space for add
space for add

समाचार

इलाममा बजार अनुगमन : न प्रभाव न परिवर्तन

२०७४ कार्तिक ८ बुधबार गते २०:१६ मा प्रकाशित

भगीरथ भण्डारी
इलाम, ८ कात्तिक

 सरकारले बजारमा कृत्रिम अभाव श्रृजना हुन नदिन, महङ्गी नियन्त्रण गर्न, कालोबजारी हुन नदिन र उपभोक्ताको संरक्षण गर्नका लागि भनेर बजार संरक्षण शाखा नै खडा गरेर सरकारी अड्डामा सञ्चालन गरिरहेको लामो समय बितिसकेको छ । जिल्ला प्रशासन कार्यालय जस्तो हालसम्म जिल्लाकै ठूलो अड्डाको रुपमा मानिएको निकाय र जिल्लाकै सबैभन्दा शक्तिशाली ब्यक्ति प्रमुख जिल्ला अधिकारी रहेको ठाउँमा भएको यस्तो बजार संरक्षण शाखाले निकै सकारात्मक परिवर्तन आउने काम गरेको होला भनेर उपभोक्ताको आश हुनु पनि स्वाभाविक नै हो । 
तर उपभोक्ताको आशा जस्तो आजसम्म हुन सकेको छैन । इलाममा रहेको बजार संरक्षण शाखाबाट नाम मात्रको बजार अनुगमन भएको पाइएको छ । त्यस्तो बजार अनुगमनले न बजारमा प्रभाव पार्न सकेको छ न त परिवर्तन नै ल्याउन सकेको छ ।
हालसालै मात्र सिद्धिएका दुईवटा ठूला चाडहरूमा पनि उपभोक्ताको चाहनाअनुरुपको बजार अनुगमन हुन सकेन । अनुगमनले हुने परिवर्तन त धेरै परको कुरा हो । दशैँअघि भदौमा प्रशासन कार्यालयको बजार संरक्षण शाखाकै नेतृत्वमा भएको इलाम बजारको अनुगमनमा केही म्याद नाघेका सामग्री बरामद् भएको थियो । जम्माजम्मी एक दर्जनजति पसलमा भएको अनुगमनबाट ११ हजार ७५५ रुपैयाँबराबरका त्यस्ता सामग्री बरामद् गरिएपनि इलाम बजारका अन्य पसलमा फेरि त्यस्तो अनुगमन हुन सकेन । 
अनुगमनका क्रममा सामान बरामद्बाहेक त्यस्तो सामान राखेर बिक्री गर्ने ब्यवसायीलाई कुनै प्रकारको कारबाही पनि भएन । स्मरण रहोस्, आजसम्म बजार अनुगमन गरेर केही सामान बरामद् गर्नेबाहेक कुनै गलत काम गरेको फेला परेका ब्यवसायीले कुनै प्रकारको कारबाही भोग्नु परेको छैन ।
कार्यालयका बजार संरक्षण अधिकृत शेरबहादुर देवानका अनुसार थोरै थोरै सामान मात्र फेला पर्ने भएकोले मात्रा थोरै भएकै कारण कारबाहीको अन्य प्रकृया नगरिएको हो । 
सबैभन्दा ठूला चाडबाडको बेला पनि अन्य कुनै बजारहरू अनुगमन भएन । अनुगमन नभएको र प्रभावकारी नभएको बारे जिज्ञासा राख्दा अधिकृत देवानले संयुक्त टोली बनाएर अनुगमन गर्नुपर्ने भएकोले पनि बाक्लो अनुगमन हुन नसकेको बताए । उनले भने, ‘बजेट पनि खासै हुँदैन, फेरि अनुगमनका लागि अन्य सरकारी निकाय र संस्थाका प्रतिनिधीको पनि आवश्यक पर्छ वहाँहरूको समय मिलाउन नसकेर पनि अनुगमनमा जान सकिएको छैन ।’
बजार अनुगमनजस्ता कामका लागि सरकारले वार्षिक एक लाख रुपैयाँ पठाउने गरेको भएपनि त्यो रकमले धेरैवटा अनुगमन हुन नसक्ने पनि अधिकृत देवानको भनाई थियो । उनले भने, ‘गएसाल एक लाख रुपैयाँ आएको थियो । त्यो पैसाले आठदश जनाको टीम गएर बाहिर अनुगमन गर्दा एक दुई पटकमै सिद्धिजान्छ । त्यो बाहेक एकपटक बजार संरक्षणसम्बन्धी अन्तरक्रिया पनि गर्नुपर्छ ।’
उनले त्यही एक लाख पनि चालु आर्थिक वर्षमा त अहिलेसम्म प्राप्त नभएको पनि बताए । यिनै कारणले बजारमा प्रभावकारी अनुगमन र उपभोक्ता हितको काम गर्न समस्या परिरहेको उनको स्वीकारोक्ति थियो ।
त्यतिमात्र कहाँ हो र ? बजार अनुगमन गर्न भनेर गएको प्रशासनकै नेतृत्वको टोलीले दशैँअघि फिक्कल बजारमा अनुगमन गर्नै नसकेको पनि पाइएको छ । फिक्कल बजारमा बजार अनुगमन गर्न भनेर अधिकृत देवानकै नेतृत्वमा गएको टोलीलाई सूर्योदय नगरपालिकाका प्रमुखसहित स्थानीयले  अनुगमन गर्न नदिएको बुझिएको छ । 
कार्यकारी अधिकृत राजेन्द्र भट्टराईमार्पmत समन्वय गरेर अनुगमन गर्न पुगेको टोलीलाई प्रमुख रनबहादुर राईले समय नै दिएनन् । राईले लामो समयसम्म (तीन घण्टा) पर्खाएर टोलीलाई राखे पनि भेट नदिएपछि टोली फर्किएको थियो । नगरपालिकाका कर्मचारीहरूले प्रमुख राईलाई उद्यृत गर्दै ‘हाम्रो राज्यमा को अनुगमन गर्न आउने ?’ भन्नेजस्ता कुरा सुनाएपछि अनुगमन गर्न नसकिएको देवानको भनाई थियो । त्यतिबेला अनुगमन गर्न जाने टोलीमा जिल्ला कृषि विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, करदाता सेवा कार्यालय लगायतबाट प्रतिनिधीहरू रहेका थिए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...