space for add
space for add

समाचार

‘कृषि क्षेत्रलाई बेवास्ता गरियो

गते ००:०० मा प्रकाशित

‘कृषि क्षेत्रलाई बेवास्ता गरियो

सन्दकपुर संवाददाता
इलाम, ११ मङ्सिर

-नगदेबाली उत्पादनमा अगुवा इलामका मतदाताले कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्न दलहरू प्रतिबद्ध नभएको आरोप लगाएका छन् । अदुवा, अलैंची, आलु, अकबरे, चिया, अम्लिसो, जडिबुटी, फलफूल र दूध उत्पादनबाट वार्षिक ३० अर्ब रुपैयाँ भित्रने जिल्लामा सरकारी सहयोग भने नगन्य रहेको उनीहरूको भनाइ छ ।

कुल खेतीयोग्य जमिनको १० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइका लागि सम्भावित खोला विद्युत् आयोजनाले उपयोग गरेका छन् । दु:खजेलो गरेर उत्पदन गरेका सामानको बजार भने खस्कँदो छ । यो वर्ष अदुवाले पटकपटक भारतीय अवरोध सहनु पर्‍यो । प्रतिमन १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य घटेर २५ हजार पुगेको छ । यहाँका मतदाता भन्छन्, ‘बजार व्यवस्थापनतिर कसैको ध्यान गएको छैन ।’

चुनावका बेला राजनीतिक दलले कृषि विकासमा पर्याप्त भाषण दिने गरे पनि त्यसपछि केही नगरेको कृषक बताउँछन् । सूर्योदय नगरपालिकाको सुन्दरपानीमा चिया टिप्दै भेटिएकी छिरिङलमु लेप्चाले नेताले आश्वासन बाँडे पनि गरिबदु:खी कृषक र मजदुरको हितमा केही काम नगरेको गुनासो गरिन् । ‘हामी विगा (जति चियापत्ती टिप्यो त्यसकै आधारमा ज्लाला दिने चलन) गर्नेलाई चुनावले केही प्रभाव पार्दैन,’ उनले भनिन्, ‘हातखुट्टा चलेसम्म काम गर्‍यो भने पेट भरिन्छ नत्र केही हुँदैन ।’

कृषिलाई सोचे जति सरकारी साथ नहुँदा अधिकतम लाभ लिन नसकिएको मलातेका दीपेन्द्र दुलाल बताउँछन् । ‘कृषिमा जति प्रगति भएको छ त्यो नितान्त व्यक्तिगत प्रयासबाट हो,’ उनले भने, ‘कृषकको उत्साहमा सरकारी निकायबाट साथ हुने हो भने रोजगारीका लागि विदेशिनुपर्ने छैन ।’

लामो समय वैदेशिक रोजगारीमा बिताएका दुलाल गाउँ फर्किएर पशुपालन र कृषिमा व्यस्त छन् । परिवारसहित अवोरात्र खट्ने उनलाई सस्तो व्याजमा ऋण र अलैंची, अदुवालगायत बालीका लागि प्राविधिक ज्ञान पाए राम्रो हुने उनले बताए । विकास र समृद्धिका नाराले मात्र नुहेन तर्क उनको छ । बिनाप्राविधिक ज्ञान अन्धाधुन्द गरिएको कृषिले कृषकलाई दिगो आम्दानी नदिएको बताउने उनी सिंचाइ, आर्थिक सहयोग र बजार व्यवस्थापनमा अबका उम्मेदवारले ठोस पहल गर्नुपर्ने सुझाव दिन्छन् ।

अन्तर्राष्ट्रिय मुद्रा आर्जनको प्रमुख स्रोत बन्दै आएको चियामा गुणस्तर सुधारको मुख्य चुनौती छ । उत्पादन अर्गानिक नभएसम्म पश्चिमा बजारको सम्भावना छैन । एक दुई कारखानाबाहेक आन्तरिक र भारतीय बजारमा निर्भर छन् । तर कुनै पनि सरकारले चिया कृषकदेखि करोडौं लगानी गर्ने व्यवसायीसम्मलाई संरक्षण नदिएको गुनासो छ ।

‘इलामको चियालाई अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्ने बनाउने हो भने रोजगारीसँगै आम्दानीको दिगो माध्यम बन्न सक्छ,’ गोर्खा टी स्टेटका सञ्चालक उदय चापागार्इं भन्छन्, ‘भर्जिन ल्यान्ड, यङ बुस र उपयुक्त हावापानीका कारण यहाँको उत्पादनले पश्चिमा बजारमा दह्रो उपस्थिति जनाउनेमा दुईमत छैन । यसका लागि गुणस्तर सुधार नै पहिलो सर्त हो ।’ नेताहरू राष्ट्रिय मुद्दामा अल्झिरहँदा कृषकले भने सम्भावनाअनुसार काम गर्न नपाएर दु:ख पाउनुपरेको उनको भनाइ छ ।

दलका घोषणापत्रमा कृषकलाई फाइदा पुर्‍याउने प्रशस्तै बुँदा राखेका छन् । तर ठोस योजना र आधार ती प्रतिबद्धतामा देखिँदैन । बजारको सुनिश्चितालाई मुख्य चुनौती मान्ने यहाँका कृषकले भारतीय बजारबाहेक तीन र पश्चिमा देशमा आफ्नो उत्पादन पुर्‍याउन ठोस पहल हुनुपर्ने बताउँदै आएका छन् । गुणस्तरीय उत्पादन गरेर आन्तरिक प्रशोधनसहित उत्पादनलाई विश्व बजार पुर्‍याउन सके कृषकले विकल्प खोज्नु नपर्ने उनीहरूको भनाइ छ


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...