space for add
space for add

समाचार

गाईपालन व्यवसायतर्फ युवा आकर्षित

२०७४ बैशाख १९ मंगलबार गते १८:४० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, १९ वैशाख :
 फाकफोकथुम गाउँपालिका २ का रूद्रबहादुर थापाले गाउँमै व्यावसायिक गाईपालन सुरु गरेका छन् । थापाले मिलन गाईफार्म दर्ता गरेर १२ लाखको लागतमा गाईपालन व्यवसाय थालेका हुन् । पाँच माउ गाईबाट व्यवसाय थालेका उनले यसअघि डेरी उद्योग सञ्चालन गरेका थिए । 
उनले एक लाखका दरले गाई खरिद गरेका हुन् । होलिस्टिन जातका गाईले दैनिक १२ देखि १५ लिटरसम्म दूध दिने गरेका छन् । विसं २०६० देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गरेका थापाले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक ३५० लिटर दूध प्रशोधन गर्छन् । 
गाईभैँसीलाई कुँडो, खोलेपानी, घाँस पराल गर्ने कामदारलाई उहाँले मासिक १५ हजार पारिश्रमिक दिएका छन् । ‘विदेशमा कमाइने पैसा यही आर्जन गर्न सकिन्छ,’ उनले भने । उनको डेरी उद्योगबाट उत्पादित घ्यू, छुर्पी झापाको बिर्तामोडमा बिक्री हुन्छ । यहाँको छुर्पी कुकुरको आहाराका लागि अमेरिकासम्म पुग्न थालेको छ । गाउँबाटै छुर्पी प्रतिकिलो ८०० र घ्यू ५०० मा बिक्री हुन्छ ।
पछिल्लो समय यहाँको गाउँ गाउँमा डेरी उद्योग सञ्चालनमा आएका छन् । फाकफोकथुम २ का किशोर शर्माले पाँच माउ गाईपालनसँगै डेरी उद्योग सञ्चालन गरिरहेका छन् । दुई वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका शर्मा गाउँमै मनग्य आम्दानी गर्न सफल भएका छन् । मासिक २० हजारदेखि २५ हजारसम्म आम्दानी हुने गरेको शर्मा बताउछन् ।
जिल्ला पशुसेवा कार्यालयले व्यवसाय सञ्चालन गर्न युवाका लागि अनुदानको व्यवस्था गरेको छ । जिल्लामा दैनिक ५० हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताए ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...