• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 03:02:45

करुणा फाउण्डेसनको सहयोगमा १५ वटा स्वास्थ्य संस्थाहरु पुनर्निर्माण

हिँडडुल गर्न नसक्ने देऊमाई नगरपालिका १ चमैता निबासी ७० बर्षीय क बर्गको अपाङ्गता परिचय पत्र प्राप्त डिगवीर सुनुवार करुणा फाउण्डेशनबाट ह्वील चेयर पाएपछि घर वरिपरि र भित्रबाहिर गर्न थालेका छन् ।

सन्दकपुर संवाददाता
इलाम, २६ असोज
: करुणा फाउण्डेशन नेपालको सहयोगमा इलामका १५ स्थानमा स्वास्थ्य संस्थाका भवन पुनर्निमाण गरिएका छन् । गएको पाँच वर्षमा ती स्वास्थ्य संस्थाका भवनहरु पुनर्निर्माण गरिएको हो । मर्मत गर्नुपर्ने भवनहरु पुनर्निर्माण गरि अझ ब्यवस्थित बनाइएको शुक्रबार सदरमुकाममा आयोजित पत्रकार भेटघाटका क्रममा जानकारी दिइयो ।

करुणा फाउण्डेशन नेपालको इलाम कार्यालयद्वारा आयोजित हेरचाहको लागि उत्प्रेरणा (आईटुसी) कार्यक्रमको जानकारी साथै विजया दशमी, नेपाल संवत, दिपावलि तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा दिइएको जानकारी अनुसार ३६ वटा स्वास्थ्य संस्था र १०९ गाउँघर क्लिनिकको भौतिक पूर्वाधार सुधारको लागि सहयोग गरिएको छ । त्यस्तै ७८ जना स्वास्थ्यकर्मीहरुलाई बर्थ डिफेक्ट पहिचानसम्बन्धी तालिम दिइएको छ भने १४ जना स्वास्थ्यकर्मीलाई नाक, कान, आँखा, घाँटी, समस्या कुपोषण परीक्षणसम्बन्ध्ी तालिम दिइएको छ ।
त्यस्तै करुणा फाउण्डेशनले इलाममा कार्यक्रम सञ्चालन शुरु गरेपछि ३५ जना स्वास्थ्यकर्मीलाई हेल्पिङ बेबी बर्थसम्बन्धी तालिम, २८ जनालाई मानसिक रोग परीक्षण तथा प्रेषण सम्बन्धी तालिम उपलब्ध गराएको पनि जानकारी दिइयो । कार्यक्रम अवधिमा १०५० महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई गर्भवती महिलाको तथ्याङ्क संकलन सम्बन्धी तालिम दिइएको छ । 
हेरचाहको लागि उत्प्रेरणा कार्यक्रमले इलामका ४२५९ गर्भवती महिलाको तथ्याङ्क संकलन, ५१४० नवदम्पत्तिलाई विवाह दर्ताको समयमा शुभकामना कार्ड वितरण, २१ हजार ६७४ जना आमा समूह, सुनौला १००० दिनका आमाहरु र नवदम्पत्तिहरुको समूहलाई जनचेतनामूलक सूचना प्रदान र ८५४५ बालबालिकाहरुको कुपोषण, नाक, कान, आँखा, घाँटीसम्बन्धी समस्याको परीक्षण गरेको पनि कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रमबाट इलामका अपाङ्गता भएका ६०७ जना ब्यक्तिलाई सहायक सामाग्री वितरण गरिएको जानकारी दिँदै इलाममा जम्मा ८१७ जना अपाङ्गता भएका ब्यक्तिहरु रहेको समेत बताइयो । त्यसैगरि कार्यक्रमले ३६ वटा विद्यालयलाई अपाङ्गतामैत्री बनाउन सहयोग गरिएको, ५७४ जना शिक्षकहरुका लागि समाहित शिक्षा तालिम सञ्चालन गरिएको र ८८४ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई ऋण सहयोग गरिएको छ । कार्यक्रममा जानकारी दिइएअनुसार इलामका ७६७ जना अपाङ्गता भएका ब्यक्तिलाई सीपमूलक तालिम पनि उपलब्ध गराईएको छ ।
करुणा फाउण्डेशनले आगामी दिनमा इलाममा महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्ने जनाएको छ । त्यसका लागि स्वास्थ्यकर्मीलाई तालिम, स्वास्थ्य संस्थालाई मेशिन प्रदान लगायतका काम शुरु गरिएको छ । पत्रकार भेटघाटमा कार्यक्रम निर्देशक अजित योञ्जनले शुभकामना मन्तब्य, कर्मचारी छवि श्रेष्ठले स्वागत मन्तब्य र कर्मचारी प्रदिप अधिकारीले कार्यक्रमबारे प्रस्तुति राखेका थिए ।

प्रतिकृया दिनुहोस