समाचार

पार्किङ शुल्कका नाममा जथाभावी रकम असुलिँदै

२०७४ असोज ३० सोमबार गते ०८:१३ मा प्रकाशित

 सन्दकपुर संवाददाता

इलाम,३० असोज

इलाम नगरपालिका कार्यालयले पार्किङ शुल्कका नाममा जथाभावी रकम उठाउने गरेको पाइएको छ । चालु आर्थिक वर्षको शुरुदेखि नगरपालिकाले ठेक्का लगाएर उठाउन थालेको पार्किङ शुल्क दुई स्थानबाट बढीमा प्रतिगाडि ४० रुपैयाँ उठाउने नियम भएपनि नगर प्रहरीहरुले ५०० रुपैयाँसम्म लिने गरेको पाइएको हो । 
आइतबार नगर प्रहरीहरुले महानन्द चोक छेउ अवाले गोलाईमा बसेर बिर्तामोडबाट इलामतिर सामान ढुवानी गर्दै मेची राजमार्गमा गुडेका ट्रक र पिक अप गाडिहरुलाई रकम असुलेका हुन् । आइतबार बिब्ल्याँटेका ब्यवसायी कृष्ण पौडेलको सामान लिएर बिर्तामोडबाट बिब्ल्याँटेतर्पm आएको एउटा पिकअप गाडिलाई पार्किङ शुल्क भन्दै २०० रुपैयाँ असुलेको पौडेलले सन्दकपुर दैनिकलाई बताए । 
उनका अनुसार त्यहीँ बसेका नगर प्रहरीले ढुवानी गर्दै गुडेका ट्रकलाई जबर्जस्ती ५०० रुपैयाँका दरले उठाएका थिए । यातायात मजदुर र ब्यवसायीले ‘यो के को रकम असुलिएको हो ?’ भनेर सोध्दा पार्किङ शुल्क भनी नगर प्रहरीले जबर्जस्ती उठाएको पनि पौडेलको भनाई छ । 
पौडेलले त्यस विषयमा नगर प्रमुख महेश बस्नेतसमेतलाई सम्पर्क गरि गुनासो गरेको बताएका छन् । उनले नगर पालिकालाई कर तिर्न भनेर ब्यवसायीले ठूलै रकम बोकेर हिँड्नुपर्ने अवस्था आएको गुनासो पनि गरे ।
यता नगरपालिका कार्यालयले भने पार्किङ शुल्कका नाममा जथाभावी रकम नउठाइएको जनाएको छ । नगरपालिका कार्यालयका सूचना अधिकारी रामकुमार शाहका अनुसार इलाम बाहिरबाट सामान ल्याएर घर घरै र पसल पसलमै सामान बेच्दै हिँड्ने रिटेलिङ गर्ने सवारी साधनलाई लिइने ब्यवसाय कर आइतबार उठाइएको हो । 
उनले भने, ‘इलाम नगरपालिकामा ब्यवसाय दर्ता नगरेका र कुनै ब्यवसाय कर नबुझाउने ब्यापारीहरुले गाडिमा सामान ल्याएर गाडिमै बेचिसक्ने र फर्किने गर्छन् । उनीहरुलाई त्यस्तो कर उठाइन्छ ।’ शाहका अनुसार दैनिक प्रतिट्रक ५००, प्रति पिक अप २०० र प्रति भ्यान १५० रुपैयाँका दरले नगरपालिका कार्यालयले अमानतबाटै रिटेलिङ ब्यवसाय कर उठाउन थालेको छ । नगरपालिकाको प्रथम नगरसभाबाट पारित आर्थिक ब्यवस्थापन ऐन, २०७४ को दफा ५ अनुसार बिगत पाँच दिनअघिदेखि मात्र यस्तो कर उठाउन थालिएको सूचना अधिकारी शाहले बताए । यो कर महानन्द चोक र धोवीधारा आसपास क्षेत्रबाट उठाउन थालिएको हो । आइतबार नगरप्रहरीले उठाएको रकम केही भूलबस उठेको पनि शाहको भनाई थियो । ढुवानी मात्र गरेर आएका बजार प्रवेश गर्ने गाडिलाई पार्किङ शुल्कमात्र लिइने र राजमार्गमा इलाम ननिस्कि अन्यत्र जानेलाई रकम नलिइने कार्यालयले जनाएको छ । ‘आज भूलबस ढुवानी गर्ने गाडिलाई रिटेलिङ ब्यवसाय कर उठाइएको पाइएको छ’, शाहले अगाडि भने, ‘कृष्ण पौडेलसहितका ब्यवसायीले जानकारी गराउनु भएको छ । वहाँहरुको गुनासो सम्बन्धमा नगरपालिकाले तत्काल सुनुवाई र संबोधन गर्नेछ ।’
नगरपालिकाले पार्किङ शुल्क पनि बसपार्क र ट्याक्सी स्ट्याण्डबाट उठाउँदै आएको छ । उक्त शुल्क ठेकेदार बिमल साउदेनमार्पmत ठूला गाडिलाई ४० रुपैयाँ र साना गाडिलाई २० रुपैयाँ असुल्ने गरिएको कार्यालयले जनाएको छ । सो बाहेक नगरपालिकाले अमानतबाटै ढुङ्गा गिटी बालुवाको कर पनि नगरप्रहरीमार्पmत उठाउन थालेको छ ।

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...