समाचार

भानुभक्तको सम्झना

गते ००:०० मा प्रकाशित

भानुभक्तको सम्झना

सोम निरौला (कविता)
सीताराम चिनाउने सरसिला प्यारो कथाका कवि
आफ्नो सूख भुलेर काव्य कविता रच्ने उज्याला छवि
होला जेल कठीन दुःख मनको त्यै काव्यमा भुल्दथ्यौ ।
नेपाली जनका कथा विरहका त्यै काव्यमा पोख्दथ्यौ ।

नेपाली कविता बने गहकिला तिम्रो रह्यो देन यो
यो भाषा अनि चम्कियो झलमली सल्क्यो निभेको दियो
घाँसीको मनको विचार सजिलो मीठो गरी पोखिदियौ
ज्ञानी भै कन छैन राग मनमा घाँसी बडा मान्दियौ

उस्को त्यो जलको कुवा त अहिले भेटिन्न होला त्यहाँ
उस्को नाम तथा समर्पणभने मेटिन्न कैल्यै यहाँ
रम्घाको कलिलो ठिटो नजरको हेर्दै बडा सुन्दर
पुर्खौली धन सम्पती जति थियो चाहे हुने जे तर

ती आनन्द खुसी पियार ममता छाडेर सारा तिमी
नेपाली कविता रचेर जगमा साहित्य बाँड्यौ जमी
झोक्का यौवनका जुवार मनका पाहाड ऐश्वर्यका
टन्टा हर्दमका रवाफ तनका जंघार ‘मेरो’ ‘म’ का



छोडी हर्दम काव्यमा मन दियौ साहित्यका प्राण हौ
मोडी जीवन शब्दमा अनि जियौ सौहाद्रका वाण हौ
बिर्सन्नौं कहिल्यै मिठो छ कविता ‘हे मित्र तारा पति’
भुल्दैनौ कहिल्यै अकथ्य गुन त्यो बोले न लेखे जति

लाखौ सुन्दर काव्यमा जगतका प्यारो छ रामायण
तिम्रो नाम त रामको भजन हो उन्कै पियारो कण
नेपाली हर बोलिमा हरफमा आऊ तिमी सर्वदा
झुल्कन्छौ प्रीय भानुभक्त जहिल्यै नेपाल यो सम्झदा

तिम्रो धाम उतै छ राम नजिकै सम्झ्या छ रे भन्दिनू
त्यो रामायण पढ्छु आज मनले भज्दै छ रे भन्दिनू
सीताजी कन भेट हुन्छ ? उनमा यो ढोग मेरो पुगोस्
होलान् ती हनुमान त्यैं समिपमा यो भोग मेरो पुगोस्

यौटा जन्म लिउन् उनी अब अझै धेरै बढे रावण
सीताजी पनि जन्मिउन् जमिनका खोज्दैछु सारा कण
आऊ भानु तिमी छ लेख्नु कविता श्रीरामका भोलिका
छाऊ भानु तिमी हरेक मुटुमा द्यौता बनी झोलिका
(छन्द – सार्दुलविक्रीडित)

 

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...