समाचार

अन्तुडाडामा सूर्योदय हेर्नेको भीड

२०७३ कार्तिक ९ मंगलबार गते १९:१९ मा प्रकाशित

अन्तुडाडामा सूर्योदय हेर्नेको भीड

सन्दकपुर संवाददाता
श्रीअन्तु, ९ कात्तिक :
बर्षाद् सकिएर सुख्खा मौसम सुरु भएसँगसँगै श्रीअन्तु र समाल्बुङ गाविसमा अवस्थित अन्तुडाँडाबाट सूर्योदय हेर्न आउने पर्यटकको भीड बढ्न थालेको छ । बितेको दशैँ सकिए लगत्तै घाम लाग्ने र आकाश खुलेपछि डाँडाबाट सूर्योदयको दृश्य राम्रो देखिन थालेपछि पर्यटकको सङ्ख्या पनि ह्वात्तै बढेको हो ।
नेपालकै सबैभन्दा पूर्वमा पर्ने अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले टाढाटाढाबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेको पाइएको छ । गएको सोमबार बिहान सूर्योदय हेर्न अन्तुडाँडा पुगेकी सुनसरी तरहराकी सुष्मा सिंहले अन्तुडाँडाबाट सूर्योदय राम्रो देखिने सुनेकाले आएको बताइन् । परिवारसहित डुल्न इलामको अन्तुमा आइपुगेकी र बिहानका राती नै डाँडामा पुगेकी सुष्माले डाँडाबाट देखिएको सूर्योदय आपूmलाई अत्यन्तै मनमोहक लागेको बताइन् । 
‘साह«ै राम्रो देखिँदो रहेछ । धन्न आइएछ जस्तै भयो’, उनले घाम झुल्किएको भागपट्टि देखाउँदै भनिन्, ‘उ त्यो टिष्टा नदी रे, पहिले त्याँपर्तिर रेखा देखियो । त्यो रेखा चम्किलो हुँदै गयो । त्यसपछि त्यही रेखाको बीच भागमा टपरा, भड्डू, थाल जस्तो देखिँदै देखिँदै अलिक मास्तिर गोलो रातो घाम देखियो । पहिले रातो देखिएको घाम चम्किलो हुँदै केहीबेरमा अन्यत्रबाट देखिएजस्तै भयो ।’
सुष्माले जस्तै झापा बुधबारेबाट आइपुगेका प्रविण अधिकारीले पनि सूर्योदयको दृश्य आकर्षक देखिएको बताए । ‘कहिलेकाहीँ त राम्रो देखिँदैन भन्थे, आज त ओहो ! साहै« मज्जाको देखियो । समुद्रबाट बिस्तारै केही झिकेर बाहिर राखेजस्तै देखियो’, प्रविणको भनाई थियो । साथीभाईसँग डुल्न आएका उनले सूर्योदय राम्रो देखिएकै कारण अर्कोपटक घर परिवारलाई लिएर अन्तुडाँडा आउने बताए ।
सोमबार सुष्मा र प्रविण जस्तै इलाम जिल्ला बाहिरबाट २५ जनाको हाराहारीमा र इलाम भित्रका विभिन्न गाविस र नगरपालिकाका दुईसय जनाभन्दा बढी आन्तरिक पर्यटक अन्तुडाँडामा घाम झुल्केको हेर्न पुगेका थिए । दशैँ लगत्तैदेखि यसैगरि पर्यटकको भीड बढ्दै गएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए । उनले भने, ‘अहिले त अरु बार तीनचार सय जति पर्यटक हुन्छन्, शुक्रबार र शनिबार हेर्ने हो भने पाँचसयभन्दा बढी हुन्छन् ।’ डाँडामा आएका पर्यटकलाई चिया र प्याजी बेच्न डाँडामा पुगेकी स्थानीय गीता खड्काले पनि दैनिक तीनसयभन्दा बढी पर्यटक त्यहाँ पुग्ने गरेको बताइन् ।
गीताका अनुसार एकै नाशले सूर्योदयको दृश्य सधैँ नदेखिँदा कतिपय पर्यटकले भने सूर्योदय दृश्यावलोकनको मज्जा लिन पाउँदैनन् । कहिलेकाँही घाम झुल्किएको देखिने भागमा बाक्लो हुस्सु लाग्ने हुनाले सूर्योदय देख्न नपाइने उनको भनाई थियो । यसवर्ष दशैँपछि एक हप्ता जति निकै राम्रो देखिएको पनि उनको भनाई थियो । हिजो मंगलबार भने हुस्सुले गर्दा सूर्योदय देख्न नपाइएको स्थानीय महिला हरि खड्काले बताइन् । उनले भनिन्, ‘आज (मंगलबार) चाहिँ राम्रो भएन । हुस्सु बाक्लै थियो । घाम माथि आइसकेपछि मात्रै देखियो ।’
बर्षाद सकिएपछि उदाउँदो घाम मैदान (तराई भाग)तिरबाट झुल्कने र सम्म स्थानबाट झुल्कँदा देखिने दृश्य क्षितिजबाट विभिन्न आकृतिसहितको हुने भएकाले यो मौसम सूर्योदयको दृश्यावलोकनका लागि सबैभन्दा उचित समय हो । अध्यक्ष आले भन्छन्, ‘बर्षाद्को समय अर्थात लामा दिन भएका बेला घाम पहाडि भागतिरबाट उदाएको देखिन्छ । यो समय(कात्तिक मङ्सिर)मा भने पहाडतिरबाट पनि होइन, मधेशको धेरै तलपनि होइन ठिक्क पहाड छाडेर तराइ भेगबाट उदाएको देखिने भएकाले उघ्रिएको मौसममा सूर्योदय हुँदा क्षितिजमा विभिन्न आकृति देखिने हुन्छ ।’
अन्तुडाँडामा घाम झुल्केको दृश्यावलोकनका लागि पुग्ने पर्यटकका लागि डाँडामा हालसालै एउटा तीनतले टावर पनि निर्माण गरिएको छ । पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा निर्मित टावरबाट दुईसय पर्यटकले दृश्यावलोकन गर्न सक्ने केन्द्रले जनाएको छ । टावरबाहेक डाँडामा पक्की प्याराफिट पनि निर्माण गरिएको हुँदा बसेर सूर्योदय दृश्यावलोकन गर्न सकिन्छ ।
अन्तुडाँडाबाट देखिने सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा अन्तु पोखरी, गुफा पाताल, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण यहाँ त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेका छन् । सूर्योदय हेरेर अन्तुपोखरी पुगेका इलाम सुम्बेकका राजु रेग्मीले भने, ‘यहाँ आएपछि जताततै राम्रै मात्र देख्न पाइन्छ । सूर्योदय, यो अन्तुपोखरी, यी वरिपरिका चियाबारीका डाँडा हेर्नुस् न, कत्ति रमाइलो ठाउँ ।’ पर्यटकलाई राख्ने होमस्टेमा भएको स्वागत सत्कार पनि बिर्सन नसकिने भएको अनुभव सुनाए ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...