समाचार

कागजको ब्रिकेटले फोहोर ब्यवस्थापनमा सहयोग हुने

गते ००:०० मा प्रकाशित

कागजको ब्रिकेटले फोहोर ब्यवस्थापनमा सहयोग हुने

रोहितचन्द्र भट्टराई

इलाम, १ असारः

इलाममा हालसालै भित्र्याइएको कागजबाट बनाइने ब्रिकेट कोइलाले फोहोर ब्यवस्थापनमा सहयोग पुग्ने देखिएको छ । फोहोरको रूप लिएका र अन्य काममा नलागेर नाश हुने अवस्थामा पुगेका कागजलाई ब्रिकेट कोइला बनाउन प्रयोग गरिने भएकाले यो बनाउने अभियान शुरू भएमा आधाभन्दा बढी फोहोर ब्यवस्थापन हुनसक्ने देखिएको हो ।

काठमाण्डौमा पुगेर कागजको ब्रिकेट कोइला बनाउने तालिम लिएर इलाममा प्रचार प्रसारमा संलग्न नामसालिङ सामुदायिक विकास केन्द्रमा कार्यरत भुपाल खतिवडाले यसले ठोस फोहोर ब्यवस्थापनका लागि योगदान दिने बताए । खतिवडाले भने, ‘सबैभन्दा बढी फोहोर कागजको छ । त्यसलाई ब्यवस्थापन गर्न जरुरी छ । यो ब्रिकेट ब्यवस्थापन गर्न सके प्लाष्टिकमुक्त अभियान र हरितनगर अभियानलाई ठूलो सहयोग मिल्छ ।’ प्रयोग भइसकेको, फोहोरको रूप लिएको र काम नलाग्ने कागजलाई कोइला बनाएर प्रयोग गर्दा आर्थिक उन्नति हुने र ऊर्जा खपत कम हुने जानकारहरू बताउँछन् । वातावरण क्षेत्रमै कार्यरत इलामका समाजसेवी विष्णु काफ्लेका अनुसार यो ब्रिकेट कोइला बनाएर प्रयोग गर्न सकियो भने वातावरणसँगसँगै आर्थिक सुधार हुनेछ । कागज कुहिने भएकोले प्लाष्टिकजस्तो फोहोरको रुप नलिने भएपनि सबै कागज पुरै नकुहिने, कागजमा मिसाइएको अन्य रासायनिक पदार्थले खानेपानीको स्रोतमा पुगे असर गर्ने भएकोले पनि यसको ब्यवस्थापन जरूरी भएको खतिवडाको भनाई छ । कागजको ब्रिकेट घरमै बनाउन सकिने र यसको ब्यापार पनि गर्न सकिने खतिवडाले बताए । धेरै खर्च नलाग्ने, जस्ले पनि बनाउन सक्ने, झण्झट नहुने र बनाउन पनि सजिलो हुने भएकोले यसलाई प्रयोग गर्न आपत्ति नहुने उनले बताए । ब्यवसाय गर्न चाहनेले लगानी कम हुने र मार्केटिङ गर्नसके सस्तो बिक्री भएपनि फाइदा हुने पनि सकारात्मक पक्ष भएको उनको भनाई थियो ।

यो ब्रिकेट तयार गर्ने साँचो (फर्मा) काठमाण्डौमा तीनहजार दुईसय रूपैयाँमा पाइन्छ । यो बाहेक कागज धुल्याएर पानीसँग फिट्ने मदानी वा कुनै सामान भए त्यतिले नै कागजको ब्रिकेट तयार गर्न सकिन्छ । यो बाहेक ब्रिकेट प्रयोग गर्नेका लागि चुल्हो एकहजार आठ सय रुपैयाँमा उपलब्ध हुन्छ । यो प्रविधि काठमाण्डौ गल्कुपाखाका सानुकाजी श्रेष्ठले विकास गरेका हुन् । उनले दिगो प्रविधि संस्था (फाउण्डेसन सस्टेनेबल टेक्नोलोजी) नामको संस्था खोलेर कागजको ब्रिकेट बनाएर ब्यवसायिक रूप मै चलाएका छन् । सानुकाजीको प्रविधि देखेर प्रभावित भएका क्यानेडियन नागरिक टोनी म्याक्पिसले इलामको नामसालिङ विकास केन्द्र (एनसीडीसी) मा पनि यो प्रविधि भित्र्याउन उत्साह दिएका हुन् । उनी एनसीडीसीका पुराना सहयोगी पनि हुन् । त्यही आधारमा एनसीडीसीले खतिवडालाई तालिममा पठाएर इलाममा यो प्रविधि भित्र्याएको हो ।

१० देखि १२ किलो ब्रिकेट कोइला निर्माणका लागि सातकिलो आरा काट्दा निस्किएको काठको धुलो वा धानको भुस वा त्यस्तै कुनै भुसजन्य पदार्थ र फोहोर कागजको पानीमा मिसाइएको घोल आवश्यक पर्छ । यो ब्रिकेट बनाउँदा पहिला खेर गएका पत्रिका, कागज वा झुत्रिएका कागज पानीले भिजाएर कुड्क्याइ पल्पिङ टुल्स (धारिलो मदानी)ले लेदो बनाइन्छ । त्यसमा काडको वा धानको भुस मिसाएर फिटिन्छ । फिटिएको उक्त लेदोलाई ब्रिकेटको साइजअनुसार साँचोमा हालिन्छ । एउटा साँचोमा तीनवटा ब्रिकेट बनिने भएकाले लेदोको बीचमा दुईवटा प्लेट राखिन्छ । एउटा कोइलाको लागि पौने एक लिटर लेदो प्रयोग हुन्छ । साँचोमा लेदो हालिएपछि साँचोको हेण्डिलले थिचिन्छ । थिच्दा कोइलाको साइज र आकार बन्छ । पानी साँचोबाट निस्कन्छ । त्यसपछि साँचोबाट कोइला निकालिन्छ र घाममा सुकाइन्छ । चर्र्को घाम भएका बेला कोइला छिटै सुक्छ र बाल्न योग्य बन्छ । तस्विरमा कागजबाट बनिएको ब्रिकेट कोइला र ब्रिकेट कोइला बनाउन सिकाउँदै भुपाल खतिवडा । तस्विरः रोहितचन्द्र भट्टराई


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...