• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018
  • 03:49:42

मध्यपहाडी सडकको कालोपत्रे सुरु

मध्यपहाडी लोकमार्गको अछाम खण्डको ६० किलोमिटर सडक कालोपत्रे सुरु गरिएको छ । विभिन्न चार वटा खण्डमा विभाजन गरी काम तीब्रताका साथ भैरहेको छ ।
२०७६ वैशाखसम्म कालोपत्रे सक्ने लक्ष्य राखिएको अछाममा दुई वर्षमै लक्ष्यभन्दा १५ प्रतिशत बढी काम सम्पन्न भएको छ । दुई वर्षमा ४ वटै खण्डमा ५० प्रतिशत काम सक्नुपर्ने लक्ष्य भएपनि सबै खण्डमा ६५ प्रतिशत भन्दा बढी काम भइसकेको आयोजनाको पश्चिम खण्ड दाङका इञ्जिनियर तुलाराम शर्माले बताए । उनले अहिलेकै गतिमा काम भएमा ०७५ साल असार भित्रै ७५ प्रतिशत कालोपत्रे भइसक्ने उनले बताए । उनी भन्छन्, “ढिलोमा ०७५ साल असोज मसान्तसम्म अछाम खण्ड कालोपत्रे भइसक्छ । सबैभन्दा बढी काम १७ किलोमिटर रहेको मंगलसेनदेखि ठाँटीखाँद खण्डमा भएको छ । यस खण्डमा असार मसान्तसम्म ९० प्रतिशत काम सम्पन्न भइसक्छ ।”
अहिले सडकको पेभमेन्ट (बेसकोर्ष र डिबिएसडी) को काम धमाधम भैरहेको छ । ठाँटीखाँद मंगलसेन सडक खण्डको १७ किलोमिटर मध्ये ३ किलोमिटर मात्रै बेसको काम बाँकी रहेको र अन्य क्षेत्रमा पिचको काम सुरु भइसकेको निर्माण कम्पनीका साइट इञ्चार्ज देबहरी सिटौलाले बताए । भुक्तानी अलि कम देखिएपनि काम भने द्रुत रहेको उनले बताए । 
कामलाई प्रभावकारी र गुणस्तरिय बनाउनका प्रतिबद्ध रहेको र मध्यपहाडीको काममा पनि त्यही नीतिअनुसार भइरहेको चन्द्रा एण्ड बसन्त निर्माण कम्पनीका प्रमुख गणेश चन्दले बताए । 
पूर्व पाँचथरको चियो भञ्ज्याँङ्देखी पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ७ सय ६५ किलोमिटर लम्वाइ रहेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगि बढाएको आयोजना हो ।

प्रतिकृया दिनुहोस