समाचार

पूर्वमन्त्री राई र आचार्य एमालेबाट १ नम्बर प्रदेशको मुख्यमन्त्री दाबेदार

२०७४ असोज २३ सोमबार गते १०:०९ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २३ असोज

 १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमालेबाट पूर्व सञ्चारमन्त्री शेरधन राई र पूर्व पर्यटन मन्त्री भीम आचार्यले दाबी गरेका छन् । पार्टीका स्थानीय कमिटीले दुवै नेताको नाम प्रदेश सभा निर्वाचनमा लागि सिफारिस गरेका छन् । राई भोजपुर २ बाट र आचार्य सुनसरी १ को २ बाट सिफारिस भएका हुन् ।
राई र आचार्य दुवैले प्रदेशको मुख्यमन्त्री बन्नकै लागि आफू प्रदेश सभा निर्वाचन लड्न लागेको बताए । राई केपी ओली निकटका नेता हुन् भने आचार्य माधव नेपाल निकटका नेता हुन् । आचार्य १ नम्बर प्रदेश कमिटीको संयोजक हुन् भने राई सहसंयोजक हुन् ।
‘प्रदेशको मुख्य मन्त्री बन्नकै लागि म प्रदेश सभा चुनाव लड्न लागेको हुँ,’ पूर्वमन्त्री राईले भने, ‘पार्टीमा औपचारिक निर्णय नभएपनि अनौपचारिक छलफल भएको छ । यसैअनुसार मैले तयारी थालेको हुँ ।’ उनी केपी ओली सरकारमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता थिए ।
उनी दुई पटक भोजपुर २ बाट निर्वाचित भइसेकका सांसद हुन् । २०५६ को आम निर्वाचनमा पहिलो पटक निर्वाचित हुँदा उनी २५ वर्षका मात्रै थिए । २०५६ को संसदमा उनी सबैभन्दा कान्छो सांसद थिए । २०७० को संविधान सभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका 
हुन् ।
उनी व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सभापति थिए । यसैबेला उनलाई अध्यक्ष ओलीले सञ्चारमन्त्री नियुक्त गरेका थिए । ‘पार्टीमा निर्णय त भइसकेको छैन,’ उनले भने, ‘तर मेरो दाबी मुख्यमन्त्रीमा हो ।’
राईले जस्तै आचार्यले पनि आफ्नो दाबी मुख्यमन्त्रीमै रहेको बताए । ‘१ नम्बर प्रदेशलाई विकास र समृद्धिमा अगाडि बढाउन मैले भूमिका खेल्न सक्छु भनेर नै मुख्यमन्त्रीमा दाबी गरेको हुँ,’ उनले भने, ‘पार्टीमा अनौपचारिक छलफल भइरहेको छ ।’ आचार्य सुशील कोइराला सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्री भएका थिए । तर, अध्यक्ष ओलीले उनलाई हटाएर दीपक अमात्यलाई मन्त्री बनाएका थिए ।
आचार्य २०७० को संविधान सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ६ बाट निर्वाचित हुन् । आउने मंसिर १० र २१ गते हुने निर्वाचनबाट प्रदेश सभा बन्ने छ । प्रदेश सभामा बहुमत ल्याउने दलले प्रदेश सभा सदस्य मध्येबाट मुख्यमन्त्री निर्वाचित गर्नेछ ।
माओवादी र एमाले तालमेल गरेपछि यो प्रदेशमा बाम गठबन्धन बलियो बनेको छ । प्रदेश नम्बर १ मा एमालेभन्दा माओवादी निकै कमजोर देखिएकाले गठबन्धनबाट एमाले उम्मेदवार मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...