समाचार

चियामा काम गर्ने महिला मजदुरलाई सङ्गठित गर्न परियोजना

२०७४ भदौ २८ बुधबार गते ०८:३७ मा प्रकाशित


सन्दकपुर संवाददाता
इलाम, 28 भदौ :
 इलामका चिया उद्योग र चिया बगानमा काम गरिरहेका महिला श्रमिकहरु हक र अधिकार सुनिश्चित गर्दै उनीहरुको सङ्गठन निर्माण गर्नका लागि जुनतारा सामाजिक विकास केन्द्रले एउटा परियोजना शुरु गरेको छ । दुई महिनाअघि शुरु गरिएको परियोजनाले चियामा काम गर्ने महिला मजदुरको हक अधिकारसहित क्षमता अभिबृद्धिका लागि के के गर्न सकिन्छ भन्ने बारे पहिचान गर्दै तालिम र गोष्ठीहरु सञ्चालन गरिरहेको संस्थाले जनाएको छ ।
डेनमार्क सरकारको सहयोगमा सञ्चालन भइरहेको उन्नति समावेशी वृद्धि कार्यक्रमअन्तर्गत आईएलओ नेपाल कार्यालयको साझेदारीमा जुनताराले शुरु गरेको अर्थोडक्स चिया उद्योगमा कार्यरत महिला श्रमिकहरुको लागि श्रम अधिकार तथा क्षमता अभिबृद्धि परियोजना शुरु गरेको हो । ३३ लाख ७२ हजार ३५० रुपैयाँ लागतको उक्त परियोजना सन् २०१८ को मे १५ मा सम्पन्न हुने परियोजनाकी कार्यक्रम संयोजक पुनम श्रेष्ठले सन्दकपुर दैनिकलाई जानकारी दिइन् ।
परियोजना सकिँदा महिला मजदुरहरुको सञ्जाल निर्माण भइसक्नेछ । त्यस्तै अर्थोडक्स चिया क्षेत्रका उद्योगहरुमा कार्यरत श्रमिक महिलाहरुको स्वस्थ्य र सुरक्षा तथा रासायनिक मल तथा बिषादीको असर जस्ता विषयमा उद्योगका मालिक तथा श्रमिकहरुलाई जनचेतना अभिबृद्धि गराइनेछ । 
परियोजनाले हालसम्म महिला श्रमिकहरुका लागि श्रम अधिकार सम्बन्धी ५० जना महिला श्रमिकलाई तालिम दिइसकेको छ भने औद्योगिक ब्यवसाय सञ्चालन र ब्यवस्थापनको बिषयमा अन्तराष्ट्रिय घोषणा पत्र सम्बन्धी चिया उद्योग प्रतिनिधी र सरकारी कार्यालय प्रतिनिधी सहभागी गराएर कार्यशाला सम्पन्न गरेको छ । 

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...