space for add
space for add

समाचार

शुभकामना आतंक, दसैं र सपनाहरू

गते ००:०० मा प्रकाशित

शुभकामना आतंक, दसैं र सपनाहरू

लक्ष्मीप्रसाद मिश्र

कसैले भनेझैं अब केही दिन शुभकामना आतंक मच्चिने छ, दसैंका नाममा । सामाजिक सञ्जाल फेसबुकमा अनेक तौर तरिकाका शुभकामना आतंकले भरिएका सामग्री पोष्ट, ट्याग, सेयर र अपलोड हुने छन् । मोवाइल मुखै नबिसाइकन भनेझंै गरी निरन्तर बजिरहनेछ, शुभकामनाका भ्वाइस र टेक्स म्यासेजका रुपमा ।
अनि कसरी मनाउने यसपालिको दसैं ? के छ दसैं योजना ? दसैं कसरी आउदैछ वा कस्तो तयारी हुँदैछ ? खानपान, तास वा यस्ता असंख्य प्रश्नहरू प्रत्येक गल्ली, सडक, चियापसल र जमघटहरूमा ओइरिने छ म माथि ।
मलाई थाहा छ, यसैबीचमा अनेक योजनाहरू सुनिने छन् ,फ्राई, भुटन, सेकुवा तीनपाने र अरु पनि । कति दिन, को सँग, कतिका दरमा वा कसरी समय व्यवस्थापन गर्ने माइत, मावली वा ससुराली जाने । म यी कुनै भीडमा रहने छुइन । मलाई थाहा छ, दसैं हिन्दु वा सनातनहरूको ठूलो चाडमध्येको एक हो । म तिनै समुदायमध्येको एक भएर पनि फ्राई भुटनको योजना वा मावल, ससुराली जानेको समय व्यवस्थापनको चटारो र हतारो केही छैन । मलाई फरक पार्नेवाला छैन यी कुनै पनि चिजले । मलाई त्यत्रो कुनै मोह छैन दसैंको,  न त कसैको शुभकामना ग्रहण गर्ने ‘मुड’ मा छु न कसैलाई दिने नै मुडमा ।
उल्लासका साथ मड्केनाबाट कमेरो माटो ल्याएर घर पोतेर चिटिक्क बनाउने । पुराना ब्याट्री फुटाएर ढोकामा लगाउने । घर वरपर सफा गर्ने, अनि गाँउभरिका मान्छे भेला भएर बाटो सफा गर्ने, खाल्डाखुल्डी पुर्ने । बालापनका दसैंका सम्झनाहरू मस्तिष्कमा बेलाबेला चलचित्रका रिल घुमेझंै नघुम्ने पनि होइन, घुमिरहन्छन् । म सानो छँदा नै मीठो खाने र राम्रो लगाउने भनेकै दसंैमा मात्रै थियो ।
दसैंका बिचमा दसैंको योजना नहुनेहरू थुप्रै छन् म जस्तै । म यो दसैंमा गत वैशाख १२ को महाभूकम्पपछि दस हजार भन्दा बढी आफन्त गुमाएका परिवारका ती सदस्यहरूलाई सम्झिरहेको छु । अनि सम्झिरहेको छु,अधिकार प्राप्ति नामको आन्दोलनमा एम्बुलेन्सबाट झिकेर महोत्तरीमा हत्या गरिएका .प्रहरी थमन विकका परिवारलाई ।
बिहान उज्यालो नहँुदैदेखि नै रेडियो, टेलिभिजन र पत्रपत्रिकामा प्रमुख स्थान पाउने शुभकामना आतंकले कति मर्माहत बनाउला यी परिवारहरूलाई । कति पीडावोध हँुदो हो उनीहरूलाई र उनीहरू जस्तै पीडाको पहाड बोक्नेहरूलाई ?
यी बाहेक सडक दुर्घटनामा यतिको मृत्यु, उति घाइते लगायतका समाचारका हेडलाइन पनि यही दसैंमा मैले सुन्नु, पढ्नुपर्ने छ, अघि–पछि जस्तै ।  तास, जुवामा रुपैयाँ हार्ने र मार्नेको लामो कथा पनि सधैंको जस्तै आइरहन्छ ।
पशु अधिकारकर्मी र पशु न्यायाधीशहरू (दोषी र निर्दोश पशु छुट्याउँदै निर्दोष पशुको हत्या नगर्न आग्रह गर्नेहरू भएकाले पशु न्यायाधीश भनेको हो)को सडक नाटक पनि  सुन्नुपर्ने छ मैले । दोषी र निर्दोश पशु छुट्याउने छन् उनीहरू । अनि निर्दोष पशुको हत्या नगर्न नारा लाग्नेछन् । प्रेस विज्ञप्ति छापिने छ, सूचना प्रवाह गरिने छ । वर्षभरि नै ‘कृषि÷पशुपालनबाट यति आम्दानी भयो’, ‘कुखुरा पालन’, ‘बाख्रा पालन’,  ‘बंगुर पालनबाट यति गाउँलेले जीवनस्तर उकासे’  भनेर समाचार लेख्ने÷पढ्ने पत्रकारहरू पनि त्यो निर्दोष पशु हत्या गर्नु हुन्न भन्ने लाइनमा थपिने छन्, जुलुसको शोभा बढाउनेदेखि भोलिपल्टको गजबको ‘कभरेज’को आशमा । म सधैंको जस्तै यसपल्ट पनि मौन बस्ने छु, प्रतिक्रियाविहीन । सधंैजस्तै दोषी र निर्दोश पशु छुट्याउने मापदण्ड थाहा नपाएर जिज्ञाशु बन्छु तर मलाई थाह छ, मेरो जिज्ञाशाको हल यसपल्ट पनि हुने छैन यसअघि जस्तै । यो सँगै दसैं मान्नकै लागि पाँच सय रुपैयाँ ब्याजमा पनि कसैले नदिएको, नपत्याएको पीडा पनि थुप्रै गाउँले काका र बडाबाहरूको मैले सुन्नु छ यसपालि । सधैको जस्तो पश्चिमी नेपालको  खाद्य संकटको पीडा नियमित स्तम्भ नै भइसक्यो । अझ यसपालि त अघोषित नाकाबन्दी र पेट्रोलियम अभाव र यसले जन्माएका अनेक समस्या पनि थपिने छन् । तडकभडक देखाउने, मात्ने, बौलाउने, झगडा गर्ने, कुटाकुट यी सबै नियमित स्तम्भ हुन् दसैंका, जसरी अघिल्ला पटक पनि थिए ।
मैले बुझेको दसैं, मैले पाउने गरेको दसैंभन्दा विल्कुलै अलग छ । मेरो दसैंमा भुटन, सेकुवा केही हँुदैनन् न त बोत्तल नै हुन्छन् । माइत, मावल वा ससुराली पनि छैनन् मेरो दसैंको सूचीमा । न त बजारमा खुलमखुल्ला केटाकेटीले र अलि गोग्य रुपमा ठूलाले चर्चा गर्नेे दक्षिणा र कोसेलीको सूची नै छ मेरो दसैंमा ।
मेरो दसैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दस दिन पूजापाठ, ब्रत र उत्सवको   रुपमा मनाइन्छ । दसैं प्रतिपदा (घटस्थापना)देखि पूर्णिमा (कोजाग्रत)सम्म पन्ध्र दिनसम्म मनाइने भए पनि पहिलो नौ दिनलाई नवरात्रिको रुपमा मनाउने मेरो दसैंको स्वरुप हो ।    भगवान रामचन्द्रले १४ वर्षको वनवासपछि लंकाका राजा रावणको बध गरेको तथा माता दुर्गाले महिषासुर नामक दैत्यलाई बध गरेको किम्वदन्तीलाई आधार मान्दै मानव जातिको कल्याण र असत्य माथि सत्यको विजय भएको प्रतीकको रुपमा मनाउने चाडको नाम हो मेरो दसैं ।  भगवान रामचन्द्रले गरेको विजय वा दुर्गामाताको विजय होस् दुबैमा भएको समानता चाहिँ शक्ति पूजा हो वा त्यसको पर्व हो । अझ दसैंले मानिसले गर्ने दस प्रकारका पाप – काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्यागको प्रेरणा दिने कतिपय धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसारको सूचीमात्रै छ मेरो दसैंमा ।
यसबाहेक टाढा रहेका आफ्ना आफन्तसँग भेटघाट र मान्यजनबाट आशीर्वाद लिने पर्वका रुपमा पनि दसैंलाई मनाइन्थ्यो । तर अहिले संस्कारको रुपमा रहेका यी सबै मान्यता त्यागेर तडक भडकका साथमा  मनाइने दसैंको कुनै मोह छैन ममा ।
पर्वको मूल मर्म र रिवाज बिर्सिएर ‘उन्मक्त हुने प्याकेज’ होइन मेरो दसैं । जनै लगाएर मदिराले लठ्ठिएजस्तो । त्यसो त मेरो अर्थ जनै नलगाउनु होस् होइन, अथवा मदिरा सेवन नगर्नुहोस् नै । मेरो कुरोको मर्म यति हो, जनै लगाउने भए मदिरा सेवन नगर्नुहोस् वा जनै नलगाउनुहोस् ।
दसैंमात्र होइन, चाडवाडले वर्षभरिको थकान, पीडा अनि आलस्यतालाई बिस्र्याउन सहयोग गर्नुपर्ने हो । ऊर्जा, उत्साह र भेटघाटसँगै रमाइलो गर्ने समग्र चाड मेरोे दसैं हो तर दसैं आएर पहिलाभन्दा थप पीडा, ऋण र थकित बनाउँछ भने त्यस्तो दसैंको त्यत्रो महत्व र तात्विक अर्थ के रहला र ? खुसी दिन त सकेन नै तर पीडा चै नथपिदिनु नि ! पीडामाथि पीडा र चोटमाथि चोट थपेर जाने दसैं त नआएकै बेश !
पर्व मनाउने नै हो भने त्यसपर्वले बोकेको मान्यता पनि सँगै लान सक्नुपर्छ नत्र पर्व मनाउनुको कुनै महत्व हँुदैन मेरो लागि । विहानैदेखि ‘तीनपाने’मा रम्ने बाहुनले जनै लगाए पनि नलगाए पनि खास फरक पर्दैन । हुन त फागु पूर्णिमाको दिन सुर्योदय हुनुपूर्व नै रङ्ग खेल्दै हिँड्ने हामीलाई यस्ता पर्वको मान्यताभन्दा पनि रमाइलो र मोजमस्तीको बहाना बढी चाहिएको हुन्छ । अघिल्ला वर्षको भन्दा कुनै नयाँ उपलब्धी, नयाँ उचाइ र सफलताविहीन यो दसैंलाई असंख्य कोरा सपनासँग म कसरी सत्यको विजयको रुपमा मनाउन सक्छु र ?
अघिल्लो दसैंको दुई दिनअघि, दसैंमा र दसैंको दुई दिनपछिको मेरो दिनचर्यामा केही फरक थिएन र यसपल्ट पनि हुने छैन । दसैं वा दसैंबाहेकका मेरा दिन सामान्य दिनचर्या भन्दा फरक नहुने भएपछि दसैंको के महत्व वा रौनक र मेरा लागि ?
दसैं हिन्दुहरूको महान चाड हो हामी सबैलाई थाहा छ । तर एउटा कुरा हामी कतिलाई थाहा छ नेपालका र विश्वका सबै हिन्दुमध्येमा कतिको घरमा दसैं उत्साह सँगै धुवाउँछ ? कतिको घरमा दसैंले हर्ष र उल्लास थप्छ ? के हामीले कहिल्यै यसरी सोचेका छौं ?
हुन चाहिँ दसैंको यो सूची तयार गरिरहँदा मेरो आँकलन उच्चपदस्थ व्यक्तिको नेपाल हेर्ने दृष्टिकोणको ठ्याकै विपरीतजस्तो मात्र भयो होला । जो चिल्लो सडकले भेट्ने नेपालको भूगोलमा मच्चिरहेको उदण्डलाई मात्र दसैंं भन्छन् । अथवा उनीहरूकै जीवनका कथा पनि यहाँ पार्न सकिनँ होला ।
कतार पसेको नेपाल, काख रित्तिएको नेपाल, मुम्बईको कोठरीको नेपाल, भोकै बसेको नेपाल, खान नपाएको नेपाल, छिमेकीको मीठो देख्न नसकेर रुँदो नेपाल, रंगिन नपाएको नेपालमा मैले उत्साह छ भने भने अथवा उत्साहको तामझामको नाटकमा लागें भने उनीहरूले सघाउलान् या धिक्कार्लान् ?
एउटा नेपाली रातो टाई लगाउँछ, जुत्तामा पोलिस अरुलाई नै गराउँछ र बोर्डिङ स्कुल जान्छ, अर्को नेपाली होटलका भाँडा माझ्छ, के दसैंं यी दुईटै नेपालीमा छ ? उमेर एउटै र चञ्चलता एउटै छ भने, भोगाइ एउटै दिन नसक्ने चाडको के अर्थ ?
चाड मान्नु भनेको के हो ?सबै खुसी हुनु । रमाउन सक्नु । वा क्षणिक खुसीको लागि तनावको बिजारोपण गर्नु । झन्डै आधाजसो नेपाली क्षणिक खुसीको लागि तनावको बिजारोपण गर्छन् । के यो साँच्चै दसैं हो ?
यसपल्टको दसैंमा मसंँ अरुबेलाको भन्दा फरक र कोराबाट व्यवस्थित हुनै लागेका सपनाका असंख्य चाङ भने छ । व्यवस्थित किन भने वर्षौं अघिदेखिका मेरा कोरा सपनाको चाङमा स्वामित्व लिने अरु कोही थपिएको छ मेरो जीवनमा । अनि मेरा कोरा सपना भर्खरैबाट हाम्रो भएको छ, जुन सपनाले दसैंलगत्तै जन्म लिँदैछ, केही महिनाअघिको भूकम्पपछिको तातोपानी नाकानजिकै जस्तै पहिरो नै गयो भने पनि तिहारसँगै हाम्रो सपनाको चाङ जन्मन सुरू गर्नेछ । माघ महिनासम्ममा हामीले नै जन्माएका करिब आधा दर्जन सपनाहरूलाई हुर्काउने कठीन तर सम्भव काममा मन, बचन र कर्मले लागिरहेका हुनेछौं।
हुन त एक किसिम जीवन सपनाको चाङ नै हो तर यसपल्ट अरुका सपनाका चाङमाथी मैले पनि सपना थपेको हो । अर्थात् अबका सपनाका चाङ मेरा वा अरुका मात्रै होइनन्, ती त हाम्रा सपनाको रुपमा जन्मने अन्तिम तयारीमा छन् अनि हामी त्यसैको प्रसव वेदनामा ।
हाम्रो सपनाको चाङमा कुनै महान योजना छैन, न त कुनै महान लक्ष्य । स–साना  सपनाको व्यवस्थित रुपमात्र छ सपनाका चाङमा । जुन दिन ती सपना टुकुटुकु हिँडेको मेरै आँखाले देख्ने छु, त्यही दिन मेरा लागि दसैं हुनेछ, अनि दसैंको मान्यताकै साथमा जीवनको आलस्यता माथि विजय प्राप्त गरेको ठान्ने छु ।   





 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...