समाचार

विश्व रामसार सूचीमा सूचीकृत माईपोखरी

गते ००:०० मा प्रकाशित

विश्व रामसार सूचीमा सूचीकृत माईपोखरी

इलामको सदरमुकाम इलाम बजारबाट करिब १८ किलोमिटर उत्तरमा रहेको माईपोखरी नेपालकै एक आकर्षक पर्यटकीय गन्तब्य, धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा रहेको छ । माईपोखरी क्षेत्र इलाम जिल्लाको पर्यटकीय पर्यायका रूपमा रहँदै आएको छ । यस क्षेत्रको प्रमुख आकर्षण माईपोखरीलाई सन् २००८ मा विश्व रामसार सूचीअन्तर्गत सूचिकृत गरी नेपालको नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणा गरेपछि यसको विश्वब्यापी पहिचान समेत स्थापित भइसकेको छ । नौवटा कुनामा पैmलिएको माईपोखरीलाई प्रकृतिको सुन्दर सिर्जनाका रूपमा लिइने गरिन्छ । माईपोखरीको नामाकरणका बारेमा भन्नुपर्दा माई अर्थात् आमा र पोखरी अर्थात् तलाउ जसबाट जलदेवता अर्थात माताबाट भएको विश्वास गरिन्छ ।
माईपोखरीलाई साक्षात् देवीका रूपमा मानिन्छ । तर बलिप्रथा भने निषेध रहेको छ । मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ । धार्मिक आस्थाको केन्द्र रहेको यस क्षेत्रका बारेमा अनगिन्ति किम्बदन्तीहरू रहेका छन् । माईपोखरीको इतिवृत्तमा टङ्क सुबेदीले लेख्नुभएको लेखका अनुसार मरुत राजाले यस ठाउँमा आएर नौवटा कुनामा नौवटै मन्दिर बनाई नवदुर्गाको पूजा गरी सो पूजा विसर्जन पश्चात पूजा स्थान सुरक्षित होस् भनी गङ्गाजीको आराधना गर्दा जल उत्पन्न भएको जनश्रुति रहेको छ । कुनै समयमा पोखरी वरिपरिका रुख विरुवाबाट पोखरीमा खसेका पातपतिङ्गरहरू चराचुरूङ्गीहरूले टिपेर बाहिर फ्याँक्ने गरेको कुराहरू सुन्न पाइन्छ । कुनै समयमा पोखरीमा पञ्चेबाजा, शङ्खघण्ट बज्ने गरेको र हाल पनि पोखरीबाट अकस्मात अनौठो ज्योति निस्कने र तुरून्तै लोप हुने गरेको रहस्य स्थानीय बासिन्दाहरू ब्यक्त गर्दछन् । द्वापर युगको अन्त्यमा पाँच पाण्डवहरू वनबास रहने क्रममा बराहक्षेत्र, अर्जुनधारा हुँदै माईपोखरीसम्म आई फर्किएको जनश्रुति समेत पाइन्छ । यसैगरी राजा मारुतका साथमा उनकी ‘इला’ नाम गरेकी छोरी पनि आएकी थिइन् र उनै ‘इला’बाट यस जिल्लाको नाम नै इलाम रहन गएको हो भन्ने जनश्रुति समेत रहेको छ ।
माईपोखरीलाई हिन्दु, बौद्ध र किराँत मुन्धुम धर्मको आस्थाका रूपमा लिइन्छ । माईपोखरी परिसरमा सत्यधुनी आश्रम, निर्मला माईआश्रम, टाँसी छोलिङ गुम्बा, शिवालय, सरस्वती मन्दिर तथा भगवती मन्दिर रहेका छन् । बैशाखे पूर्णिमा र ठूली एकादशीका दिन माईपोखरीमा विशेष पूजाअर्चना र मेला लाग्ने प्रचलन रहेको छ । धार्मिक तथा सांस्कृतिक विविधताले धनी यस क्षेत्रका समुदायको माईपोखरीप्रतिको आस्था भने समान रहेको छ । सबै धर्म संस्कृतिको सङ्गम रहेको माईपोखरीले सिङ्गो इलामको सांस्कृतिक सभ्यतालाई प्रतिविम्बित गर्ने कुरा सहप्राध्यापक युद्धप्रसाद वैद्यले माईपोखरीको इतिवृत्त नामक पुस्तकभित्र आफ्नो लेखमा उल्लेख गर्नुभएको छ ।
माईपोखरी क्षेत्र जैविक विविधताका दृष्टिले समेत उत्तिकै महत्वपूर्ण रहेको छ । यस क्षेत्रमा ४ प्रजातिका लालीगुराँस, ३ प्रजातिका चाँप, कटुस, लौठसल्ला, भद्रासे, सल्ला, १६ पैजातिका सुनाखरी, ६२ प्रजातिका जडिबुटीसहित ३०० प्रजातिका पूmल पूmल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्यू लगायतका वनस्पति पाइन्छन् । लोपोन्मुख पानीगोहोरो, लोखर्के, ओत, भ्यागुता, पाहा, चमेरो, मृग, सर्पलगायत १२ प्रजातिका जलचर, ६ प्रजातिका उभयचर, ३ प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २०० भन्दा बढी प्रजातिका चराचुरूङ्गीहरू रहेका छन् ।
माईपोखरीमा खास गरी तीन थरिका पर्यटकहरू आउने गर्दछन् । पहिलो धार्मिक आस्थाका आधारमा आउने, दोस्रो यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न आउने र तेस्रो यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय पक्षको अध्ययन अनुसन्धान, संरक्षण र विकासमा लागि पर्ने मानिसहरू रहेका छन् । इलामको उत्तरी क्षेत्र प्रवेशको लागि एउटा सजिलो मार्ग भएका कारण समेत यस क्षेत्रमा पर्यटकहरू धेरै सङ्ख्यामा वर्षैभरि आउने गर्दछन् । यातायातको सुविधाले समेत यस क्षेत्रमा आउने जाने पर्यटकहरूलाई सजिलो भएको छ । जिल्लाका अन्य गन्तब्यहरूसँग यसको सम्पर्क र सञ्जाल बनाउन सके आगामी दिनमा यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने देखिन्छ । (साभारः इलामको पर्यटन ब्यवस्थापन गुरूयोजना)


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...