समाचार

नक्कली विद्यार्थी देखाएर सेवा सुविधा उपभोग गरिँदै

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, १३ वैशाख ः विद्यार्थी नभएर विद्यालय बन्द गर्नुपर्ने स्थितिमा पुगेका इलामका केही विद्यालयले नक्कली विद्यार्थीको नाममा सरकारी सेवासुविधा लिइरहेको पाइएको छ । कक्षा–८ को जिल्लास्तरीय परीक्षामा भर्ना भएका भनिएका धेरै विद्यार्थी सामेल नभएपछि यो रहस्य खुलेको हो । जिल्ला शिक्षा कार्यालय इलामका अनुसार जिल्लामा आठ हजार ३ सय २७ विद्यार्थी कक्षा–८ मा भर्ना भएका थिए, तर ती मध्ये सात हजार ३ सय ५८ ले मात्र परीक्षा दिए । नौ सय ६९ विद्यार्थी जाँचमा अनुपस्थित रहेको निम्न माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण समितिले जनाएको छ ।
परीक्षामा विद्यार्थीहरू अनेक कारणबाट अनुपस्थित हुन सक्छन् भन्दै जिल्ला शिक्षा कार्यालयका उपसचिव गेहेन्द्र दाहालले यति धेरै अनुपस्थित हुनुमा केही रहस्य अवश्य रहेको र यो अनुसन्धानको विषय बनेको बताए । गत चैत १० गतेबाट सुरू भएको परीक्षामा लक्ष्मी आदर्श मावि महमाईमा २ सय १७ मध्ये ५५ जना, भगवती मावि महमाईमा १ सय ५० मध्ये ३२ जना, सरस्वती मावि बाँझोमा २ सय ३३ मध्ये ४६ जना, जनता उच्च मावि चुलाचुलीमा १ सय ८२ मध्ये २६ जना विद्यार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ ।
विद्यार्थी धेरै भर्ना भएको कागजी रूप तयार गर्न र शिक्षाबाट प्राप्त हुने सबै सेवासुविधा लिने प्रवृत्तिले शिक्षा क्षेत्रमा विकृति मौलाएको आक्षेप लाग्दै आएको छ । सामुदायिक र संस्थागत गरी १ सय ६६ विद्यालयका बिद्यार्थी उक्त परीक्षामा सामेल भएका थिए । शिक्षक दरबन्दी बढाउन र विद्यालय व्यवस्थापन खर्च जुटाउनका लागि बढी विद्यार्थी देखाएको हुनसक्ने पनि दाहालले बताए ।
परीक्षामा धेरै विद्यार्थी अनुपस्थित हुने विद्यालयहरूले पनि शिक्षा कार्यालयबाट रकम लगिसकेका छन् । सम्बन्धित विद्यालयले भर्नादर उच्च भए पनि बीचमै पढाइ छाडेर जाने गर्दा परीक्षामा कम विद्यार्थी सामेल भएको तर्क राख्दै आएका छन् । उता जिल्ला शिक्षा कार्यालय इलामले यसको कडाइका साथ अनुगमन गर्ने तयारी गरेको जनाएको छ । 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...