• शुक्रबार ८-२८-२०७५/Friday 12-14-2018
  • 09:16:31

‘जडिबुट्टि बेच्दा कमाई नभए’नि बानी लाग्यो’

इलाम, २५ जेठ : आज बिहीबार । सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा हटिया लागेको दिन । फिक्कल चोकबाट दक्षिणपट्टि सडक पेटिमा बसेर ढाका टोपी र सेतो धर्के सटमाथि इष्टकोट लगाएका, टोपीले छोपेकोदेखि बाहेकको कपाल सबै सेतै फुलेका देखिने एकजना मानिस सडकमा केही बेचिरहेका थिए । सडकमै निलो प्लाष्टिक ओच्छ्याएर बसेका उनी सानासाना पोका, टुक्रा र बट्टामा जडिबुट्टि फिँजाएर बसेका थिए । हरेक बिहीबार त्यही ठाउँमा देखिने उनी माई नगरपालिकाको वडा नम्बर ४ दानाबारीका अस्थायी बासिन्दा हुन् । बिगत ११ वर्षदेखि झापा र इलामका विभिन्न हटियाहरुमा पुगेर जडिबुट्टि बेच्दै आएका उनी खासै कमाई नभएपनि बानी लागेकाले हटिया नछुटाउने गरेको बताउँछन् ।
स्थायी बसोबासो इलाम नगरपालिका वडा नम्बर ४ को मलाते भएका भोजप्रसाद दुलाल हुन उनी । ११ वर्ष अघिदेखि हटियामा बसेर बिख्मा, हड्चुर, पाखनबेत, ठूलो ओखत, हर्रो, बर्रो, लाहा, पिप्ला, बन घिरौँला, पाङ्ग्रा, जेठीमधु जस्ता औषधीजन्य जडिबुट्टी बेच्ने गरेको भोजप्रसादले सन्दकपुर दैनिकलाई जानकारी दिए । उनी इलामको फिक्कल, दानाबारी, चिसापानी, हर्कटे तथा झापाका धुलाबारी, काँकरभिट्टा, शनिश्चरे, चारआली, बिर्तामोड, दमकमा लाग्ने हटियामा पुगेर यी जडिबुट्टि बेच्ने गर्छन् । दमक र धरानमा अन्य मानिसहरुले ल्याएका जडिबुट्टि थोक खरिद गरि उनले त्यसलाई हटियामा पुगेर खुद्रा बिक्री गर्ने गरेका हुन् । 
हरेक हटियामा अनिवार्य जस्तै पुगेर जडिबुट्टि बेच्ने गरेका भोजप्रसादले यो ब्यापारबाट आम्दानी चाहिँ खासै नहुने गरेको बताए । उनको भनाईमा एउटा हटियामा बढीमा एक हजार पाँचसय जतिको जडिबुट्टि मात्र बिक्री हुन्छ । त्यति बिक्री हुँदा उनलाई पाँचसय रुपैयाँको हाराहारीमा मात्र फाइदा हुन्छ । उनले भने, ‘आज यहाँ (फिक्कल) बिहीबार हजार रुपैयाँ भन्दा माथि बिक्री हुन मुस्किल नै पर्छ । पाँचसय रुपैयाँ भन्दा माथि नै बिक्री हुन्छ ।’
त्यो रकम फाइदा हो कि जम्मा बिक्री हो ? भन्ने प्रश्नमा उनले भने, ‘जम्मा बेचाई नै त्यतिको हो । पाँच सय जति मात्रै फाइदा हुन्छ ।’ आम्दानी नहुने ब्यापार किन गरिरहेको हो तपाइँले ? भन्ने प्रश्नमा भोजप्रसादले आप्mनो धारणा राखे, ‘लत नै बसिगो । नाफा त केही हुँदैन, बानी परेपछि नधाई पनि सकिँदैन । आउन जान भाडा पुगिहाल्छ अलिअलि खाजा खान पनि पुग्छ । कहिलेकाँही अलिअलि उब्रिन्छ ।’ उनले थपे, ‘कहिलेकाँही रोज नै बस्दैन, कहिल बस्छ ।’ उनकै भनाईमा उनले फिँजाएको जडिबुट्टि जम्माजम्मी पाँच हजार रुपैयाँ बराबरको मात्रै हो ।
हटियामा फिँजाएको जडिबुट्टि धेरैजसो बृद्धबद्धाले मात्रै खरिद गर्ने गरेको उनको अनुभव छ । युवा र किशोर किशोरी उनको जडिबुट्टि खरिद गर्न आउँदैनन् । आपूmले लामो समयदेखि जडिबुट्टि बेचेको र हटियामा लगेको कारण हटियामा आपूmलाई चिन्ने पुराना ग्राहक नै धेरैजसो आउने गरेको उनको भनाई छ । ‘युवाले त यहाँ हेर्दै हेर्दैनन्, बुढाबुढी मात्रै किन्न आउँछन्’, उनको भनाई छ ।
भोजप्रसादका अनुसार आपूmले बेच्ने गरेका जडिबुट्टिमध्ये सबैभन्दा बढी सुत्केरीका लागि प्रयोग हुने औषधी बिक्री हुने गरेको छ । त्यो औषधी लिन चाहिँ युवायुवती पनि उनकामा आउने गरेका छन् । ‘सुत्केरीलाई आँङ बाँध्ने भन्छ, त्यो औषधी लिन चाहिँ युवा पनि आउँछन्’, उनले भने । 
आपूmले बेच्ने जडिबुट्टि के को लागि र कसरी कस्तो मात्रामा खाने भन्ने कुरा पनि सिकाएर दिने गरेको उनले बताए । भाजप्रसादकोमा बिख्मा माग्दै आएकी एक महिलाले नास भनिने खाना अरुची हुने, बान्ता हुने बिमारको औषधी खोज्न आएको बताइन् । ती महिलालाई भोजप्रसादले खाने तरिका सिकाउँदै ५० रुपैयाँ बराबरको कालो बिख्मा बिक्री गरे ।
आपूmले बेचेका जडिबुट्टिले धेरै काम गरेको बताउँदै पुनः खरिद गर्न आउनेको सङ्ख्या पनि धेरै रहेको उनले बताए । ‘त्यस्ता पुराना ग्राहक नै बढी आउँछन्, नयाँ अलिक कमै आउँछन्’, उनको भनाई थियो । हटियामा हिँड्ने बाहेक उनले घरबाटै पनि औषधी बेच बिखन गर्ने गरेको बताए । 
 

प्रतिकृया दिनुहोस