• मंगलबार ९-३-२०७५/Tuesday 12-18-2018
  • 07:12:23

कात्तिक अन्तिम साता सिद्धिथुम्का महोत्सव हुने

सिद्धिथुम्का चुलीकाे दृश्य ।

सन्दकपुर संवाददाता
इलाम, २६ असोज :
इलामको देउमाई नगरपालिका ७ (साविक सिद्धिथुम्का गाविस गाविस)मा पर्ने पर्यटकीयस्थल सिद्धिथुम्का चुलीमा यस वर्ष तिहारपछि तीन दिने पर्यटन महोत्सव सञ्चालन गरिने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ भन्ने मूल नाराका साथ आगामी कात्तिक २५, २६ र २७ गते महोत्सव हुने भएको छ नगरपालिकाले जानकारी दिएको छ ।
सिद्धिथुम्का परिसरमा सिद्धिथुम्का चुलीबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका साथै खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान जस्ता पर्यटकीय आकर्षण छन् । चुलीबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्ने सबैभन्दा उत्तम समय कात्तिक र मङ्सिर महिना हो । यही समयमा पर्यटकलाई सिद्धिथुम्का भित्र्याउन सहयोग पुगोस् भनेर महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईले सन्दकपुर दैनिकलाई जानकारी दिए । 
स्थानीय व्यावसायिक कृषि प्रणाली र मौरीपालन व्यवसाय पनि यस क्षेत्रमा आकर्षणको एउटा पाटो बनेको छ । यहाँ यो ब्यवसाय राम्रोसँग फस्टाएको छ । महोत्सवमा कृषि प्रदर्शनी र मौरीको समेत कक्ष राखिने गुरागाईँले जानकारी दिए । सिद्धिथुम्कामा यसअघि यहाँ दुई पटक महोत्सव सम्पन्न भइसकेको छ । त्यसरी महोत्सव सञ्चालन गरिएपछि सिजनमा पर्यटक आगमनको सङ्ख्या बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस