समाचार

जात्राको महिमा

२०७४ श्रावण १५ आइतबार गते ०७:०८ मा प्रकाशित

इलाममा शुक्रबार लाखे जात्रा शुरु गरिएको छ । नागपञ्चमीका दिनदेखि कृष्णजन्माष्टमीसम्म नेवार जातीको परम्परागत पर्वअनुसार प्रत्येक वर्ष मनाइने लाखेजात्रा यसपटक पनि शुरु गरिएको हो । 
लाखेजात्राप्रति स्थानीय बासिन्दाको मोह निकै गहिरो छ । शुक्रबार लाखेजात्रा निकाल्दा त्यसलाई नियाल्न उपस्थित भएका स्थानीय बासिन्दा (बालबालिकादेखि बृद्धबृद्धासम्म)को भीडले त्यसलाई पुष्टि गर्दछ । लाखेजात्रा रोपाइँजात्रासम्म पुग्दा त इलाम बजारमा ठूलै मेला लागेसरह भीडभाड हुन्छ । रोपाइँजात्रामा गाउँगाउँबाट इलाम बजार जात्रा नियाल्न आउने, त्यो रात बजारमा झाँकी प्रदर्शन गर्ने अनि बास नै हाल्ने प्रचलनले पनि जात्राप्रतिको मोहलाई बुभ्mन सकिन्छ ।
अझ धेरै चर्चा गर्नुपर्दा रोपाइँजात्राको दिन धेरै युवायुवतीको भेटघाट (अहिले भनिने डेटिङ) र इलाम बजारमा साथको बासले युवा जमातमा पनि रोपाइँ जात्रा निकै आकर्षक छ इलाममा । कतिपय युवायुवतीको जोडा मिलाउने र भविष्यमा साथ रहने बनाउने काम नै इलाम बजारको रोपाइँजात्राले गरेको छ भन्दा पनि अन्यथा हुनेछैन ।
यो त भयो सामाजिक सद्भावका कुरा । जात्रा एउटा जातीय परम्परा भएकोले यो चाड पनि हो । यो जात्रा नागपञ्चमीदेखि कृष्ण जन्माष्टमी अर्थात यसपाली साउन महिनाको ३० गतेसम्म हरेक दिन नेवार बस्ती भएको स्थानमा निकालिन्छ । लाखेजात्रा तान्त्रिक विधिअनुसार पूजा गरेर मकुण्डो लगाएर नगर परिक्रमा गरि शुरु गरिएको छ ।
कृष्ण जन्माष्टमीको दिन राती राँकोसहित नगर परिक्रमा गर्दै लोक गीत गाउँदै नारायणस्थानको कृष्णमन्दिरमा कृष्ण जन्म भइसकेपछि लाखेको मुकुण्डो राखेर शिस्नोपानी लगाएर सेलाइने गरिन्छ । यो नेवारी परम्परागत पर्व इलाममा नियमित रुपमा मनाउने गरिएको छ । यसले इलामको एउटा संस्कृति पनि झल्काउने गरेको छ । 
पहिलेपहिले नाग पञ्चमीदेखि कृष्णाष्टमीसम्म दिनहुँ निकाल्ने गरिएको यो जात्रा युवा जमातको रोजगारीका कारण पलायन र अन्य ब्यस्तताका कारण दिनहुँ निकाल्न समस्या पर्नसक्ने देखिएको छ । त्यसले जात्रालाई घटाउने सङ्केत गर्छ । यदि त्यस्तो भयो भने जात्रा आगामी वर्षहरुमा अझ घट्दै जाने र पलायनको बाटो रोज्नेसम्म हुनसक्छ । त्यसैले यो जात्रालाई गएका वर्षहरुमा जस्तै रौनकताका साथ प्रदर्शन गर्न सकियोस् । गएका वर्षहरुजस्तै स्थानीय बासिन्दाको यसमा सहभागिता रहोस् । युवायुवतीदेखि बालबालिका र बृद्धबृद्धासम्म यसको मनोरञ्जन लिने अवसरबाट बञ्चित नहुन् । 
लाखेजात्रा निकालेसँगै बालबालिकाले नक्कली मकुण्डो लगाएर लाखेको जस्तो अभिनय गर्दै उफ्रिन थालेको पाइएको छ । यो पनि लाखेजात्राको आकर्षणको एउटा नमुना हो । यस्तो खालको मोहलाई पनि कायम राख्न जात्राको महिमालाई घट्न नदिऔँ । सम्बन्धित लाखेजात्राका कर्ताहरुले यसप्रति संवेदनशील हुँदै जात्रालाई ऊर्जा प्रदान गर्नसके आगामी दिनमा घट्न सक्ने रौनकतालाई न्यून गर्न सहयोग पुग्नेछ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...