समाचार

बेपत्तापरिवारले अझै पाएनन् राहत

२०७४ असोज २६ बिहिबार गते ०८:३७ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २६ असोज 
द्वन्द्वकालमा बेपत्ता भएका परिवारलाई सरकारले पटक पटक राहत रकम उपलव्ध गराएपनि इलामका दुई परिवारले भने अझै राहत पाउन सकेका छैनन् । सरकारले पटक पटक गरि वेपत्ता परिवारलाई दश लाख रकम उपलव्ध गराइसकेको छ । 
द्वन्द्वकालमा बेपत्ता भएका इलाम जिर्मलेका नीरबहादुर रिजालका परिवार अझै पनि उनको पर्खाइमै छन् । घरबाट पसल जान्छु भनि हिँडेका नीरबहादुर अझैसम्म नआउँदा उनका बुबा र दुई छोरा अझै पनि सम्भनामा दिन बिताउँछन् । काम गरेर बुबा र परिवारलाई पाल्ने आशा गरेका नीरबहादुर नै बेपत्ता भएपछि बुबा पदमबहादुर सामान्य पसल गरेर नातीको पालन पोषणमा लागेका छन् ।
साविक जिर्मैले ४ का पदमबहादुर भन्छन्, ‘ज्योतिष हेराउँदा पनि फर्कन्छ भनेका छन् अझै आउँछ भन्ने आशा छ ।’ द्वन्द्वकालमा बेपत्ता भएका अन्य परिवारका सदस्यले पटक पटक सरकारबाट राहतका साथै छोराछोरीका पठनपाठनमा छात्रबृत्ति पाएपनि यो परिवारले शान्तिकालको दश वर्ष वितिसक्दा पनि कुनै राहत र सुविधा पाउन सकेको छैन । ‘नातीहरु नाबालक छँदै पढाउनका लागि पहल गरियो ।’ जिल्ला प्रशासन कार्यालय, शान्ति मन्त्रायल र स्थानीय शान्ति समितिमा समेत पटक पटक जानकारी र निवेदन दिएपनि हालसम्म राहत बारे कुनै भरपर्दो सुचना नपाएको रिजाल परिवारको भनाई छ ।
यता द्वन्द्वकालमै बाग्लुङ जिल्लाबाट बेपत्ता भएका  साविक चुलाचुली १ चौविसे टोलका दलबहादुर लिम्बुका परिवारले पनि हालसम्म राहत पाउन सकेका छैनन् । लिम्बुका बृद्ध बुवाले पटक पटक राहतको आश्वासन पाएको तर हालसम्म कुनै पनि सहयोग नपाएको गुनासो गर्दछन् । यता द्वन्द्वकै कारण आफ्ना श्रीमान बेपत्ता भएको बताउने इलाम नगरपालिकाकी माया भट्टराईले वेपत्ता परिवारको सीफारिस नै लिन नसकेको बताइएको छ । सरकार र तत्कालिन माओबादी विद्रोहि पक्षबीच शान्ति बार्तापछि उनका श्रीमान धरान घोपाक्याम्पबाट बेपत्ता भएका थिए । 
मायालाई प्रसुतिका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला औषधी लिन बाहिर निस्केका लोकेन्द्र भट्टराई हालसम्म सम्पर्कमा नआएको उनको दावी छ । लोकेन्द्रको अवस्थाको बारेमा बुझ्नका लागि र वेपत्ताको सुचीमा राख्नका लागि कहिले प्रसासन, कहिले मन्त्रालय कहिले शान्ति समिति धाइरहेकी मायाले हालसम्म कुनै राहत र पीडितले पाउने सुविधा नपाएको बताइन् । 
बुधबार नेपाल रेडक्रस सोसाइटी र आइसी आरसीको आयोजनामा भएको पारिवारिक सम्पर्क पुनस्र्थापना सेवा बारेको अभिमुखीकरणमा सम्बन्धित रेडक्रस उपशाखा प्रतिनीधिहरुले बेपत्ता परिवारले पाउने राहत नपाएको र यसबारेमा परिवारलाई बुझाउन कठिन भइरहेको बताए । जिल्लाका १५ उपशाखा पदाधिकारीहरुका लागि आयोजित कार्यक्रममा प्रतिनीधिहरुले सम्बन्धित मन्त्रालयमा बुझ्ने काम भइरहेको बताए । 
जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले हालसम्म इलाम जिल्लाका बेपत्ता परिवारले राहत नपाएको विषय आश्चर्यमुलक भएकोले यस विषयमा अन्य सरोकारवाला बैठकमा उठाउने जानकारी दिए । 
पटक पटक जिल्लास्तरीय शान्ति समितिमा विभिन्न दलका प्रतिनीधि सम्मिलित बैठकमा अन्य निर्णय भएपनि यस विषयमा छलफल नभएको बताए । नेरेसो इलामका सभापति देवीप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी ध्रुववहादुर खड्काले रेडक्रसको आफ्नै सामाजिक पहिचान भएकाले मानवीय सेवाका लागि पहल गर्नुपर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलले अझै पनि जिल्लामा केहि द्वन्द्वकालीन घटनाका पीडित आफ्नो कार्यालयमा राहतका  लागि आउने गरेको 
बताए । कार्यक्रममा इलाम जिल्ला शाखा र उपशाखाका १५ उपशाखाका सभापति र सचिवहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आइसी आरसी प्रतिनीधि मिरा राना र सुरज घिमिरेले सहजीकरण गरेका थिए ।

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...