space for add
space for add

समाचार

मेरो कृति बिमोचन हुनेछ !

गते ००:०० मा प्रकाशित

मेरो कृति बिमोचन हुनेछ !

 ▬ तारा प्रसाद अधिकारी

 
 
नव वर्षको आगमनसंगै मेरो कृति बिमोचन हुनेछ
 
परम्परा नौलो हुनेछ
 
वास्तविक साहित्यकार मात्र आउने छन्
 
स्थान, जहाँ आकाश छानो हुनेछ
 
कार्पेट हरियो दुबो हुनेछ
 
सोफा ठेउके पिरा हुनेछ
 
ए.सी. शितल हावा चल्ने छ
 
आरामदायी सिरानी भित्ता हुनेछ
 
महल अनौठो र सुन्दरी हुनेछ
 
त्यो ’कन्याम’ चियाबारी हुनेछ
 
इलामकी एक परी हुनेछ
 
मेरो कृति बिमोचन हुनेछ ।
 
 
 
तयारी,
 
एक वर्ष अगावै सुपारी पठाईने छ
 
खर्च सबै आफैले जुटाउनु पर्नेछ
 
आजैबाट दैनिक रु. १ बचत गर्नु पर्नेछ
 
ताकी आउने जाने सबै आफ्नो लगानी हुनेछ
 
आयोजक निःशुल्क रमिते हुनेछ
 
मेरो कृति बिमोचन हुनेछ ।
 
 
 
स्वागत,
 
स्वागतम, नमस्कार, पाउ लागौ भनिने छैन
 
पानीको व्यवस्था पनि गरिने छैन
 
सबैले एक एक ‘तुम्लेट’ आफ्नै
 
धाराको पानी ल्याउनु पर्नेछ
 
चाहे पाहुना सिकारु हुन वा वरिष्ठ
 
सबैलाई बस्नलाई
 
खुला चौर तर्फ ईशारा गरिने छ
 
हात समाई लगिने छैन
 
मेरो कृति बिमोचन हुनेछ ।
 
 
 
वस्तु स्थिति, नजरा
 
त्यहाँ माईक, टेबल केहि हुने छैन
 
चिच्याएर डाँडा पाखा हल्लाउनु पर्नेछ
 
न पाल हुनेछ न कुनै विज्ञापन त न
 
कुनै ठुलो पाँच तारे होटलको नाम
 
कृतिकारको हातमा हस्त लिखित
 
२० थान किताब जस्तै गजलका हुनेछन्
 
मेरो कृति बिमोचन हुनेछ ।
 
 
 
शुभारम्भ,
 
त्यहाँ पुर्वतयारी हुने छैन
 
निश्चित समय तोकिएको हुनेछ
 
कृतिकारले १० जनाको भेलाको आशा राख्नेछ
 
छेवैमा मजदुर चियाका मुना टिप्दै हुनेछन्
 
कुद्दै गएर कृतिकारले नारीलाई हैन
 
पुरुष मजदुरलाई हातमा समाई ल्याउनेछ
 
झोलाबाट २० थान किताब मध्ये
 
एक थान त्यस मजदुरको हातमा थमाउने छ
 
मेरो कृति बिमोछन् हुनेछ ।
 
 
 
सबैलाई सतर्क गराईने छ
 
युवा मजदुरलाई भनिने छ
 
किताबको पेज न. २० पल्टाउन लगाईने छ
 
त्यहाँ जुन माटोमा उभिएका हामी हुनेछौ
 
त्यही माटोको र नजरमा देखिरहेको कुरा हुनेछ
 
एक शेर युवाले वाचन गर्नेछ
 
‘जन्मायौ आमा छोडी गयौ
 
मलाई यही माटोले हुर्कायो’’
 
त्यस पछि समुहले त्यहि सेर वाचन गर्नेछन्
 
मेरो कृति बिमोचन हुनेछ ।
 
 
 
आउने जाने सडकका यात्री रोकिनेछन्
 
यहाँ के भई रहेछ भनी जिज्ञासा राख्नेछन्
 
सबैले एकै स्वरमा ’कृति बिमोचन’ भनिने छ
 
कसैले नाक खुम्च्याउने छन्
 
कसैले धत् पागल भन्नेछन्
 
कसैले फेद न टुप्पाको भन्नेछन्
 
कसैले स्याबास भन्नेछन्
 
थोरैले चल्लीमा औलाले हिर्काउने छन्
 
मेरो कृति बिमोचन हुनेछ ।
 
 
 
कार्यक्रमको मध्यान्तर हुनेछ
 
सहभागी गजलकार गुटबन्दी हुने छैनन्
 
सबै गोलाकार भएर बस्नेछन्
 
आ–आफ्ना तुम्लेटको बिर्को खोल्नेछन्
 
अनि चियर्स ! चियर्स !! भन्दै सबैले
 
एकै साथ तुम्लेट उठाउने छन् र
 
घटघटी पानी पिएर नशामा लठ्ठिने छन्
 
पुनः कार्यक्रम अघि बढ्ने छ
 
मेरो कृति बिमोचन हुनेछ ।
 
 
 
घाम ढल्किदै जानेछ
 
चिसो सिरेटो चल्नेछ
 
सबैको मनमा बेचैनी बढ्नेछ
 
अब श्रष्टा सम्मान गरिने छ
 
त्यहाँ कुनै खादा, माला अबिर हुने छैन्
 
कृतिकार कुदेर चिया बगान भित्र जानेछ
 
हतार हतार १० वटा चियाका
 
तिन पात एक सुईरो टिपिने छ
 
जतन साथ समुहमा ल्याईने छ
 
बीच बिचमा गएर दिईने छैन
 
झोलाबाट १० थान किताब निकालिने छ
 
मेरो कृति बिमोचन हुनेछ ।
 
 
 
क्रमशः
 
एक किताब र एक चियाको मुना
 
हातमा राखी श्रष्टा सम्मान गरिने छ
 
पुरस्कार, प्रमाण– पत्र, खादा, माला
 
सम्मान सबै त्यही नै हुनेछ
 
बाँकी १० थान कृतिमा
 
१ थान कृतिकारको हुनेछ
 
९ थान क्रमसः जालसा, पल्लव,
 
परिश्रमी, थापा, बज्राकी, नेपाली
 
गजल, श्री, शर्मा, खानका गाथामा
 
सर्मपित गरिने छ
 
मेरो कृति बिमोचन हुनेछ ।
 
 
 
परम्परा नौलो हुनेछ
 
घाम डुब्दै जानेछ
 
त्यहाँ क्यामरा पत्रकार हुने छैन्
 
नेतालाई प्रवेश निषेध गरिने छ
 
एक चित्रकार हुनेछ
 
बेला बेला माटोमा कोरी कुनै
 
क्यान्भासको कल्पना र
 
परिकल्पना मात्र गरिने छ
 
जुन आकृति तुरुन्त फेसबुकमा
 
अपलोड हुनै सक्दैन र हुने पनि छैन्
 
मेरो कृति बिमोचन हुनेछ ।
 
 
 
सबै उठ्ने छन्,
 
बिदाईको हात मिलाउन पाउने छैन्
 
अँगालो हाली छाती जोडेर धाप मार्नु पर्नेछ
 
गन्तव्य तिर सबैका पाइला चल्नेछन्
 
कृतिकार सबैलाई मलिन
 
मुस्कानले बिदा गर्नेछ
 
सबै पाहुनाहरु कुईनेटो
 
 
 
नकाटुन्जेल सम्म एक
 
एकलाई निहाल्ने छ सबै अदृश्य हुनेछन्
 
आफ्नो तुम्लेटको पानी
 
ठाडो घाँटी लगाएर एकै सासमा सिध्याउनेछ
 
आनन्दको आभाष गर्नेछ र
 
एक थान गजल झोलामा हालेर
 
ओरालो दानाबारी ‘गरुवा’ तर्फ
 
सुस्त कदम अगाडी बढाउने छ
 
मेरो कृति बिमोचन हुनेछ ।
 
मेरो कृति बिमोचन हुनेछ ।
 
 
 
दानाबारी–१ (गरुवा) इलाम
हालः दोहा कतार

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...