समाचार

अदुवामा किसानको लाखौँ रुकम डुब्यो

गते ००:०० मा प्रकाशित

 गणेश घिमिरे,
इलाम, १७ बैशाख -
इलाममा सहकारी, समूह र व्यक्तिगत रूपले ठूलो मात्रामा ब्यवसायिक रूपमा अदुवा खेती सुरु गरेका किसानहरूको लाखाँै रुपैयाँ यतिखेर बालुवामा पानी हालेसरह बनेको छ । अदुवाले रूपैयाँ डुबाएपछि इलामका कृषकहरु अदुवा खेतीतर्फ निरुत्साहित बनेका छन् । निरन्तर घट्दो मूल्यका कारण उत्पादित अदुवा नबिकेपछि कृषकहरुमा अदुवा खेतीतर्फको मोह घटेको हो ।
अलैँचीपछि केही वर्ष अघिबाट जिल्लाको मुख्य नगदेबालीको स्थान लिएको अदुवा बिक्री नै नभएपछि किसान चिन्तित छन् । मूल्यमा गिरावटभन्दा पनि बिक्री नै नभएपछि किसानले बैशाख दोस्रो सातासम्म पनि बारीबाट अदुवा निकालेका छैनन भने, बारीमै टुसाउन थालेको छ । समयमा बिक्री नभएपछि किसानले बैङ्क, वित्तीय संस्था र गाउँघरका समूहबाट लिएको ऋणको ब्याज बुझाउन नपाएको गुनासो गरेका छन् ।
अन्य कृषिबाली त्यागेर ब्यवसायिक रूपमा अदुवा खेती गरिरहेका किसान मारमा परेका हुन् । अदुवा खेतीबाटै परिवार पाल्दै आएका र घरखर्च धान्दै आएका किसानको अवस्था दयनीय छ । जिल्लाका धेरै किसानले अदुवा खेतीका लागि साहू, बैङ्क, सहकारी संस्था तथा गाउँघरका समूहबाट ऋण लिएका थिए । केही वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा अदुवाको माग अत्यधिक आउन थालेपछि पूर्वी पहाडी जिल्लामा यसको ब्यवसायिक खेती फस्टाएको थियो ।
अदुवाको माग भारत, बङ्गलादेश लगायत मुलुकमा बढेपछि किसान अन्य खेती छाडेर अदुवामा लागेका थिए । ‘पहिलेको भाउबाट कमाउन सकिने देखिएकाले गत वर्ष अदुवा नबेची सबै ५० मन रोपेर अढाई सय मन फलाएर पाँच लाखभन्दा बढी कमाउने सपना सपनामै सीमित भयो’, नयाँबजारका मदन घलेले बताए । जिल्लाभरका किसानले अघिल्लो वर्ष राम्रो मूल्य पाएकाले ऋण खोजेर भएपनि खेती गरेका थिए ।
अदुवाको घटदो मूल्यका कारण आउँदो वर्ष उत्पादन घट्ने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मूल्यमा आएको ह«ासले अदुवाखेतीमा लागेका किसान व्यवसायमा टिकिरहन सक्ने अवस्था नरहेको कार्यालयका लक्ष्मीनारायण शर्माले बताए । ३ वषदेखि बजारमा अदुवाको मूल्य उच्च हुँदै गएपछि जिल्लाका दुइ दर्जन भन्दा बढी गाविसका किसान यसको ब्यवसायिक खेतीमा लागेको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । जिल्लाको चमैता, नामसालिङ, नयाँबजार, सोयाङ, गोदक, फाकफोक, सिद्धिथुम्का लगायतका गाविसहरुमा अदुवाको सबैभन्दा बढी खेती गरिन्छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...