समाचार

​​​बजार लिँदै इलामको ‘ह्वाइट टी’

२०७४ असोज २ सोमबार गते ०७:३९ मा प्रकाशित

भगीरथ भण्डारी
इलाम, 2 असोज
:
दुई पात एक सुइरो चिया बोटैमा
मनै मेरो फुरु¨ भो लाली ओठैमा...
एक जमानाको चर्चित यो गीतले भनेको दुई पात एक सुइरोको चिया त्यो बेला उत्कृष्टमा गनिन्थ्यो । दुई पात एक सुइरोको चिया नै सबैभन्दा गतिलो भनेर त्यसैलाई सबैभन्दा बढी दाममा किनबेच गरिन्थ्यो ।
तर अब दुई पात एक सुइरोको चियालाई पनि पछि पार्दै त्यो भन्दा उत्कृष्ट मानिन थालेको छ ‘ह्वाइट टी’लाई । उत्पादकहरूका अनुसार एक पात एक सुइरोबाट मात्र बनाइने गरेको हवाइट टी अर्थात् सेतो चिया अहिले नेपालसहित विश्व बजारमै उत्कृष्ट ठहरिन थालेको छ । 
यो चिया इलामका चिया कारखानाहरूमा पनि उत्पादन हुने गरेको छ । इलाम नगरपालिका वडा नम्बर १ को साँखेजुङका दुई उद्योग, सुर्योदयन गरपालिकाको एउटा र देऊमाई नगरपालिकाको पानीटारमा रहेको एउटा उद्योगले यो चिया उत्पादन गरिरहेका छन् । विश्व बजारमा सबै भन्दा मह¨ा मानिएका चियाहरूमध्ये ह्वाइट टी पनि हो ।
स्वादका लागि, बासनाका लागि र स्वास्थ्यका लागि अति नै उपयुक्त मानिएको ह्वाइट टी उत्पादन हुन थालेपछि चिया कृषकलाई पनि फाइदा हुन थालेको छ । ह्वाइट टी बनाउने एक पात एक सुइरोको पत्तीको मूल्य ३०० देखि ४०० रुपैयाँसम्म कारखानाहरूले उपलब्ध गराउने गरेका छन् । त्यसो त जुन पायो त्यो बगानबाट टिपिएको पत्तीले यो चिया बनाइँदैन । अर्गानिक प्रविधिबाट उत्पादन गरिएको बगानको पत्ती, त्यो पनि एक पात एक सुइरोमात्र यसका लागि छनौट हुने गरेको साँखेजुङको ग्रीन हिल अर्थोडक्स चिया उद्योगका प्रोप्राइटर टंक दहालको भनाई छ । 
दहालका अनुसार नेपाल, जापानसहित युरोपेली देशहरूमा समेत बिक्रीका लागि जाने ह्वाइट टीको तयारी चियापत्ती हेर्दा सेतो नै देखिन्छ भने चिया बनेपछि केही धमिलो पानीजस्तो देखिन्छ । इलाममा उत्पादित ह्वाइट टी कारखानाबाटै प्रतिकिलो चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । बर्षादको समयमा केही कममा बिक्री हुने दहालको भनाई छ ।
नेपालमै सबैभन्दा पहिला ह्वाइट टी उत्पादन शुरु गरेको दाबी गर्ने साँखेजुङकै हिमालयन साङ्ग्रिला टी स्टेटका ब्यवस्थापक (जो ह्वाइट टी बनाउने प्राविधिक हुन्) दिनेश रसाइलीले पनि किसानबाट हरियो पत्ती एकपात एक सुइरो प्रतिकिलो ३०० देखि ४०० रुपैयाँमा लिने गरेको र बिक्री गर्दा प्रतिकिलो चार हजार रुपैयाँसम्मले बिक्री हुने गरेको बताए । हिमालयन साङ्ग्रीलाबाट धेरैजसो यो चिया जर्मन जान्छ । 
यो चिया उत्पादनका लागि मौसमअनुसार फरक गुणस्तर हुने उत्पादकहरूले बताएका छन् । उनीहरूका अनुसार बर्षादमा कम गुणस्तरको र हिउँदको पहिलो चरण (प्mस्र्ट प्mलस)को पत्तीबाट धेरै राम्रो हुने गरेको छ । 
यो चिया बनाउन ब्ल्याक टी भन्दा धेरै फरक नभएको टंक दहालले बताए । उनले वेदरिङसहितको चिसो हावा दिएर ओभाउने, रोलिङ गर्ने जस्ता काम हुने गरेको बताए । ती सबै काम तातो चिसोको समय मिलाएर तयार गर्दा र केही प्राविधिक कुराहरूलाई मिलाउँदा ह्वाइट टी बन्ने उनको भनाई छ । 
अहिले इलाममा यो चिया दैनिक ५० किलोसम्म तयार हुने गरेको पाइएको छ । एउटा कारखानाले दैनिक १० देखि १५ किलो ह्वाइट टी बनाउँदै आएका छन् । यसरी हेर्दा उत्पादन समयमा बढीमा ६० लाख रुपैयाँसम्मको ह्वाइट टी इलामबाट बिदेशतिर निकासी हुने गरेको छ ।
यो चिया उत्पादन गर्ने कारखानाहरुले अर्डर अनुसार प्रशोधन गर्ने गरेको बताएका छन् । स्वदेशबाट नभई बिदेशबाट मात्र अर्डर आउने भन्दै हिमालयन साङ्ग्रीलाका रसाइलीले भने, ‘यो चियाको बाहिरी देशबाट मात्र अर्डर आउँछ । अर्डर आयो भने हामी दिनमा ५० किलोसम्म उत्पादन गर्न सक्छौँ ।’
ह्वाइट टी प्रशोधन गर्दै आएका हिमालयन साङ्ग्रीला र टंक दाहालको ग्रीन हिल चिया उद्योगलाई उन्नति समावेशी बृद्धि परियोजनाबाट पनि चालु आर्थिक वर्षमा केही सहयोग भएको छ । उन्नतिको सहयोगले ह्वाइट टी प्रशोधन स्थललाई अझ आधुनिक बनाउन थालेको र आगामी दिनमा ह्वाइट टीको गुणस्तर बृद्धि गर्न सहयोग पुगेको उनीहरुले बताए । 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...