समाचार

इलाममा धान दिवसको अवसरमा रोपाइँ, उत्कृष्ट किसानहरु पुरस्कृत

२०७४ असार २५ आइतबार गते १८:०८ मा प्रकाशित

इलाममा धान दिवसको अवसरमा रोपाइँ, उत्कृष्ट किसानहरु पुरस्कृत

सन्दकपुर संवाददाता 
इलाम, २४ असार :
‘दुई बाली धान खेतीको बिस्तार, आर्थिक सम्बृद्धिको आधार’ भन्ने नारासहित यस पटकको १४औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव शनिबार इलाममा आयोजना गरियो । प्रत्येक वर्ष असार १५ मा मनाइने धान दिवस स्थानीय तह निर्वाचनको कारण शनिबार मनाइएको हो । रोपाइँ इलाम नगरपालिका ९ को चुचेढुङ्गास्थित मेची राजमार्गको नजिकै रहेको खेतमा गरिएको थियो । 
रोपाइँ कार्यक्रममा जिल्लाभरबाट तरकारी बाली, फलफूल बगैँचा, आलु, धान, गहुँ, मकै बाली, बढी माछा उत्पादन समूह र अन्तर समूहका उत्कृष्ट किसानहरुलाई पुरस्कृत गरिएको थियो । यस्तै उत्कृष्ट कर्मचारीहरुलाई पनि पुरस्कृत गरियो । स्थानीय विकास अधिकारी ध्रुव बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका उपप्रमुख शुशिला नेम्बाड, सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेल लगायतले उत्कृष्ट किसानहरुलाई पुरस्कृत गरेका थिए । 
तरकारी बालीमा इलाम नगरपालिका १० गोदकका रमेश ढकाल पहिलो, सूर्योदय नगरपालिकाकी बेदकुमारी तिम्सिना दोस्रो र टंकप्रसाद भण्डारी तेस्रो भए । आलु बालीमा इलाम नपा ५ बरबोटेका मातृका नेपाल पहिलो, माङ्सेबुङ गाउँपालिका १ गजुरमुखीका अमृत लिम्बु दोस्रो र माई नगरपालिका चिसापानीका विष्णु साँवा लिम्बु तेस्रो भइ पुरस्कृत भए । 
फलफूल बगैँचा तर्फ रोङ गाउँपालिका जिर्मलेका लाखमान तामाङ पहिलो, इलाम नगरपालिका ३ सुम्बेकका देसरानी याख्खा दोस्रो र माङ्सेबुङका किशोर राई तेस्रो भए । धानबालीमा चुलाचुली गाउँपालिका साकफाराकी रामकुमारी खड्का पहिलो, माईजोगमाई गाउँपालिका नयाँबजारका ज्ञानु भण्डारी दोस्रो र देउमाई नगरपालिकाका गोविन्द लुइँटेल तेस्रो भए । गहुँ बालीमा देउमाई नपाकै बालकृष्ण निरौला पहिलो, माई नपा दानाबारीका रमेश खड्का दोस्रो र इलाम नगरपालिका ११ सोयाकका धर्मानन्द लिम्बु तेस्रो भए । 
मकैबालीमा माङ्सेबुङ गजुरमुखीकी पञ्चमाया तामाङ पहिलो, देउमाई १ चमैताकी अपिक्षा मुखिया दोस्रो र देउमाई नगरपालिकाका यज्ञप्रसाद आचार्य तेस्रो भए । बढि माछा उत्पादन समूह अन्तर्गत माई नपा दानाबारीका विजयकुमार श्रेष्ठ पहिलो, देउमाई नपाका धर्मेन्द्र नेपाल दोस्रो र इलाम नपाका बीर बहादुर तामाङ तेस्रो भइ पुरस्कृत भए । 
यस्तै अन्तरसमूहमा देउमाई नपाको नवज्योति बचत तथा कृषि तथा पशुपालन समूह पहिलो, चुलाचुली गापाको जनचेतना कृषक समूह दोस्रो र इन्द्रेणी कृषक समूह तेस्रो भए । पहिलो हुने किसानले नगद पाँच हजार र प्रमाण पत्र, दोस्रोले नगद तीन हजार र प्रमाण पत्र र तेस्रोले नगद दुई हजार र प्रमाण पत्र पाए । जिल्ला कृषि विकास कार्यालयअन्तर्गत माई नपाको दानाबारी सेवा केन्द्रमा कार्यरत प्राविधिक सहायक अनिलकुमार शर्मा र माङसेबुङ गापाको बाँझोका नाप्रास कृष्ण प्रसाद ढुंगेल पुरस्कृत भए । 
उक्त अवसरमा जिल्ला कृषि विकास कार्यालय इलामका बरिष्ठ कृषि विकास अधिकृत राम सोगारथ शाहले इलाम जिल्लामा पर्याप्त मलखाद र अनुकुल मौसमका कारण धानको उत्पादनमा यो वर्ष १३ प्रतिशत बृद्धि भएको र समयमै रोपाइँ भएमा आगामी वर्ष पनि उत्पादन बढ्ने बताए । इलाम जिल्लामा १५ हजार नौ सय १५ हेक्टर क्षेत्रमा ५२ हजार आठ सय १६ मेट्रीक टन धान उत्पादन हुने गरेको छ । 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...