• मंगलबार ९-३-२०७५/Tuesday 12-18-2018
  • 07:15:20

बढि बच्चा जन्माउने महिलालाई प्रोत्साहन रकम दिने निर्णयको विरोध

इलाम नगरपालिकाले जनसंख्या वृद्धि गर्न भन्दै बढि बच्चा जन्माउने महिलालाई बढि प्रोत्साहन रकम दिने निर्णयको सर्वत्र विरोध सुरु भएको छ । नगरपालिकाले बढि बच्चा जन्माउन उक्साएको भन्दै महिलाहरुले विरोध सुरु गरेका हुन् ।

विभिन्न सामाजिक सञ्चाल तथा विज्ञप्ति मार्फत महिलाहरुले सो निर्णयको विरोध गरेका छन् । यसै क्रममा मंगलबार नेपाल महिला संघले पनि सदरमुकाममा पत्रकार सम्मेलन मार्फत सो निर्णयको विरोध गरेको छ । महिला संघले निर्णय तत्काल फिर्ता लिन माग समेत गरेको छ ।

यस निर्णय महिलाहरुका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने महिलाहरुले पत्रकार सम्मेलनमा बताए । नेपाल महिला संघ इलामकी अध्यक्ष निर्मला सञ्जेलले महिलालाई बच्चा जन्माउने मेसिनको रुपमा मात्र नसम्झन नगरपालिकालाई चेतावनी दिइन् ।

नगरपालिको यस्तो निर्णयले गरिबलाई झन् गरिब बनाउने, अशिक्षितको संख्या वृद्धि हुने, बेरोजगारी र भोकमरीको स्थिती सिर्जना हुने उनीहरुको तर्क छ । ‘यो निर्णय महिलाहरुलाई होच्याउने कार्य हो’ सञ्जेलले भनिन्, ‘यसलाई तत्काल फिर्ता लिन आग्रह गर्दछु ।’

नगरमा भौतिक पूर्वाधार, सडक, स्वाच्छ र पर्याप्त पिउने पानीको अभाव, स्वास्थ शिक्षा, व्यवस्थित बसोबास लगायतका कुरामा इलाम नगरपालिका कमजोर भएको अवस्थामा यस्तो निर्णय गरिनु लज्जास्पद भएको नेपाल महिला संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

महिला संघ इलाम अध्यक्ष निर्मला सञ्जेल र सचिव बबिता लिङ्दमले हस्ताक्षर गरेको विज्ञप्तिमा यो निर्णय तत्काल नसच्याए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी समेत दिइएको छ ।

प्रतिकृया दिनुहोस