space for add
space for add

समाचार

स्वाधिनताका लागि समृद्धि, राष्ट्रिय इच्छा शक्तिको आवश्यकता

गते ००:०० मा प्रकाशित

स्वाधिनताका लागि समृद्धि, राष्ट्रिय इच्छा शक्तिको आवश्यकता

विष्णुप्रसाद काफ्ले
डेढ हप्ता अघिदेखि भारतीय पक्षबाट मुख्य आपूर्ति नाकाहरुमा गरिएको अवरोधका कारण आम मानिसको जनजीवन अस्तव्यस्त र कष्टकर बन्दै गएको छ । झण्डै सातहप्ता देखि आन्दोलनको भूमरीमा फसेको मधेशमा गहिरीएको सङ्कट समाधानको भरपर्दो सुत्र अझै फेला परेको छैन । अघोषित नाकाबन्दीको प्रत्यक्ष प्रभावका कारण पहाड अझै सकसपुर्ण बन्दै छ । इन्धनको हाहाकारले सम्पुर्ण क्षेत्रलाई ‘प्यारालाइज’ गर्न थालेको छ । उद्योगधन्दा कलकारखाना ठप्प छन् । यथार्थमा राष्ट्रिय अर्थतन्त्रसँगै समग्र जनजीवन थलिदै गएको छ । दुई दशक बढी सकस बेहोरेको मूलुकले संविधानसँगै सम्वृद्धिको आशा जति लिएको थियो अहिले फेरी टाढिदै गएको त हैन ? भन्ने आशङ्काहरु आम नेपालीको मनमा पलाउन थालेका छन् ।

संविधान जारीसँगै नेपालको राजनीतिक मुलधारबाट मधेश अझै टाढिदै गएको छ । छिमेकीलाई सधैं आफ्नो प्रभावमा राखिरहन चाहने भारतले सामान्य कुटनीतिक मान्यता र पारस्पारिक द्विपक्षीय सम्बन्धलाई विर्सदै भूपरिवेष्ठित मुलूकको पारवाहन अधिकार कुण्ठित गराउने निर्लज्जता प्रस्तुत गरेको छ । मधेशका आन्दोलनकारीहरुले यसलाई भारतीय सहयोगका रुपमा लिएको देखिन्छ । उनिहरु भन्दैछन्–भारतले नाकाबन्दी गरेको हैन यो त हाम्रो आन्दोलन हो । त्यसैले भारतीय अघोषित नाकाबन्दी प्रति आन्दोलनकारी मधेशीहरु मौन छन् या भित्री रुपमा समर्थन गर्दैछन् । अर्कातिर राष्ट्रिय राजनीतिको मूलधार, तिनका नेतृत्व र सरकारले यसलाई स्वाधिनतामाथिको प्रहारका रुपमा लिएका छन् । मधेश आन्दोलनको प्रभाव नरहेका र कम रहेका भूभागहरुमा भारतीय कदमको व्यापक र आक्रोशपूर्ण विरोधहरु भइरहेका छन् । बरु नाकाबन्दीको प्रशव कष्ट सहौंला तर नेपाली राष्ट्रियता र स्वाधिनता माथिको आक्रमण सह्य हुदैन भन्ने आममनोविज्ञान ह्वात्तै बढेकोछ ।

इतिहासलाई हेर्दा यस्ता घटना धेरै पटक भएका छन् । आम मानिसको जनजीवन र राष्ट्रिय अर्थतन्त्र भारतीय सम्बन्धसँग प्रत्यक्ष आश्रित देखिएपनि राष्ट्रिय सवालमा जनता कहिल्यै निहुरिएका छैनन् । बरु राजनीतिक नेतृत्व क्षणिक स्वार्थका आडमा ढुलमुल भएका होलान् । यो अर्को श्रृंखला मात्रै हो । संविधान जारी गर्ने क्षण देखि सतहमा देखिएको भारतीय हस्तक्षेप पारवहन अवरोध सम्म आइपुग्दा नेपालमा भारत विरोधी भावनाहरु उत्कर्षमा पुगेका छन् । कहिल्यै कसैको पराधिनता स्वीकार नगरेको र उपनिवेश नबनेको नेपालमा यस्ता प्रतिक्रिया र भावना आउनु कुनै अनौठो होइन । राष्ट्रियताप्रति नेपालीहरु निकै सम्वेदनशील छन् भन्ने यसले सिद्ध गरेको छ । अहिलेको भारतीय अघोषित नाकाबन्दीले नेपाली जनताको मनमा राष्ट्रियता र स्वाधिनताको भोक पक्कै चुल्याइदिएको छ । आफ्नो माटोको माया सागर झै उर्लिएको छ । शायद भारतीय हस्तक्षेप यो समयमा नभएको भए यो रुपमा पोखरित हुने थिएन होला । लामो समय इलाममा प्राध्यापन गरेका प्राध्यापक डा. नृसिंह कुमार खत्रीले कुनै कार्यक्रममा भनेको सम्झना छ–वेदनाले चेतना दिन्छ, शायद यस्तै होला ।

अहिलेको भारतीय नाकाबन्दीबाट नेपाली जनजीवनमा देखिएको व्यापक र कष्टप्रद असर हाम्रो अधिक भारतीय परनिर्भरताका कारण देखिएकोमा कुनै अतिशयुक्ति नहोला । नत्र एकाध हप्ताको पारवहन अवरोधबाट यति धेरै छटपटाउनु पर्ने थिएन होला । विगतबाट पाठ सिकेर हामीले आत्मनिर्भरता वृद्धि गर्ने तर्फ पाइला चाल्न त सकेनौं सकेनौं, कुनै न कुनै बेला यस्तो बेला आउला भनेर विकल्पको खोजीमा समेत ध्यान दिन सकेनौं । अहिले देखिएको इन्धनको परनिर्भरता सिर्जित परिणामको आँकलन अलिकति मात्रै भएपनि गरिदिएको भए यतिको कोकोहोलो गर्नु पर्दैन थियो होला । छोटो अवधिमा नेपालमा धेरै राजनीतिक प्रणालीको प्रयोग र परिवर्तनहरु भए तर राजनीतिक क्रान्तिसँगै आर्थिक रुपान्तरण र सवलीकरणतर्फ उचित ध्यान दिन नसकेको परिणाम पनि हो यो । उदारीकरणको बहानामा विकास पूर्वाधार र उद्योगधन्दाहरुलाई परनिर्भर बनाइए । काठमाण्डौंमा विजुलीबाट चल्ने ट्रली बसलाई सक्षम बनाउदै मुख्य शहरहरुमा विस्तार गर्न सकिएको भए आज रातभरि लाइन बसेर पाँच दश लिटर डिजेल पेट्रो थाप्नु पर्ने बाध्यता हुदैनथ्यो होला । केहि समय अघि सजिवनको तेलबाट गाडी गुड्यो भनेर धेरै चर्चा परिचर्चा भयो सरकारले त्यसलाई व्यवस्थित अध्ययन र प्रविधिको विकास गरेको थियो भने आज केहि हद सम्म भएपनि समस्याको आकार खुम्चेको हुन्थ्यो होला । खेर गइरहेको जलस्रोतलाई विद्युत उर्जा विकासबाट विद्युतीय सवारी साधनहरुको प्रयोगको संस्कृति बनाइदिएको भए आज अभावको रोदन देखाउनु पर्ने थिएन होला । तर स्वदेशी उद्योगधन्दालाई संरक्षण गर्न, स्वदेशी पुँजी प्रवद्र्धन गर्न, यहाँको अपार प्राकृतिक स्रोत सम्पदाको सदुपयोग गर्न र मानवीय पुँजीलाई राष्ट्र निर्माणको अभियानमा एकत्रित गर्न, आत्मनिर्भरतामूखी उद्यमशीलताको विकास र सोही अनुरुपमा इमान्दार इच्छा शक्तिको निर्माण हुन नसक्दाको अवस्थाले नै सबैलाई प्रताडित बनाएको हो । हामीले राजनीतिक परिवर्तनका लामा अवधिहरुमा विकास निर्माणका कार्य त धेरै गर्यौं तर हाम्रो भूराजनीतिक धरातल र सम्भावित सङ्कट टार्न सक्ने आन्तरिक सक्षमता र सामथ्र्यको निर्माण गर्ने तिर कहिल्यै लागेनौं ।

एक्काइसौं शताब्दीमा राष्ट्रिय स्वाधिनता केवल भावनाको आडमा कायम हुन सक्दैन । सङ्कीर्ण र परम्परागत राष्ट्रबादको नाराले मात्रै स्वाधिनता जोगिदैन । राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई थेग्ने मेरुदण्ड भनेको आर्थिक समृद्धि हो । नेपालले आर्थिक समृद्धिमा फड्को मारेको भए भारतले अहिले जसरी हलुका रुपमा नाकाबन्दी वा हस्तक्षेप गर्न सक्ने थिएन । निहित र क्षणिक स्वार्थ सिद्धिका लागि कहिले हामी चाहिने भन्दा बढी भारत प्रति आशक्त, निर्भर र अनुगृहित भयौं त कहिले घरभित्रको झगडा मिलाउन हार गुहार गर्दै दिल्लीलाई सञ्जीवनीको बुटी खोज्न प्रेरित गर्यौं । जसले गर्दा भारतले पनि नेपाललाई आफ्नो इशारामा चल्ने सानो भाईकै रुपमा लिने अवस्था बढ्दै गयो । नेपालीहरु वीचकै भावनात्मक एकता विभाजित हुदै जादाँ भारतीय हस्तक्षेपकारी मनोबल अझै बढ्न थाल्यो । राष्ट्रियताका पहरेदार भनेका जनता हुन् यहाँका राजनीतिक शक्तिहरु नै हुन् । तर यसैमा देखिएको बेमेल र द्वन्दले अन्ततः नेपालको सुक्ष्म व्यवस्थापनमा समेत भारतीयहरु हावी हुने वातावरण बन्यो । अब यसलाई ‘करेक्सन’ गर्ने उपाय भनेको राष्ट्रिय एकता सहितको माटो सुहाउँदो र तीब्र आर्थिक रुपान्तरण नै हो । आर्थिक सक्षमता र आत्मनिर्भरतामुखी स्वाधिन अर्थव्यवस्थाको विकास नगरी यो जञ्जिरबाट उम्कन सकिदैन ।

विविधतापुर्ण हावापानी, अपार प्राकृतिक सम्पदा, तीब्र आर्थिक वृद्धि र प्रगतिको फड्को मारिरहेका दुई ठुला छिमेकी र स्माभिमानी जनता रहेको हाम्रो देशको आर्थिक समृद्धि र रुपान्तरण अप्राप्य कुरो होइन । साच्चै लागि पर्ने हो भने इन्धन लगायतका अहिले परनिर्भर देखिएका क्षेत्रलाई पनि कम भन्दा कम निर्भरतामा सिमित गर्न सकिने जलविद्युत, सौर्य, जैविक लगायतका वैकल्पिक उर्जाको विकासका विकल्प तयार गर्न धेरै समय लाग्दैन । वास्तवमा राजनीतिक सामाजिक एवम् सास्कृतिक विकासको मुटु भनेको पनि आर्थिक प्रगति नै हो । आर्थिक रुपले सक्षम देशले मात्रै राष्ट्रिय स्वाधिनता, पहिचान र सार्वभौतिकताका लागि लड्न सक्छ । हाम्रो जस्तो देशमा आर्थिक समृद्धि खोज्न कहिँ जानु पर्दैन बरु यो हामी भित्रै छ हाम्रै वरिपरि छ जसलाई राष्ट्र निर्माणमा समर्पित इमानन्दार एवम् परिवर्तित सकारात्मक सोच, इच्छाशक्ति, तत्परता र सिर्जनशीलताबाट माटो सुहाउँदो उद्यमशीलताको विकास गरी हासिल गर्न सकिन्छ । हामीले देशका लागि के गर्न सक्छौ ? हाम्रो क्षमताको सही उपयोग कसरी गर्न सक्छौ ? हाम्रा अपार प्राकृतिक, सामाजिक, सास्कृतिक एवम् मानवीय पूँजीलाई कसरी आर्थिक रुपान्तरणमा लगाउन सक्छौ ? यो हामी आम नागरिकहरुले मनन् र व्यवहारमा ल्याउनु पर्ने प्रश्न हो ।

अब नेपालको विकासलाई नयाँ सोच र रणनीतिबाट अघि बढाउनु पर्दछ । परम्परागत नीति योजना र विकास कार्यले धेरे गरेजस्तो लागे पनि अप्ठ्यारो पर्दा काम लाग्दो रहेनछ भन्ने देखियो । नारा घन्काएर मात्रै स्वाधिनता जोगिदो रहेनछ, पहिला अरु माथिको निर्भरता घटाउदै जाऔं, आत्मनिर्भर हुनतिर लागौं । यसका लागि बृहत राष्ट्रिय इच्छाशक्ति र रणनीतिकासाथ आर्थिक समृद्धिको बाटोमा अग्रसर हुनु नै अहिलेको आवश्यकता हो । स्वाधिनता माथिको प्रहारलाई भावना र चिन्तामा बगेर होइन अब कालन्तरसम्म नडगमगाउने स्वाधिनताका लागि देशलाई केन्द्रमा राखेर व्यवहारिक चिन्तन गरौं । अहिले मुलुकभर मुखरित भएका राष्ट्रिय भावनालाई विभाजित हैन विकशित रुपमा सक्षम स्वधिनता सहितको नव नेपाल निर्माण तर्फ रुपान्तरित गरौं ।

                                                      bishnukafle.ilam@gmail.com

 

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...