समाचार

इलाम दूधमा आत्मनिर्भर , आठअर्ब साठ्ठी करोडको उत्पादन

२०७४ मङ्सिर ४ सोमबार गते ०८:०४ मा प्रकाशित

इलाम दूधमा आत्मनिर्भर , आठअर्ब साठ्ठी करोडको उत्पादन

सन्दकपुर संवाददाता

इलाम ४ मङ्सिर

 जिल्लामा बार्षिक आठ अर्व ५९ करोड ९४ लाख रुपैयाँ बराबरको पशुपक्षी जन्य उत्पादन भएको तथ्याङ्कले देखाएको छ । 
जिल्ला पशु सेवा कार्यालयले तयार गरेको आर्थिक वर्ष २०७३।७४ को प्रतिवेदन अनुसार गत वर्षको तुलनामा उत्पादन करिब अढाई प्रतिशतले बढेको हो । पशुपक्षी जन्य उत्पादन मध्ये दूधमा इलाम जिल्ला आत्मनिर्भर बनेको 
छ । 
तथ्याङ्क अनुसार जिल्लामा सवैभन्दा बढि दूधको उत्पादन भएको छ । गत वर्षमा एक लाख २३ हजार सात सय मेट्रिक टन दूध उत्पादन भएको थियो । 
कार्यालयका प्राविधिक सहायक डीगबहादुर कार्कीका अनुसार दूधबाट मात्र जिल्ला भरका किसानले चार अर्व ७० करोड छ लाख रुपैया भित्रिएको छ । गाई, भैँसी, चौरी समेतबाट जिल्लामा प्रसस्तै आम्दानी हुने गरेको छ । 
यहाँ उत्पादित दूधको मुल्यबृद्धि गर्न किसानहरु हौसिएका छन् । दूधबाट घिउ, छुर्पी, पनीर, ललीपप, चीज जस्ता उत्पादन गरी त्यसबाट आम्दानी लिने गरेका छन् । उत्पादित दूधमध्ये २० प्रतिशत कच्ची रुपमा विराटनगर दुुग्ध वितरण आयोजनामा र अन्य निजी डेरि मार्फत जिल्लाबाहिर निकासी हुने गरेको कार्यालयले जनाएको छ । 
कार्कीले जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्कमा जिल्लाका विभिन्न गाउँमा दुई सय ३० हाते डेरी सञ्चालनमा छन् । घरेलु डेरीले मुख्यगरी घीउ छुर्पी उत्पादन गरिरहेका छन् । इलाममा उत्पादित छुर्पी महङ्गो मुल्यमा कुकुरका लागि अमेरीका र युरोपमा समेत निर्यात हुने गरेको छ ।
यस्तै सरकारी र नीजि गरी जिल्लामा २४ वटा चीज कारखाना सञ्चालनमा रहेका छन् । दूधबाट बम्बैसन र मिठाई  ललीपप बनाउने  सातभन्दा बढि कारखाना सञ्चालनमा रहेको पाइएको 
छ । आर्थिक वर्ष २०७३।७४ माचार सय ५६ मेट्रिक टन इलाममा चीज उत्पादन भएको छ । चीज उत्पादनले २२ करोड ८० लाखको कारोबार भएको देखाएको छ । 
यस्तै घ्यू नौ सय २८ मेट्रिक टन अर्थात् ५१ करोड चार लाख बराबरको उत्पादन भएको पाइएको छ । उक्त आर्थिक वर्षमा छुर्पी दुई सय ९७ मेट्रीक टन अर्थात २२ करोड २७ लाख ५० हजार बराबरको उत्पादन भएको छ ।
ललीपप साढे २१ मेट्रीक टन र पनीर ११ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क रहेको छ । यस्तै मासु तीनअर्व ८९ करोड ८८ लाख बराबरको बार्षिक उत्पादन भएको तथ्याँक छ । यो वर्ष नौ हजार सात सय ४७ मेट्रिक टन उत्पादन भएको मासु खसी, बोका, राँगा, बङ्गुर, कुखुरा, हाँस, परेवा र माछा समेतको 
हो । 
यस्तै कुखुरा र हाँसको अण्डा ६६ लाख ८१ ह्जार उत्पादन भएको कार्यालयले जनाएको छ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...