space for add
space for add

समाचार

दूध उत्पादकको उज्ज्वल भविष्य

२०७४ कार्तिक २१ मंगलबार गते ०८:०५ मा प्रकाशित


इलाम जिल्ला खोलानाला, तालतलैया, पहाड, खोच, उर्वर खेतीयोग्य जमिनले मात्र चिनिँदैन । यहाँका बासिन्दाको शिक्षाजन्य चेतनाको स्तर र परिआएका काममा देखाइने लगनशीलताले पनि परिचय झल्काउने गरेको छ । इलामेली जनताका परिश्रमको फलस्वरुप इलामलाई विविध ‘अ’ले चिनाउने गरेको छ । चिया, जडिबुटी, काठ, अन्नबाली उत्पादन तर्फपनि इलाम कहिल्यै दूर्नाम छैन । तुलनात्मक हिसाबमा शैक्षिक जागरणमा अग्रणी रहेको छ । शिक्षण, सरकारी सेवा र गैर सरकारी सेवामा इलामेलीहरू ठूलो सङ्ख्यामा कार्यरत रहेका छन् । साहित्य, खेलकुद र कलाको फाँटमा पनि इलामेली अगाडि छन् । राजनीतिका दामी भोटा फटाउने र हाल पनि लगाइरहनेहरूको नाम देशले लिने गरेको छ । पछिल्ला दिनहरूमा नगदेबालीमा अग्रसर भएका किसानहरू कक्रिएका छन् । अदुवाको मूल्य नपाएर छट्पटाएका छन् । पशुपालन र दूध उत्पादनमा भने सन्तोषजनक उपलब्धी भएको मानिन्छ ।
विराटनगरमा दुग्ध विकास संस्थान (डीडीसी)को स्थापना भएयता इलामले त्यसलाई रामै्र परिमाणमा दूध दिने गरेको थियो । हाल त्यहाँ जम्मा हुने दूधको ७० प्रतिशत अंश इलामबाट जाने गरेको बताइन्छ । यो संस्थाले निकै ठूलो लगानी पनि गरेको छ । हाईवेको पायक पारेर दूध सङ्कलन र चिस्यान केन्द्रहरू स्थापना गरेको छ । इलामबासीले मानिस र घोडाको ढाडमा बोकाएर पनि चिस्यान केन्द्रमा ल्याउने गरेका हुन् । डीडीसीसँगको कारोबार बेलाबेलामा तिक्त रहने गरेको थियो । खासगरी राजनैतिक हड्तालका समयमा कारखाना बन्द गर्नुपर्ने बाध्यताले लामो समयसम्म दूध नलगेका उदाहरणहरू धेरै छन् । कुनैबेला यस्तो अवसरमा राजनैतिक दल, सरकार र संस्थालाई दवाब दिने क्रममा दुग्ध जिल्ला सहकारीको नेतृत्वमा इलाम चोकबजारमा दूधको खोलो बगाइएको थियो ।
हरेक समस्याको बिकल्प हुन्छ । अहिले आएर दूध ब्यापारको सजिलो बिकल्प निस्किएको छ । गाउँगाउँमा दूध प्रशोधन गर्ने हाते र आधुनिक इलेक्ट्रिक डेरी उद्योगहरू स्थापना भएका छन् । घीउ र छुर्पी उत्पादन सामान्य भएको छ । यसबाहेक पनिर, चीज, ललिपप, बम्बइसन जसता खाद्य पदार्थहरू बनाउने उद्योगहरू सञ्चालनमा आएका छन् । केही प्रशोधकहरूले छुर्पी डगच्यूको लागि अमेरिका पठाउने गरेको बताइन्छ । यसले दूरदराजमा दूध उत्पादक किसानलाई सहज भएको छ भने उनीहरूले डीडीसीको भन्दा राम्रो मूल्य पाउने गरेका छन् ।
घ्यूका मुख्य बजारहरू देशकै ठूला शहरहरू हुन् । प्रशोधनकर्ता आफैँले बजारको ब्यवस्था गरेका छन् र माग बढ्दै जाने गरेको पनि बताइने गरेको छ । यो प्रकृयाले निरन्तरता पाएमा इलाममा दूध उत्पालक किसानहरू क्रमशः ब्यावसायिक बन्न सक्नेमा शङ्का छैन । गुणस्तरीय दूध उत्पादन गर्न किसान, प्रशोधनमा प्रशोधकहरू प्रतिबद्ध रहनु पर्ने देखिन्छ । बजारलाई हलचल हुन नदिन र अलैँची र अदुवामा जस्तो मिसावट गर्ने लोभमा नपर्न ब्यापारीहरू सजग रहनु पर्ने देखिन्छ । सरकारले पनि यसबारेमा दिगो र ठोस् नीति र कानून निर्माण गरोस् । स्थानीय तहको सरकारले किसानबाट केही लिन पहिला पर्याप्त दिने गरोस् । जनतालाई काम गर्ने वातावरण दिन सरकारले तदारुकता देखाउन बेला यही हो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...