• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:59:44

अपरमाई आयोजना सञ्चालक पञ्चकन्या माईले शेयर कारोबार थाल्यो

सन्दकपुर संवाददाता
इलाम, २८ असोज
: सन्दकपुर गाउँपालिकाको माबु र सुलुबुङबीचमा पर्ने माई नदीबाट सोही क्षेत्रमा १२ मेगावाटको अपरमाई जलविद्युत आयोजना र ६ दशमलब १ मेगावाटको माथिल्लो माई सी आयोजना निर्माण गरि सञ्चालनमा ल्याएको पञ्चकन्या माई हाइड्रो पावर कम्पनीको शेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई गएको बुधबारबाट कम्पनीको कारोबार सुरु भएको जनाइएको छ । कम्पनीको प्रतिकित्ता सय रुपैयाँ अंकित १ करोड १० लाख कित्ता शेयर सूचीकृत गरेर कारोबार सुरु गरिएको कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए । उनका अनुसार कारोबार सुरु गर्न मंगलबार कम्पनी र स्टक एक्सचेन्जबीच सम्झौता भएको छ । सूचीकृत गरी कारोबार सुरु गरिएकोमध्ये ८८ लाख कित्ता संस्थापक सेयर छ । २२ लाख कित्ता साधारण सेयर छ । कम्पनीले स्वपुँजी लगानीको १०र१० प्रतिशत साधारण सेयर २ चरणमा निष्कासन गरेर बाँडफाँड गरेको थियो । साधारण सेयरमध्ये ११ करोड मुल्यको ११ लाख कित्ता आयोजना प्रभावित इलामका स्थानीय र समान ११ करोड मुल्यको ११ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । पञ्चकन्या माईसँगै स्टक एक्सचेन्जमा सूचीकृत भइ कारोबार गर्ने जलविद्युत कम्पनीको संख्या २० पुगेको छ ।

प्रतिकृया दिनुहोस