समाचार

जीवनहरी शर्माको तिलक प्रथा

गते ००:०० मा प्रकाशित

जीवनहरी शर्माको तिलक प्रथा
इलामेली माटो बालीनालीका लागि मात्र मलिलो छैन अपितु शिक्षा, ज्ञान विज्ञान, कलासाहित्य र राजनीतिकालागि समेत मलिलो सावित भएको छ । यस भूमिबाट उठेर राष्ट्रिय स्तर अझ अन्तर्राष्ट्रिय स्तरमा विविध क्षेत्रमा नाम कमाएका धेरै ब्यक्तित्वहरु छन् । ख्याति भित्रिने र बाहिरिने कुनै लक्ष्मणरेखा हुदैन । जिल्लाको सीमा पार गरेपछि यस्ता ब्यक्तित्वहरुले आफु जन्मिएको डेढ हात जमिनलाई बिर्सन पुगेर मर्दाको सातहात कपडाको मोहमा फसेका हुन सक्लान । कालक्रमले कस्लाई कहाँ पुर्याउछ शायद यो नियति कै खेल हो, नेपाली हुनुको बाध्यात्मक परिस्थिति हो तापनि मोहवश जन्मस्थानलाई मनको अन्तर कुनामा राखेर सबै इलामेलीले इलामको माया गरेका होलान् र मार्ने छैनन् भन्ने मेरो सोचाइ छ । मानवीय सचेतनाले परिपूर्ण कल्पना दौडने मार्गमा उज्यालोको आवश्यकता पर्दैन । सद्भावना नै प्रकाशमान ज्वाला हो जसले सांसारिक प्राणी सबै हिड्ने मार्गलाई जाजल्वमान बनाइदिन्छ । हरेक जीवको निश्चित आयु छ । सरदर ६० वर्षे नेपाली आयुमा आफु र आफुले माया गरेका ठाउँलाई एउटा भब्य महलमा परिणत गर्न कम्तिमा एक मुठी बालुवाको मात्र पनि योगदान गरेमा काफी मान्नु पर्छ । यो काम दुख सुखले ‘.....स्वर्गादपि गरियसि’ लाई विश्वास गरेर सहज वा प्रयत्नले योगदान गर्न समर्पित हुने प्रति यो कलम सचेत रहने क्रममा एउटा सोझो सूचना दिने लघुकाब्य ‘तिलक प्रथा’ आजको मेरो प्रस्तुति हो ।
विवाह अगाडि कन्या पक्षले कुमार पक्षलाई विवाह गरिदिए वापत दिइने धनदौलतलाई तिलक वा दहेज भनिन्छ । यो चलन हिन्दुस्थानबाट नेपालमा आएको मानिन्छ । त्यसमा पनि भारतीय मूलका नेपालीहरुको विवाहमा यो प्रथालाई अङ्गिकार गरेको पाइन्छ । छोरी जन्मदा रुने र छोरा जन्मदा खुशीयाली गर्ने चलन छ– मधेसी समुदायमा । मधेसी समुदायमा छोरीलाई शिक्षा दिने कुरामा अभिभावकहरुको कमै मात्र चासो रहेको देखिन्छ । पढाइमा पनि खर्च र दहेजमा गर्नै पर्ने खर्च गणना गर्ने चलन छ । छोरी अर्काको घरमा जाने हुन् भन्ने कुराको वास्तविक प्रयोग यही समुदायमा गढेर रहेको पाइन्छ । कम आय भएका आमाबाबुहरु छोरीको विवाह पछि टाट उल्टिएका उदाहरण र तिलक बापत थोरै धन आएमा नवबधुलाई त्याग्ने, यातना दिने वा घरमा अवहेलित गर्ने चलन रहेको पाइन्छ । कतिपय पुरुषले हत्या गरेका जस्ता घटना पनि सुनिने गर्छन् । यो एउटा ठूलो सामाजिक रोगको रुपमा रहेको छ । पहाडी मूलका समुदायहरुमा यो परम्परा त्यति ब्यापक नभएपनि नेपालमा सबै समुदायहरुको घुलमिल बढेकोले धेरथोर सबैमा यो सामाजिक रोग सर्दै गएको पाइन्छ । यसको नियन्त्रण गर्न कानूनी प्रवधान बनिसकेको भएपनि खुला वा गुप्त रुपले समाजमा विद्यमान रहेको छ । कैयन सामाजिक रीतिरिवाजहरु प्रिवर्तन भए, धार्मिक परम्परा फेरिइसकेका छन् तर तिलक प्रथामा खासै कमी आएको छैन । सामाजिक सुधारकर्मीहरु यसमा सचेत देखिन्छन् र कवि लेखकहरु पनि आफ्ना लेखहरुको माध्यमबाट सचेतना जगाउने काममा लागेका देखिन्छन् ।
यसै विषयलाई मुख्य कथा बनाएर सुम्बेक गाविस वडा नं. ७, पं. तुलसीराम पोख्रेलका सुपुत्र जीवनहरी शर्माले ‘तिलक प्रथा’ नामको खण्डकाब्य (लघुकाब्य) २०६१ सालमा प्रकाशित गरेका छन् । पहाडमा यो प्रथा कमै मात्र प्रचलनमा छ तर कविले पहाडी मूलका पात्रहरु सम्योजन गरेर पहाडी क्षेत्रमा समेत यो कुप्रथा रहेको दर्शाएका छन् । आफु शिक्षक भएकोले हुनसक्छ वा शिक्षा यसता कुरीति हटाउन समर्थ रहन्छ भन्ने भाव बिस्तार गर्ने प्रयत्न गरेका छन् । अशिक्षित मानिसहरु समाजमा कुनै न कुनै रुपमा अरुका लागि उपभोग्य वस्तु सरह रहेका छन् । पुरुष प्रधान हिन्दू परम्परामा छोरीलाई पढाएमा बोक्सी हुन्छन् भन्ने मान्यता लोप भैसकेको छ । छोरी अर्काको घरमा जाने जात हो, यिनीहरुको लागि पढाइमा खर्च गर्नु ब्यर्थ हुन्छ भन्ने मान्यताले पनि बाटो तताइ सकेको छ । छोरीको विवाह मातापिताको विवेकमा निर्भर रहने चलन पनि हट्तै गएको छ । आज विद्यालय र कलेजमा पुरुष भन्दा महिला शिक्षार्थीहरुको संख्या बढि छ । कहि कतै बालिकाहरु शिक्षा आर्जनमा छुटेका होलान् तिनीहरुलाई नछुटाऔं भन्ने सन्देश प्रवाह गर्न र शिक्षित समुदायबाट मात्र यसता कुरीतिहरु हटाउन सकिन्छ भन्ने सन्देश दिन यो काब्य अघि सरेको छ । देश प्रेम र श्रम प्रतिको विश्वासलाई यस काब्यमा राम्ररी नै वर्णन गरिएको छ । देशमा पाइने अमुल्य जडिबुटी र नगदेबालीको संरक्षण–सम्बर्धन गरेर आर्थिक उन्नति गर्न पे्ररणा प्रदान गर्न खोजिएको छ । खेती, पशुपालन हाम्रो जीवन आधार हो शिक्षित समुदायले समेत यसलाई नत्यागौं भन्ने सन्देश दिन कवि सफल भएका देखिन्छन् ।
मुख्य प्रतिपादित विषय तिलक प्रथाको अन्त्य गर्न संस्कारको विकास गरिनु पर्ने र सुसंस्कारको जड शिक्षा हो भन्ने कुराको पुष्टि गर्न कवि सफल भएका छन् । यो सकारात्मक पाटो हो । गाउँबाट पढ्न शहर पस्ने भुवनहरु धेरै छन् । शोभा र शाान्ता जस्ता सहआवासमा सहपाठी बनेकाहरु पनि धेरै छन् । यस्तो अवसरको दूरुपयोग गरेर काम जनित यौन विकारमा फसेर जीवन वर्वाद गर्नेहरुको खाँचो पनि हाम्रो समाजमा छैन भन्न चाहीं कवि पछि परेका देखिन्छन् । यो पनि एउटा कुरीतिको रुपमा फस्टाउदै छ । कविले विषय वस्तुको सम्योजन राम्ररी गरेका छन् । माया प्रेमलाई सकारात्मक प्रयोग गर्न काब्यको तेश्रो गुरु खण्ड कविले खर्च गरेका छन् । यस खण्डमा दार्शनिक लगायत ब्यवहारिक कुरालाई नेपाली माटो र संस्कृतिको पृष्ठभूमिमा प्रस्तुत गरेको पाइन्छ । हाम्रो देशमा कुरीतिको रुपमा तिलक प्रथा मात्र छैन । जातिभेद, छुवाछुत, बोक्सी आरोप, घुम्टो प्रथा, कमैया, बहुबिवाह, अनमेल बिवाह, बलात्कार, मादक पदार्थ सेवन, द्युतकृढा, मानव बेचबिखन आदि धेरै कुसंस्कारहरुले समाज भाँडेको छ । कविले यी हटाउने एउटै उपाय देखाएका छन्, शिक्षाको माध्यमबाट सानैदेखि नागरिकलाई यिनीहरुको विरुद्धमा लड्न तयार गराउनु । यस्तै नागरिकको उन्नति र राष्ट्र निर्माणमा एकता र राष्ट्रियताका भावनाको उत्तिकै खाँचो भएको दर्शाउन कवि पछि परेका छैनन् ।
यो काब्य शास्त्रीय वर्णमात्रिक उपजाति छन्दमा तयार गरिएको छ । प्रतिपाद्य विषय तिलक प्रथाले समाजमा पार्ने असर र शोभाको विवाहमा तिलक बापत के कति धन र सामाग्री तयार थिए, उनका बाबुले ती जुटाउन के गर्नु पर्यो र यसको के खराब असर पर्यो भन्ने वर्णनले निकै ब्यापकता पाएको भए काब्य अझै सारभूत र पठनीय हुने थियो । काब्यमा यो विषय समाचार लेखनमा जस्तो सिमित रहेको छ । शास्त्रीय काब्य लक्षणको कसी लगाउदा तिलक प्रथामा कमी कमजोरी देखिन्छन् तथापि समाजको एउटा गहन विषयमा आधारित भएर इलामेली साहित्यिक उन्नयनमा यसले महत्वपूर्ण योगदान पुर्याएको छ । ‘टिष्टाको सन्देश’ यस्तै काब्य लेखेर प्रकाशन गरिसकेका कविका अन्य कृतिहरु प्रकाशोन्मुख रहेका बुझिएको छ । आगामी कृतिहरुमा हामी कविमा निखार आएको पाउने छौं । स्कूले शिक्षणको सामान्य पेशा र गाउँले वातावरणमै रहेर काब्य रचना गर्नु सजिलो पक्कै छैन । योगदानको लागि कविलाई साधुवाद । अन्य कृतिहरु धमाधम पढ्न पाइयोस् शुभकामना ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...