समाचार

स्वास्थ्य संस्था पुरस्कृत

२०७४ असोज ३० सोमबार गते ०८:०९ मा प्रकाशित

सन्दकपुर संवाददाता

इलाम,३० असोज

हेरचाहका लागि उत्प्रेरणा परियोजना लागू भएका इलामका २७ वटा साविकका गाविसमध्ये चार वटा स्वास्थ्य संस्था पुरस्कृत भएका छन् ।
करूणा फाउण्डेशनको सहयोगमा सञ्चालित परियोजनामार्फत सन् २०१६ मा अपाङ्गता तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको जनाउँदै संस्थाले आमचोक, चमैता, इरौंटार र जमुना गाविसस्थित स्वास्थ्य चौकीलाई पुरस्कृत गरेको हो । करूणा फाउण्डेशनले सदरमुकाममा आयोजना गरेको सन् २०१६ को वार्षिक कार्यक्रमको समिक्षा कार्यक्रममा प्रत्येक स्वास्थ्य चौकीलाई नगद २० हजार र सम्मान पत्रले पुरस्कृत गरेको हो । 
करूणा फाउण्डेशनका कार्यक्रम निर्देशक योगेन्द्र गिरी तथा जिल्ला व्यवस्थापक अजित योञ्जनले स्वास्थ्य चौकी प्रमुखलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरे । विभिन्न सूचकको आधारमा उत्कृष्ट अङ्क ल्याई ती स्वास्थ्य संस्था पुरस्कृत भएका हुन् । सोही अवसरमा करूणा फाउण्डेशनले कार्यक्रम सञ्चालन भएका साविकका स्वास्थ्य चौकीलाई एक÷एक थान प्रिन्टर समेत निःशुल्क वितरण गरेको करूणा फाउण्डेशनका कार्यक्रम अधिकृत प्रदिप अधिकारीले जानकारी दिए ।
वार्षिक समिक्षा कार्यक्रममा हेरचाहका लागि उत्प्रेरणा परियोजनाले धेरै उपलब्धी हासिल गरेको र आगामी दिनमा पनि थप प्रगति गर्दै जाने संस्थाले अपेक्षा गरेको छ । परियोजनाबाट अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाएको, स्वास्थ्य उपचार सेवा पाएको, सहायक सामग्री 
पाएको, स्वास्थ्य संस्थामा 
औजार उपकरण तथा फर्निचरको व्यवस्था गरिएको, प्रत्यके साविकका गाविसमा स्वावलम्वन समूहलाई बीऊ पुँजी अन्तर्गत एक लाख ५० हजार प्रदान गरिएको, अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार आएको, बाल संरक्षणमा विभिन्न क्रियाकलाप सञ्चालन गरिएको, अपाङ्गतामैत्री विद्यालय निर्माण गरिएको, शुभकामना कार्यक्रम सञ्चालन गरी मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउने खालका विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।   ती कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार आउनु र अपाङ्गतालाई शुन्यमा झार्नुनै कार्यक्रमको मुख्य लक्ष्य रहेको कार्यक्रम निर्देशक गिरीले बताए । चार दिनसम्म सञ्चालित वार्षिक समीक्षा कार्यक्रममा सन् २०१५ र सन् २०१६ देखि कार्यक्रम सञ्चालन भएका स्वास्थ्य चौकीका प्रमुख, अनमी, सम्वन्धित् वडाका वडाध्यक्ष, जिल्लास्थित सरोकारवाला कार्यालयका प्रमुख एवम् प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...