समाचार

दूधको जिल्लामा पहिलो दूध दिवस, उत्पादनमा जोड

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता

इलाम, १९ जेठ – नेपालको पशुपालन क्षेत्रमा दूधले ६३ प्रतिशत योगदान गरेको जानकारी दिँदै १० देखि १२ लिटर दूधले एक जनाको रोजगारी सिर्जना हुनसक्ने विज्ञहरूले औँल्याएका छन् । नेपालका प्रत्येक व्यक्तिलाई स्वास्थ्यका लागि प्रतिदिन २ सय ५० ग्राम दूध दैनिक आवश्यक पर्नेमा उक्त माग अनुसार दूधको आपुर्ति हुन नसकिरहेको पनि उनीहरूले बताए । शुक्रबार इलाममा अन्तर्राष्ट्रिय दूध दिवसको अवसरमा सम्पन्न कार्यक्रममा यस्तो औँल्याइएको हो ।

दैनिक ४ लाख लिटर दूध अझै अभाव हुने गरेको तथ्याङ्क पाइन्छ । ग्रामीण क्षेत्रमा दूधबाट वार्षिक ५ अर्ब ५० करोड रुपैयाँ प्रवाहित हुने गरेको भएपनि दुग्धजन्य पदार्थ उत्पादनका लागि कारखानालाई आवश्यक दूध अझै आपुर्ति हुन नसकेको बताइएको छ ।

इलाममा पहिलो जिल्लास्तरीय दूध दिवस मनाउने क्रममा विज्ञहरूले दूध उत्पादनलाई प्रोत्साहन गरेमा किसानको आयआर्जन भरपर्दो हुने बताए । दिनको दुई पटक नगद आर्जन गर्न सकिने दूधको उत्पादन बढाउन उन्नत जातको पशुपालन गर्नुपर्ने र आहारा व्यवस्थापन र पशु स्वास्थ्यमा जोड दिनुपर्ने पुर्वाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालयका क्षेत्रीय निर्देशक भुवनेश्वर शर्माले बताए  ।

कार्यक्रममा जानकारी पत्र प्रस्तुत गर्दै जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा. कुमारसिंह खत्रीले इलाममा बार्षिक ९९ हजार ५ सय १३ मेट्रिक टन दूध उत्पादन भइरहेको र त्यो दूधबाट घीउ छुर्पी, पनीर, ललीपप, बम्बैसन उत्पादन भइरहेको जानकारी दिए । कार्यक्रममा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख डा. इश्वरीप्रसाद अधिकारीले दूध अझै ओझेलमा परेकाले उत्पादन बृद्धिका लागि राज्यले थप कार्यक्रम ल्याउनु पर्ने बताए । उनले इलामबाट मात्र एक महिनामा दुग्ध विकास संस्थानले चार करोड मूल्यको दूध खरिद गरिरहेको जानकारी दिए ।

संस्थानका इलाममा पाँचवटा चिज उत्पादन केन्द्र समेत रहेका छन् । दूधको व्यवसायीकरणका लागि संस्थानले दूध चिस्याउने केन्द्र नीजि क्षेत्रलाई जिम्मा दिने रणनीति बनाएको उनले बताए । सरकारले हाल २२ जिल्लामा दूध उत्पादनलाई बढावा दिने उद्धेश्यले दूधालु गाई भैँसीको नश्ल सुधार कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।

प्रमुख पाँच अमृतमध्ये दूध प्रमुख अमृत हो । एक सय ग्राम दूध सेवनबाट करिव ६० क्यालोरी शक्ति पैदा हुने डा. खत्रीले जानकारी दिए । दूधमा चिल्लो पदार्थ, प्रोटिन र भिटामिन प्राप्त हुन्छ । ‘अ’ बाट नामाकरण भएका इलामको मुख्य ७ वटा कृषि उत्पादनमध्ये ओलन अर्थात दूध दिवस मनाउन पाएकोमा उपस्थित किसान र सहकारी प्रतिनीधिहरूले खुशी व्यक्त गरेका थिए । किसानहरूले अन्य दिवस भन्दा आफूहरूलाई दूध दिवस नै मुख्य दिन भएको बताए ।

कार्यक्रममा किसान तारा भट्टराई, शुभलाभ बृहत्तर दूध प्रवर्धन समिति सुलुबुङका अध्यक्ष नेत्रप्रसाद रिजाल र किसान गङ्गा भुर्तेलले मन्तब्य राखेका थिए । इलाम सदरमुकाममा आयोजित कार्यक्रममा जिल्लाका उत्कृष्ट दूध उत्पादक किसान विनोदकुमार खतिवडा, सुलुबुङको उत्कृष्ट महिला पशुपालक कृषक समुह, ग्रामीण पशु सेवा कार्यकर्ता बसन्ता राई, उत्कृष्ट पाराभेट शान्तिडाँडाका गोपालप्रसाद लुइँटेल र कर्मचारीहरू लुम्देका परशुराम अधिकारी तथा हर्कटेका मिथिलेशकुमार कर्णलाई पुरस्कृत गरिएको थियो ।

पञ्चकन्याको जनहित कृषि सहकारी संस्था र मङ्गलबारेका उद्योगी विनोद मुखियालाई २ सय ८० लिटर क्षमताका डीप फ्रिज समेत हस्तान्तरण गरियो । कार्यक्रममा आयोजना प्र्रमुख डा. अधिकारी, जिल्ला सहकारी संघकी अध्यक्ष विष्णु दाहाल लगायतले मन्तव्य राखेका थिए । दूध दिवसकै अवसरमा दूध उत्पादनसम्बन्धी जनचेतना फैलाउने प्लेकार्ड बोकेका किसानहरूको ¥यालीले इलाम बजार परिक्रमा गरेको थियो । यस्तै जिल्ला पशु सेवा कार्यालय र इलाम दुग्ध उत्पादक सहकारी संस्थाले इलामको गोदकमा रहेको माइभगवती बृद्धाश्रमका बृद्धबद्धालाई दूध र दूधबाट बनेका परिकार वितरण गरेको थियो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...