्रो जनआन्दोलनपछि पुनःस्र्थापित संसद्को सभामुख बनेका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाए । इलामबाट विसं २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएपछि उनले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएर काम गरे ।
विसं २०२९ मा अनेरास्ववियुको तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै नेता नेम्वाङ राजनीतिमा निरन्तर क्रियाशील छन् ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका उनी २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए । कानून विषयकोे अध्ययनपछि नेपाल ल क्याम्पसमा २०३५ देखि २०५१ सालसम्म प्राध्यापन गरे ।
इलाम क्षेत्र नम्बर २ बाट नौ हजार ६५४ मतान्तरले विजयी भएका नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त
गरे ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...