space for add
space for add

समाचार

काबेली कोरिडोर आयोजना निर्माण सुस्तायो

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता

इलाम, १७ भदौ : माई जलविद्युत आयोजनाको निर्माण सँगै दवावमा परेको काबेली कोरिडोर आयोजना निर्माण अझै सुस्ताएको छ । आयोजनाको पहिलो खण्ड अन्तर्गत झापाको दमकदेखि इलाम गोदकसम्म बन्ने ९३ वटा टावर निर्माण गर्नुपर्नेमा मुस्किलले ८१ वटाको मात्र फाउण्डेशन निर्माण भएको बताइएको छ । उक्त प्रसारण लाइन निर्माणको ठेक्का पाएको ठेकेदार जेगोर कम्पनीका प्रोजेक्ट मेनेजर बिरामी परेको, प्रसारण लाइन वरपरका बासिन्दाले जग्गा क्षतिपुर्ति नभए टावर बनाउन नदिएको र आयोजना प्रमुखले कमै मात्रामा निर्माण कार्यको अनुगमन गर्ने गरेका कारण निर्माण प्रभावित भएको हो । 
काबेली कोरिडोर १३२ केभी प्रसारण आयोजनाको गोदकस्थित सवस्टेशन करिबकरिब तयार रहेपनि दमकमा रहेको सबस्टेशनमा ठेकेदार कम्पनी कारबाहीमा परेको छ । समयमा काम नगरेका कारण कारबाहीमा परेको कम्पनीले आयोजनाविरुद्ध मुद्दा लगाएकाले कार्य प्रभावित भएको आयोजना सम्बद्ध श्रोतले जानकारी दिएको छ । उक्त स्टेशनबाहेक हालसम्म ३४ वटा प्रसारण लाइनअन्तर्गतका टावरहरु पहिलो खण्डभित्र जडान गर्ने कार्य भएका छन् । 
ठेकेदारको ढिलाइका कारण उक्त खण्डमा निर्माण गर्नुपर्ने १२ वटा टावरको फाउण्डेशन हालसम्म बन्न सकेको छैन । प्रोजेक्ट मेनेजर गम्भिर बिरामी भएको र बर्षायामका कारण ढिलो भएको आयोजना प्रमुख उद्धवलाल श्रेष्ठ बताउँछन् । उनले केही जग्गाका धनीले क्षतिपुर्ति लिएपनि परिवार झगडाका कारण टावर निर्माणमा अवरोध आएको बताए । बर्षायाममा करिबकरिब प्रसारण लाइनको निर्माण कार्य अवरुद्ध भएको छ । 
कर्मचारीका अनुसार आयोजना प्रमुख श्रेष्ठ आयोजना अनुगमनका लागि कमै आउने गरेकाले पनि निर्माण कार्य प्रभावित भएको बताउँछन् । ‘श्रेष्ठ लामो समयसम्म माथि काम छ, भन्दै राजधानीमै हराउने गरेका छन्’, स्रोतले भन्यो । 
यता आयोजनाको निर्माणमा आएको सुस्तताले सानिमा माई हाइड्रोपावरद्वारा प्रवद्र्धित माई जलविद्युत आयोजनाबाट विद्युत उत्पादनमा असर परेको छ । उक्त आयोजना सम्पन्न भइ परीक्षण भइसकेको अवस्थामा उक्त आयोजनाबाट केन्द्रीय प्रसारणमा जोड्ने काबेली प्रसारण लाइनकै निर्माण सुस्ताएको छ । उक्त आयोजना समयमा सम्पन्न नहुँदा नेपाल विद्युत प्राधिकरणले पाँच प्रतिशत पेनल्टी तिर्नुपर्ने बाध्यता समेत रहेको छ ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...