समाचार

इलामको सेरोफेरोमा नामसालिङ र साहित्य

गते ००:०० मा प्रकाशित

इलामको सेरोफेरोमा नामसालिङ र साहित्य

गणेशकुमार शर्मा भट्टराई

 

साहित्य सृजना गर्नका लागि पहिलो पूर्वाधार नै प्रेरणा हो । दोस्रो शैक्षिक वातावरण हो भने अवसर अर्को पृष्ठभुमि हुन सक्छ । इलाम जिल्लाको साहित्यिक फाँट निकै पुरानो र हालसम्म आएर निकै फराकिलो बनि सकेको छ । साहित्य क्षेत्रमाल मात्र होइन निजामती प्रहरी, सेना, चिकित्सा र विशुद्ध समाज सेवामा लागेका अग्रज र कार्यरत महानुभावहरूको खाँचो इलामले भोग्नु परेको छैन । राजनैतिक क्षेत्रमा पनि राणा शासनकाल, पञ्चायत काल, बहुदलीयकाल र हालको संक्रमण अवस्थासम्म सक्रियता देखाउने नागरिक इलामको माटोले जन्माएको छ । प्रकृति अलौकिक सुन्दरताले जडित यस जिल्लामा रहेका खोला, ताल पोखरी, जङ्गल पहाडी उच्च स्थलहरूले सबैलाई लोभ्याउछ । धार्मिक प्रवृत्तीका मानिसहरूलाई चिन्तन मनमा डुब्न र जप तपबाट सिद्धि प्राप्त गर्न यहाँका मठमन्दिरहरूले आकर्षिक गर्छन् । यसैले होला इलामको गुणगानभित्रबाट भन्दा बाहिरबाट धेरै भएको सुनिन्छ । खेतीपातीका लागि उपयुक्त हावापानी र माटो भएकाले परम्परागत खेती बाहेक नगदे खेतीले इलामको अर्थतन्त्रलाई उचाइमा पु¥याएको छ । यस छोटो लेखमा समग्र इलामको सेरोफेरोमा यस अन्तर्गतको एउटा हाल ओझेलमा परेको सानो गाउँको चौतर्फी र मोटामोटी शैक्षिक साहित्यिक चर्चा गर्ने जमर्को गरेकोले पाठकलाई त्यतै मोड्न चाहान्छु ।
पश्चिममा इनपा दक्षिणमा गोदक र पञ्चकन्या, उत्तरमा सोयाङ्ग र पूर्वमा नयाँबजार रहेको सानो गाउँ छ–त्यो हो नामसालिङ्ग । समुद्र सतहदेखि लगभग ३००० देखि १२००० फिटसम्म उचाइमा रहेको यस गाउँलाई दक्षिणमा जोगमाई र पश्चिममा माईखोलाले छुट््याएको छ । ती खोलाहरूमा यस क्षेत्रभित्र दु–दुई स्थानमा झोलुङ्गे पुल भएपनि पैदल यात्रालाई मनोरञ्जनको कोटीमा मात्र गणना गरिने यस युगमा मोटर यातायात नभएको कारणले नै यो गाउँ ओझेलमा परेको छ । यसको ऐतिहासिक पृष्ठभूमि कमजोर छैन । मेची लोकमार्ग नखुलेसम्म गोर्खे, नामसालिङ्ग (शुक्रबारे) हुँदै पाँचथर र ताप्लेजुङ्गसम्म आपूर्ति गरिने ब्यापारिक सामान मानेभञ्ज्याङ्गबाट इलाम आउने गर्थे । शुक्रबारे बजार गोर्खे जस्तै एउटा ब्यापारिक केन्द्र थियो – हाल फिक्कल जस्तै । यसरी उन्नतीले पनि नामसालिङ्गलाई अवनतितर्फ धकेल्यो । यहाँ बाहुन, क्षेत्री, राई, लिम्बु, मगर, योल्मु, कागते, तामाङ्ग, लेप्चा र दलित(पहाडे)हरूको बसोबास छ । लोपोन्मुख भनेर राज्यले सुचीकृत गरिएको लेप्चाजाती वार्ड नं.४ र ३मा करिव १० घरधुरीमा बसोबास गर्छन् तापनि यस गाउँको नाम लेप्चा भाषाबाट रहेको किंवदन्ति छ । ‘नामजा’ लेप्चा भाषाको एउटा मान्छेको नाम हो । ‘लिङ्ग’ भनेको घर हो । कुनै समयमा उनको हैकमको थलो भनिएको गाउँलाई ‘नामसालिङ्ग’ भनियो । ‘ज’ अपभं्रश हुँदै ‘स’ भएकोले नामसालिङ्ग भएको मानिन्छ । त्यहाँका लेप्चा साथीहरू अझैँ पनि आफ्नो थरलाई सुब्बाले जनाउँछन् र अरूले सम्बोधन गर्दा साहेवसमेत थपेको पाइन्छ । यसबाट के पुष्टि हुन्छ भने उनीहरूका पूर्खा मालपोत सङ्कलन गर्ने सुब्बा थिए । ती थरी सुब्बाहरू गाउँका प्रशासक हुन्थे त्यसैले उनीहरू आफ्नो धार्मिक परम्परामा आवश्यक पर्ने र सुरक्षाका लागि चाहिने सामाग्री राख्न पाउथे भन्ने कुराको प्रमाण अहिले उनीहरूसँग भएका केही पुराना सुरक्षा सामग्रीले बताउँछ । राम्रा टार परेका धेरै जमिन उनीहरूकै स्वामित्वमा रहेको पाइनाले लेप्चा जाति यस गाउँका ठालु थिए भन्न सकिन्छ । तर उनीहरू किन लोप हुँदै गए ? यो छुट्टै खोजिको विषय हो । समाजसेवा, शिक्षा, राजनिती, साहित्य, ब्यापार जागिर र वैदेशिक सेवासमेतमा यहाँका बासिन्दाको अग्रस्थान छ ।
शिक्षा, धर्म, समाज सेवाका क्षेत्रमा योगदान पु¥याउने अग्रज महानुभावहरूमा लपन अबिनारायण ढकाल, मनोरथ नेपाल, धर्मप्रसाद ढकाल, रामलाल मित्तल, काशीनाथ भट्टराई, नन्दलाल भट्टराई, तुलसीप्रसाद सुवेदी, गजाधर सुवेदी, शेरबहादुर योल्मू, शमानन्द निरौला थिए । स्थानीय राजनीति मात्र होइन राष्ट्रियस्तर सम्म पहुँच भएका धर्मप्रसाद ढकालको योगदान अविस्मरणीय छ । त्यसपछिको पुस्तामा नामसालिङ्गको धर्ती छोएर आफ्नो प्रगति गर्नेहरू धेरै छन् । समाजसेवामा गौरीप्रसाद नेपाल, द्वारिका मित्तल, रामप्रसाद घिमिरे, कपिलमुनी पोख्रेल, वेदप्रसाद खनाल, छविलाल चापागाई, तीर्थराज नेपाल, चिरञ्जिवी नेपाल, दोस्रो पिँडीमा पर्दछन् । नामसालिङ्ग मै जन्मेर वा पढेर विशिष्ठता हासिल गर्ने महानुभावहरूको पनि कमी छैन । विद्यावारिधि गर्नेहरूमा भीमप्रसाद सुवेदी, विष्णु कुमारी ढकाल, समीरा ढकाल र सागर चापागाई छन् । न्याय क्षेत्रमा प्रथम श्रेणीमा कार्यरत जीवनहरी अधिकारी हुन् । औषधी डाक्टर हुने गुरुप्रसाद ढकाल हुन् । खेमराज नेपाल नामसालिङ्गबाट इलामकै पहिला मानवशास्त्रा हुन् र मन्त्रालयको सचिव जस्तो विशिष्ठ पदबाट निवृत्त भएर समाजको आर्थिक विकासका लागि चिन्तनमा लागेका नेपाललाई एउटा योजनाकारको रूपमा चिनिन्छ । ललित नेपाल इञ्जिनियर हुन् भने भगवती नेपाल जापान एशिया फ्रेण्डसीप सोसाइटीसँग सम्बन्धित छन् । उनकै सकृयताबाट कक्षा १–१० मा अध्ययनरत नामसालिङ्ग, नयाँबजार र सोयाङ्गका चुनिएका विद्यार्थीले १० लाख अक्षयकोषको ब्याजबाट माकातो माकी छात्रवृत्ति सुविधा पाइरहेछन् । यसको सम्योजन नासाविकेले गर्दछ । महिलाकै कुरा गर्दा नामसालिङ्गकी समाजसेवी सोमनकुमारी खनाल चर्चित नाम हो । महिला हकहितका लागि उनको ठूलो योगदान छ । त्यस्तै नयाँबजारको पे्रमेजुङ्गमा जन्मिएर नामाविबाट एसएलसी गरेकी टीका भारद्वाज इलामकी पहिलो अधिवक्ता हुन् । महिला साहित्यकारमा नामसालिङ्गकै चेली सरिता ढकाल अग्र पंक्तिमा पर्छिन् ।
शिक्षा क्षेत्रमा कुरा गर्दा सर्वप्रथम नामसालिङ्गको वार्ड नं.५ मा नेपाल थरको शिक्षक भएको साँवा अक्षर चिनाउने उद्देश्यले एउटा (टहरो) स्कूल खडा गरेको बुझिन्छ । यो अवधिमा वार्ड नं. ३ मानडाँडामा एउटा स्कूल सञ्चालनमा रहेको बुझिएको छ । लप्टन अविनारायण ढकाल जसले आफ्ना छोरा धर्मप्रसाद ढकाललाई समयको मागअनुसार दार्जिलिङ्गको गभर्नमेण्ट स्कूलमा अंग्रेजी पढ्ने र जान्ने एसएलसी उत्तीर्ण (म्याट्रिक) पहिला व्यक्ति हुन् । २०२१ सालमा झापाबाट उनी निविरोध रा.पं.स. निर्वाचित भएको स्कूल सुरू भएको हो । मिरिकतिरबाट ल्याइएका केहि शिक्षक र आफ्नै परिवारका देवप्रसाद, चन्द्रमणि, बीरमणी लगायतका शिक्षकले स्कूल सञ्चालन गर्ने नामसालिङ्गका अविस्मरणीय पुरुषले आफ्नो नामलाई वास्तवमै सार्थक पारेका हुन् । २०२८ सालको झापा हत्याकाण्डमा उनको कायरतापूर्ण हत्या भयो । त्यसको पश्चाताप मात्र हामीसँग छ–हत्याराको हविगतलेसमेत त्यसै भन्छ । केदारमणि, जयप्रसाद, छत्रमणि, नेत्रमणि, मित्रमणि लगायतका ढकाल बन्धु नामसालिङ्ग माध्यमिक विद्यालयका सेवक शिक्षक हुन् । यस पवित्र संस्थालाई झापा चन्द्रगढीमा करिव १५ विगाह जमिन दान गर्ने यस परिवारलाई नामसालिङ्गले बिर्सनु कृतघ्नता ठहर्ने छ ।
कृषिको क्षेत्रमा व्यवसायिकताको पृष्ठभुमि नबने पनि यस गाउँमा अन्न लगायत नगदेवालीमा सिपालु किसान छन् । करेँसाबारी र फलफूल उत्पादनमा सुन्तला, कागती, नस्पाती प्रमुख छन् । वार्ड नं.७ का बलबहादुर लिम्बु जिल्लाकै प्रथम बेर्ना उत्पादक हुन् । कृषि कार्यालयको साझेदारीमा उनले ब्यापक रूपले सुन्तलाका वेर्ना उत्पादन र वितरण गरेथे । उनले कलमी टच विधि प्रयोग गरेर एउटै बोटमा सुन्तला, मिरिण्डा, निवुवा र ज्यामिर फलाउने गर्थे ।
यस गाविसभित्र अहिले आएर एसएलसी उत्तीर्ण सदस्य नभएको घर परिवार छैन । गाउँ, जिल्ला, अञ्चल हुँदै देशभरिनै शिक्षा र अन्य सेवामा जागिर खानेको सङ्ख्या धेरै छ । तापनि सबैले रोजगार नपाउनाले युवायुवतीहरू विदेश गएका छन् । छुवाछुत विरोध र जातीय समानताका क्षेत्रमा नामसालिङ्ग उपल्लो दर्जामा पर्छ । आधुनिकताले छोएपछि परम्परागत रूपले चलिआएका घरेलु पेशागत उत्पादनमा ह्रास आएको छ । छालाका जुत्ता बनाउने बाँस चोयाका घरेलु सामाग्री बनाउने, पञ्चेबाजा बजाउने जस्ता कार्यहरू लोप हुने अवस्थामा छन् ।
अन्यमा साहित्य क्षेत्रमा कुरा गरौँ । यस क्षेत्रमा पहिलो व्यक्ति धर्मप्रसाद ढकाल नै हुन् । उनले दार्जिलिङ्ग गभर्नमेण्ट स्कूलमा पढे र त्यहि बेलाका मुर्धन्य नेपाली साहित्यकार पारसमणि प्रधान, सूर्यबिक्रम ज्ञवाली, धरणिधर कोइरालाको प्रभाव उनमा प¥यो । इलामका वरिष्ठ भाषाशास्त्री महानन्द सापकोटाको प्रभावले आफूले पुस्तकाकार साहित्य सृजना नगरे पनि साहित्य क्षेत्रमा उत्प्रेरकको भूमिका उनैले गरेका हुन् । २००९मा ख्याति प्राप्त राष्ट्रिय साहित्यकारहरूको उपस्थितिमा छिमेकी गाउँ आइतबारेको करफोकमा भएको बृहत राष्ट्रिय साहित्यिक सम्मेलनले इलाममै साहित्यिक हलचल ल्यायो । नामसालिङ्गका जयप्रसाद ढकालका समालोचना क्षेत्रका साहित्य र संस्कृति, आधुनिक नेपाली आलोचना, आधुनिक नेपाली पत्रजगत र अन्य कैयन फुटकर कृतिहरू छन् । त्यस्तै सरिता ढकाल र अर्जुन निरौलाको साहित्यिक कृतिहरू हाम्रा हातमा छन् । सरिता ढकालका–प्रगतिशील दृष्टिमा केहि समालोचनाहरू, नेपाली साहित्य समालोचकको समस्या र नेपालको राजनैतिक अध्ययन प्रमूख हुन् भने निरौलाका शिशिरका बतास, घाम डुबेपछि उपन्यास र कथा संग्रहहरू छन् । उनी उपन्यास कथाका स्रष्टा हुन् । नामसालिङ्गमै जन्मिएर शिक्षण पेसामा जीवन यापन गर्ने नरनाथ निरौलाको आमा कविता संग्रह प्रकाशित छ । त्यसतै विष्णुकुमार भट्टराईको भक्तिदेखि लिलासम्म भन्ने समालोचना प्रकाशित छ भने उनी नियात्रा प्रकाशनका (झापा बिर्तामोड) संस्थापक सदस्य हुन् । विभिन्न राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा उनका अनगिन्ति लेखहरू प्रकाशित भएका छन् । त्यस्तै देपमणि ढकाल, खेमराज नेपाल, चन्द्रशेखर शर्मा, कोमल निरौला, दामोदर भट्टराई, गणेश निरौलाका कविता, लेख निबन्ध र गीत प्रकाशित भएका छन् । २०३६ सम्ममा नामसालिङ्गबासीका कलमबाट प्रवाहित साहित्यिक सामाग्री गहकिला छन् । त्यसपछि उदयराज निरौला सरकारी कार्यालयबाट प्रकाशित हुने मुखपत्रलाई लेखन सुरू गरेर कविता र निवन्धमा कलम चलाए । उनका कोलाहल पिएर कोर्दै मेट्दै निवन्ध संग्रह प्रकाशित छन् । अन्य कविता संग्रह पुस्ताकाकार कृति र धेरै रचनाहरूले राष्ट्रिय स्तरकै साहित्यमा उनले हलचल ल्याएका छन् । कृष्णप्रसाद रिजाल एक अर्का प्रतिभावान युवा साहित्यकार हुन् । उनी कविता र कथा उपन्यासका स्रष्टा हुन् । स्मारिका प्रकाशन र खोजपूर्ण लेख सम्पादनमा उनको थप रूचि देखिन्छ । नुरज भट्टराई ‘नदी’ अर्का उदयमान कविता रचयिता हुन् । विभिन्न स्थानीय पत्रपत्रिकामा उनका मार्मिक छन्दोबद्ध कविता पढ्न पाइन्छ ।
बिष्णुकुमार भट्टराई र गणेशकुमार शर्मा भट्टराई र दिपकचन्द्र भट्टराई इलामबासी भएपनि नामसालिङ साहित्यकर्मी मानिन्छन् । कर्मथलो वा शिक्षा आर्जनथलो बनाएका थुप्रै साहित्य स्रष्टाको नाम नगरी हुन्न । धेरै बर्ष नामसालिङ माविको प्रधानाध्यापक पद सम्हालेका नरहरि शर्मा नाटककार र कवि हुन् । उनको मेचीपारी नाटक नामसालिङका कलाकारहरूद्वारा इलाममा मञ्चन हुँदा ठुलै प्रशंसा पाएको थियो । कविता धेरै प्रकाशनमा नआए पनि लेखन र बाचनमा सफल कविका रूपमा उनलाई लिनुपर्छ र उनकै प्रेरणाबाट नामसालिङमा साहित्यिक गतिविधि मौलाएको मान्नुपर्छ । नामसालिङमै अध्ययन गरेका लोकनारायण सुवेदी, इन्द्रनारायण सुवेदी, टीका भारद्धाज, बिष्णु निष्ठुरी, भूप्रसाद पौडेल, डा. दुर्गा पौडेलको साहित्यिक अन्य क्षेत्रमा विशिष्ट स्थान छ ।
पत्रकारिता क्षेत्रमा नामसालिङबासीको निकै रूचि छ । इलाम बसोबास गरेपनि सोमनाथ सुसेली इलाम एक्सप्रेस र नेपालबाणी एफ. एम. मा सम्बद्ध छन् । त्यस्तै बिजयशेखर भट्टराई, रोहितचन्द्र भट्टराई र गणेशकुमार शर्मा भट्टराई सन्दकपुर दैनिक र नेपालबाणी एफ. एम. सँग सम्बद्ध छन् । नामसालिङमा नवप्रतिभाहरूको उदय भैरहेको छ । साहित्यिक गतिविधिमा ओमनाथ अधिकारी, गौतम प्रधान, दुर्गा शर्मा भट्टराई सधैँ अग्रसर देखिन्छन् । महाकवि देवकोटा सतबार्षिकी २०६६ मा उनीहरूको ठुलो भूमिका रह्यो ।
यो सानो लेखमा सबैको नाम परेन होला । क्षमा माग्दछु । हालै ओझेलमा परेकोे इलाम नपासँग जोडिएको ऐतिहासिक स्थानको परिचय दिन खोजेको हो । प्रतिभावान नामसालिङबासीमा जीविका चलाउन जहाँ बस्नुपरे पनि आफ्नो जन्मस्थानको प्रगतिमा सचेत रहनु र यस गाउँमा भएका विकासका सम्भावनाहरूमा सहभागी हुन सकून् भन्ने अपेक्षालाई महत्व दिइएको छ । हर क्षेत्रका प्रतिभावान बुढा, तन्नेरी, उदित व्यक्तिहरू आफ्नो जन्मगाउँमा भेला भएर आफ्नै ठाउँलाई, आधुनिक गाउँ बनाउन जुटौँ भन्ने आह्वान पनि गर्दछु । अस्तु । 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...