समाचार

इलाममा लाखेजात्रा शुरु

२०७४ श्रावण १५ आइतबार गते ०७:१६ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, १५ साउन : नेवार जातीहरुको परम्परागत चाडको रुपमा प्रत्येक वर्ष मनाइँदै आएको लाखेजात्रा इलाममा शुक्रबार शुरु भएको छ । नागपञ्चमीका दिन शुरु गरिने लाखेजात्रा इलाम सदरमुकामस्थित माईस्थान मन्दिर परिसरमा मकुण्डो पूजा गरेर दिउँसो निकालिएको थियो । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा माईस्थानबाट शुरु भएको पहिलो दिनको लाखेनाँच मालापथ हुँदै इलाम बजार परिक्रमा गराइयो । 
यो जात्रा नागपञ्चमीदेखि कृष्ण जन्माष्टमी अर्थात यसपाली साउन महिनाको ३० गतेसम्म हरेक दिन नेवार बस्ती भएको स्थानमा निकालिन्छ । इलाममा पनि हरेक दिन लाखे नाँच गरिने नेवा देय दबु इलामका सचिव तथा केन्द्रीय सदस्य कमल श्रेष्ठले जानकारी दिए । सचिव श्रेष्ठका अनुसार राक्षस लाखे वा ध लाखे पनि भनिने यो लाखेजात्रा तान्त्रिक विधिअनुसार पूजा गरेर मकुण्डो लगाएर नगर परिक्रमा गरि शुरु गरिएको हो । उनले भने, ‘भोलीदेखि नगरमा रहेका नेवार बस्ती र नेवारको संस्कृतिलाई मान्ने अन्य जातिको घरआँगनमा पनि नचाइन्छ ।’
कृष्ण जन्माष्टमी अर्थात समापनको दिन राती राँकोसहित नगर परिक्रमा गर्दै लोक गीत गाउँदै नारायणस्थानको कृष्णमन्दिरमा कृष्ण जन्म भइसकेपछि लाखेको मुकुण्डो राखेर शिस्नोपानी लगाएर सेलाइने गरेको पनि सचिव श्रेष्ठले सन्दकपुर दैनिकलाई बताएका छन् । उनले शुक्रबार नै इलामका विभिन्न ठाउँमा पनि लाखेजात्रा शुरु भएको बताए । नेवार जातिमा यस्तो जात्रा खेती सकिएपछि, गठेमङ्गल पर्वबाट शुरु भएर कृष्ण जन्माष्टमीको दिन सकिन्छ र त्यसपछि दशैँका जात्राहरु शुरु हुन्छ ।
कथन अनुसार जोगीको फेरि लगाउँदा घर शुद्ध हुन्छ भन्ने मान्यता जस्तै लाखेको मकुण्डो लगाएर नाँच्दा र बाजाको ध्वनीले त्यो घरको अशुद्धता हटेर सकारात्मक ऊर्जा आउँछ भन्ने विश्वास रहेको छ । यो नेवारको एउटा संस्कृति हो । यो जात्रा शुरुवातीको परम्परागत कथा सचिव श्रेष्ठले सुनाए, ‘नेवारको एउटा जाति तान्त्रिक विद्यामा निपूर्ण थिए । त्यो समयमा खेती गर्नलाई राक्षसलाई पनि आप्mनो बसमा राखेर भूतलाई पनि आप्mनो बसमा राखेर खेती गराइन्थ्यो । हप्ता पन्ध्र दिन लाग्ने खेती एकै रातमा गरिन्थ्यो । त्यसैको उपलब्धीस्वरुप राक्षस लाखेलाई चाहिँ आप्mनो बसमा राखेको र खेती गराएको अवसर मानेर जब खेती सकिन्छ अनि नागपञ्चमीमा यो लाखे जात्रा शुरु गरेर कृष्णाष्टमीमा सम्पन्न गरिन्छ ।’
नेवारहरुले यो राक्षस लाखे र अर्को देवी लाखे भन्ने दुई वटा लाखे जात्रा गर्ने गर्छन् । देवी लाखे चाहिँ शुभ कार्यमा जहिलेसुकै निकाल्ने गरिन्छ, सधैँभरि भइरहन्छ । त्यो चाहिँ मार्ने वा जन्माउने काम गरिँदैन ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...