• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:13:13

बडादशैँको अवसरमा क्यारामबोर्ड प्रतियोगिता

बडादशैँको अवसरमा माई नपा ९ को राँगापानीमा सम्पन्न क्यारामबोर्ड प्रतियोगिताको खेल हुँदै । तस्विरः भगीरथ भण्डारी

रोहितचन्द्र भट्टराई
चिसापानी, २७ असोज :
इलामको माई नगरपालिका वडा नम्बर ९ (साविक चिसापानी गाविस)को राँगापानीमा बडा दशैँको अवसर पारेर शनिबार एकदिने क्यारामबोर्ड प्रतियोगिता सञ्चालन गरिएको छ । स्थानीयस्तरमा संस्थागत रूपमै क्यारामबोर्डको प्रतियोगिता सञ्चालन भएको यो नौलो खबर हो । यसअघि ब्यक्तिगत रुपमा बाजी वा अन्य तरिकाले दुईतर्फी प्रतियोगिता हुने गरेको देखिन्थ्यो ।
राँगापानीको प्रतियोगिता शनिबार नै सम्पन्न भएको भए पनि यो समाचार तयार पार्दा (बेलुका ७ बजे)सम्म प्रतियोगिता सकिएको छैन । प्रतियोगितामा माई नगरपालिका ९ को राँगापानी, चिसापानी, लुम्बाक, इलाम नगरपालिका ९ को भञ्ज्याङ तथा इलाम नगरपालिका १० को गोदकका १० समूहका २० जनाले सहभागिता जनाएको आयोजक संस्था राँगापानी युवा समाजले जनाएको छ ।
समाजका सदस्य गोपाल तामाङका अनुसार दिउँसो ५ बजे नै प्रतियोगिता सम्पन्न गर्ने भनिए पनि ढिलोसम्म पनि सम्पन्न नभएको हो । उनले यो प्रतियोगितामा पहिलो चरणमा नकआउट र त्यसपछि चिट्ठा तानेर हार्ने निस्किने नियमले खेलाइएको बताए ।
यो राँगापानीमा खेलाइएको प्रतियोगिता पहिलो हो । ‘खासै ठूलो प्रतियोगिता भन्दा पनि रमाइलोको लागि खेलाइएको हो’, गोपालले भने । यो खेल खेलाउन इन्ट्रि फि बाहेक कतैबाट अन्य रकम नलिएको भन्दै बाँकी ब्यवस्थापन समाजबाटै गरिएको र धेरै खर्च पनि नभएको उनको भनाई थियो ।
प्रतियोगिताको बिजेतालाई पहिलो पुरस्कार चार हजार १०० र दोस्रो पुरस्कार दुई हजार १०० रुपैयाँ राखिएको छ । प्रतियोगितामा सहभागी हुन आउने समूहबाट प्रतिसमूह एक हजार रुपैयाँ इण्ट्रि फि लिइएको थियो ।

प्रतिकृया दिनुहोस