• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:59:12

बिग्रिएको तीनहप्तामा पनि बनिएन ट्रान्स्फर्मर

सन्दकपुर संवाददाता
श्रीअन्तु, २५ असोज :
पूर्वी इलामको सूर्योदय नगरपालिका वडा नम्बर ५ मा पर्ने साविकको समाल्बुङ गाविस ६, ७ र ८ (गोरख)का उपभोक्ता तीन हप्ता अघिदेखि अँध्यारोमै बस्न बाध्य छन् । असोज ४ गते परेको चट्याङका कारण त्यहाँ विद्युत वितरणका लागि राखिएको ट्रान्स्फर्मर बिग्रिएर उपभोक्ताका घरमा बत्ती नबले पनि नेपाल विद्युत प्राधिकरणले मर्मत नगर्दा उपभोक्ता विद्युतबिहीन बनेका हुन् । 
ट्रान्स्फर्मर बिग्रिएपछि साविकका तीनवटा वडाका तीन सयकै हाराहारीमा उपभोक्ता परिवार अन्धकारमा परेका हुन् । विद्युत प्राधिकरणको इलाम वितरण केन्द्रलाई ट्रान्स्फर्मर बिग्रिएको सम्बन्धमा शुरुमै जानकारी गराएको र पटकपटक मर्मतका लागि ताकेता गरेको भएपनि ठाडा कान नै नलगाएको गोरखका एक उपभोक्ता राजु बम्जनले सन्दकपुर दैनिकलाई जानकारी दिए । 
उनले भने, ‘आज भोली नै बनिन्छ भनेर भन्छन्, तर २० दिन नाघ्दा पनि बनिँदैन । के हो के हो ।’ त्यहाँ ५० केभीए (किलो भोल्ट एम्पीयर)को ट्रान्स्फर्मर राखेर विद्युत वितरण भइरहेको थियो । उक्त ट्रान्स्फर्मरबाट ३०० घरमा बत्ती बालिएको छ । त्यहाँ उद्योग धन्दा नभएकाले बढी विद्युत प्रयोग गर्ने ग्राहक छैनन् ।
उपभोक्तालाई जस्तै प्राधिकरणका कर्मचारीले सन्दकपुर दैनिकलाई पनि आजभोली नै त्यहाँको ट्रान्स्फर्मर बनिन्छ भनेर बुधबार जवाफ दिए । तर, त्यहाँको ट्रान्स्फर्मर आजभोली नै फेरेर अर्को राम्रो लगाउन इलाम वितरण केन्द्रसँग जगेडामा अर्को ५० केभीएको ट्रान्स्फर्मर नै छैन । भए पनि इलाम र फिक्कलका सबस्टेशनमा बिग्रिएर थन्किएका मात्र छन् । ती ट्रान्स्फर्मर समयमा मर्मतका लागि नलगेका कारण र ट्रान्स्फर्मर मर्मतमा केन्द्र ब्यवस्थापनले ध्यान नदिँदा उपभोक्ता ठगिइरहेका छन् ।
फिक्कलस्थित प्राधिकरणको प्रशाखा कार्यालयका कर्मचारीले बनाउन लगिएको ट्रान्स्फर्मर आजभोली नै आउने र त्यो लगेर तत्काल गोरखमा जोडिहाल्ने बताए । उनले गोरखको ट्रान्स्फर्मर बिग्रिएको ११ दिन मात्र भएको भनेर गलत जानकारी दिन पनि पछि परेनन् ।

प्रतिकृया दिनुहोस