समाचार

‘नायिका बन्ने सपना छ’

गते ००:०० मा प्रकाशित

‘नायिका बन्ने सपना छ’
 
विक्रम सम्वत् २०५३ सालमा इलाम नगरपालिका वडा नम्बर ४ मा बाबा चन्द्रबहादुर र आमा गंगामाया तिम्सिनाका कोखबाट जन्मिएकी भारती तिम्सिना नृत्य क्षेत्रमा धेरैले सुनेको नाम हो । उनी भर्खरै सम्पन्न पूर्वाञ्चलस्तरीय नृत्य प्रतियोगितामा समेत भाग लिएर हजारौँ प्रतियोगीहरुलाई उछिन्दै राइजिङ स्टार बन्न सफल भएकी छन् । युनिभर्सल डान्स सेन्टर इलाममार्फत सहभागी भएकी उनै भारतीसँग सन्दकपुर सहकर्मी टीका खतिवडाले गरेको कुराकानीः
प्रश्नः नृत्य क्षेत्रमा कहिलेबाट लाग्नु भएको हो ?
भारतीः त्यस्तै सात आठ वर्ष भयो । 
प्रश्नः नृत्य क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?
भारतीः मलाई सानैदेखि नृत्य गर्ने इच्छा थियो र गर्थेँ पनि । क्रमशः गर्दै जाँदा सफल पनि हुँदै गए । परिवार र छरछिमेकबाट साथ पनि पाउँदै गएँ । इलाममा त्यतिबेला देखि नै नाम चलेको युनिभर्सल डान्स सेन्टरमा गएँ । त्यहिँबाट धेरै स्टेचहरुमा डान्स देखाउन थालेँ । त्यहाँका गुरु रोशन कर्माचार्य र उहाँकै श्रीमती अमिता कर्माचार्यले पनि धेरै सहयोग गर्नुभयो । त्यहिँबाट अघि बढ्दै गएँ र म प्रेरणा पनि त्यसैलाई लिन्छु ।
प्रश्नः भर्खरै तपाँई राइजिङ स्टारसमेत हुनुभएको छ । राइजिङ स्टार हुनुपूर्व र पछिको यहाँको सोचमा कस्तो परिवर्तन आयो ?
भारतीः म सानै स्टेचमा नृत्य गर्दै गरेकी हुनाले लामो समय यसरी नै गरिरहनु पर्छ कि भन्नेमा पनि थिएँ । जब मेरो हातमा पूर्वाञ्चलस्तरीय नै उपाधी प¥यो, त्यसपछि चाहिँ अब म पनि म्युजिक भिडियोहरुमा खेल्न योग्य भएँछु जस्तो लाग्यो । डान्स गर्ने जो कोहिले पनि म्युजिक भिडियो र चलचित्रलाई नै पछ्याएर अघि बढेका हुन्छन् । म पनि त्यहि सपना बुनेर बसेकी अब चाहिँ मेरै काँधमा ती जिम्मेवारी आएको जस्तो महसुस भएको छ ।   
प्रश्नः तपाई राइजिङ स्टार बन्दा तपाईका प्रतिद्वन्द्वीलाई कति मतले पछि पार्नुभयो ?
भारतीः सबै भोट र निर्णायकको मत एकै ठाउँमा जोड्दा मैले ३९.५ अङ्क पाएँ र मलाई पछ्याउने या दोस्रो हुनेले २८ अङ्क प्राप्त गर्नुभएको थियो । 
प्रश्नः तपाईलाई कुनै दिन पूर्वाञ्चलस्तरीय नै उपाधि पाउँछु जस्तो लागेको थियो ?
भारतीः हुन त म सानैदेखि मेहनत त गर्थेँ नै । जो कोहिले पनि सफलता पाउँदिन भनेर त लागेको हुँदैन । म पनि सफलता चाहिँ पाउँछु भन्नेमा नै थिएँ । तर कहिले हो त्यो चाँहि आफैँ अनविज्ञ थिएँ । मैले पाएको सफलता ठूलो हो । यत्रो चाँिह सफलता यति चाँडै पाउँछु जस्तो लागेको थिएन ।
प्रश्नः तपाँई यो स्थानमा आउनमा सबैभन्दा ठूलो योगदान कसको हो ?
भारतीः सहयोग त सबैले गर्नु भएको छ । महत्वपूर्ण सहयोग चाहिँ मेरो बाबा, आमा अनि रोशन कर्माचार्य सर र उहाँकै श्रीमती म ‘आण्टी’ भन्छु, अमिता कर्माचार्यको हो । यो सफलता मलाई दिलाउन उहाँहरुको यो योगदान मेरो सबैभन्दा खुसीको क्षण बनेको छ । 
प्रश्नः अहिलेसम्म कहाँकहाँ सम्म गएर आफ्नो प्रतिभा देखाइसक्नु भएको छ ?
भारतीः म जिल्लाका त प्रायः सवै ठाउँमा पुगेकी छु । जिल्लाबाहिर पनि पूर्वाञ्चलका प्रायः सबै जिल्लामा पुगेकी छु । 
प्रश्नः बाहिर जाँदा दर्शकले तपाईप्रति कस्तो ब्यवहार गर्छन् ?
भारतीः म जती ठाउँमा पुगेकी छु । मैले डान्स गरिसकेपछि प्रायले मलाई नै औँल्याएर ‘वान्समोर’ भन्ने गर्नुभएको छ । त्यसले पनि दर्शकहरुले रामै्र माया गर्नुभएको रहेछ भनेर बुझ्ने गरेकी छु । 
प्रश्नः नृत्य क्षेत्रमा लागेर जिवन धान्न सकिन्छ जस्तो लाग्छ ?
भारतीः हाम्रो लागि नृत्य एउटा नशा हो । जहाँ मादल बज्छ नाचौँनाचौँ जस्तै लाग्छ । ऐले पनि म यहाँका विभिन्न निजी तथा सामुदायिक बिद्यालयहरुमा डान्स सिकाइरहेकी छु । त्यहाँबाट पनि मैले रामै्र पारिश्रमिक पाउने गरेकी छु । 
प्रश्नः राइजिङ स्टार बनेपछि के कस्ता अवसरहरु आए ?
भारतीः मलाई यो उपाधीले नै म्युजिक भिडियो र चलचित्रमा खेल्ने अवसर पाएकी छु । त्यो भन्दा बढि बाहिरबाट पनि थुप्रै अवसरहरु आइरहेका छन् । 
प्रश्नः भविष्यमा यहि पेशालाई अगाडि बढाउनु हुन्छ कि अन्य केहि सोच्नु भएको छ ?
भारतीः म सानैदेखि यहि क्षेत्रमा लागिरहेकी छु । भविष्यमा पनि यहिँ क्षेत्रमा लाग्ने इच्छा छ । भविष्यमा मेरो चर्चित नायिका बन्ने सपना छ । हेरौँ दर्शकहरुको कत्तिको माया पाइने हो त्यसैमा भर पर्छ । 
प्रश्नः अन्तिममा केहि भन्नु छ कि ?
भारतीः खासै भन्नै पर्ने त केहि पनि छैन । नेपाली कला र कलाकारलाई माया गर्दिनुहोस् । मेरा नृत्य हेरेर मलाई सल्लाह, सहयोग र सुझाव दिनुहोस्, त्यसले पनि मलाई अघि बढ्नमा सफलता मिल्नेछ । म एउटी इलामकै चेली सोचेर भएपनि साथ दिनुहुन्छ भन्ने आशा लिएकी छु ।
 

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...