समाचार

भ्यू–टावर निर्माण नहुदा अन्तुडाँडाबाट सुर्योदय देखिएन

गते ००:०० मा प्रकाशित

रुखले पनि छेक्यो दृष्य श्रीअन्तु ३१ असोज । भनिन्छ सुर्यलाई हत्केलाले छेक्न सक्दैन । तर सुर्योदय हेर्नका लागि विख्यात इलामको श्रीअन्तु डाँडामा सुर्य उदाउने दृष्यलाई यहाँ बढ्दै गएका रुखले छेक्न थालेको छ । डाँडा वरीपरी रुख झाँगिदैछन् यो बाहेक डाँडामा भ्यू–टावरको पुनःनिर्माणमा ढिलाई हुँदा सुर्योदयका लागि आउने पर्यटक पनि सुर्योदयको मनमोहक दृष्य कैद गर्नबाट वञ्चित हुने गरेका छन् । देशकै पहिलो सुर्य उदाउने र सुर्योदयको अवलोकन गर्ने स्थान इलामको श्रीअन्तु डाँडा वरीपरी धुपी सल्लाका रुख हुर्किएका छन् । सल्लाका रुख वरीपरी रहेपछि डाँडाबाट सुर्योदय देखिन छाडेको छ । सुर्य उदाउने बेलामा देखिने कञ्चनजङ्घा हिमाल लगायत भारतका विभिन्न स्थानको दृष्यावलोकन पनि गर्न नसकिएको स्थानीय रुद्र घिमिरेले बताएका छन् । गत असार महिना भित्रै सम्पन्न गर्ने भनिएको भ्यू–टावर समेत निर्माण नहुँदा अन्तुडाँडामा आउने पर्यटकले भ्यू–टावर बनाउने सामग्री थुपारेको थुप्रोलाई दृष्यावलोकन स्थल बनाएका छन् । मेची पहाडी पर्यटन प्रवद्र्धन समितिको साढे १७ लाखरुपैंयाँमा निर्माण गरिने भनिएको भ्यू–टावरको निर्माण नक्सा तयार गर्न ढिलाइ भएको कारण रोकिएको अन्तु पर्यटन पुर्वाधार विकास समितिका संयोजक धनकुमार आलेले बताए । उनले नक्सा तयार गर्ने संस्थाले शुरुमा फिल्डमै नआइ तयार गरेको र हाल त्यसलाई परिमार्जन गर्नुपर्ने आवश्यक्ता देखिएको बताए । नक्सा डिजाइनका लागि राजधानीको वानेश्वर स्थित डाइमेन्सन्स आर्किटेक्स इञ्जिनियर्स प्लानर्सलाई दिइएको बताइएको छ । उक्त कम्पनीले तयार पारेको नक्सामा केहि परिमार्जन गर्नुपर्ने भएको भनेर हाल सम्म टावर निर्माणका लागि लाइन नदिइएको बताइएको छ । संस्थाले पहिले भत्काइएको जस्तो नै टावरको डिजाइन तयार गरेको छ । जिल्ला स्थित सरोकारवालाहरुले इलामको भ्यू–टावर समेत थोरै हल्लिएकाले अन्तु डाडाँमा रहेको टावर बनाउन बलियो जगका लागि प्रयास थाल्नुपर्ने सुझाव दिएको र त्यहि अनुसार केहि डिजानइन परिवर्तन हुनसक्ने आलेले बताएका छन् । असोज अन्तिम र कार्तिक देखि आकास सफा भएको मौसमममा अन्तुडाँडाबाट सुर्योदय हेर्नका लागि भारत लगायत विभिन्न देश र देशकै विभिन्न स्थानबाट पर्यटक यहाँ आउने गरेका छन् । स्थानीय स्तरमा पोखरीको निर्माण भएपछि चियाबारी बीचमा रहेको पोखरी र चियाबारी क्षेत्रमा समेत पर्यटकहरु जान थालेका छन् । तर सुर्योदयका लागि नै हिलाम्मे सडक पर्वाह नगरी डाँडामा पुग्ने पर्यटकहरुलाई छेकिएको दृष्यले मन खिन्न बनाउने गरेको छ ।

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...