• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:57:11

माईखोलाको चण्डालघाटमा बाँसको फड्के उद्घाटन

चण्डालघाटमा काठ र बाँसको फड्के (पुल)

सुष्मा राई
दानाबारी, २४ असोज :
दक्षिणी इलामको माई नगरपालिकाको वडा नम्बर ७ मा पर्ने महमाई र दानाबारी जोड्ने माईखोलाको चण्डालघाटमा एउटा काठ र बाँसको फड्के (पुल) निर्माण गरेर बुधबार उद्घाटन गरिएको छ । पक्की पुल बनाउन थालिएको पाँच वर्ष बित्दा पनि सम्पन्न नभएको, त्यसलाई सम्पन्न गर्न सरोकारवाला निकायहरुले चासो नदेखाएको र स्थानीय बासिन्दा खोलामा डुबेर आवतजावत गर्दा तथा डुङ्गामा तर्दासमेत जोखिम बढी भएको जनाएर कच्ची पुल निर्माण गरिएको हो । 
दशैँ तिहार जस्तो नेपालीको महान र मुख्य चाडवाडमा आवतजावत बढी हुँदा खोला तर्ने पनि बढी नै हुने भएकोले र बिगत बर्षहरुमा पनि दशैँतिहारकै बेला ठूला ठूला दुर्घटना भई धेरै मानिसको मृत्यु भएकोले दशैँअघि नै फड्के बनाएर जोखिमबाट बचाउन खोजिएको फड्के निर्माण उपभोक्ता समितिका संयोजक दीपक निरौलाले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् । उनका अनुसार नगरपालिकाको कार्यपालिकाबाट पनि एक लाख रुपैयाँ सहयोग भएपछि स्थानीय बासिन्दाको सक्रियतामा कच्ची पुल बनाइएको हो ।
४० फिट लम्बाई र छ फिट चौडाई भएको उक्त पुल निर्माणका लागि माईखोला फड्के निर्माण उपभोक्ता समिति नै तयार गरिएको छ । समितिका संयोजक समेत रहेका निरौलाले माई नगरपालिकाको वडा नम्बर ७ मार्पmत एक लाख रुपैयाँ प्राप्त भएको र वडा नम्बर ७ का बासिन्दाको २६ हजार २८० रुपैयाँ बराबरको श्रमदानबाट फड्के बनिएको बताए । 
मानिस, मोटरसाइकल र अटोरिक्सासमेत तर्न सक्ने फड्के बनाइएकोले गएका वर्षहरुमा जस्तो दुःखद् घटनाको जोखिम नहुने भन्दै निरौलाले भने, ‘बाइक, अटो पनि तर्न सक्छन्, दशैँ तिहारमा त्यस्ता साधन लिएर आउने धेरै हुने भएकाले उनीहरुलाई सहज होस् भनेर फराकिलो फड्के बनाइएको हो ।’
उक्त पुलको उद्घाटन बुधबार माई नगरपालिकाका प्रमुख दीपक थेवेले गरेका हुन् । पुल उद्घाटनका क्रममा केही वडाध्यक्षहरुसहित स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
दशैँअघि नै निर्माण सम्पन्न लागि परेका स्थानीय बासिन्दाले बनाउन थालेको चार दिनमै सकेका हुन् । जम्मा १३३ जनाले निर्माण सम्पन्न गरेको उक्त पुलको वारिपारि ढुङ्गाको पर्खालमाथि अड्याइएको छ भने, बीचमा दुई स्थानमा बाँसको खम्बा गाडेर टेवा लगाइएको छ । 
यो पुल निर्माण सम्पन्न भएपछि दानाबारी र महमाई बीचको आवतजावत सहज भएको छ । पुलले दानाबारीबाट महमाई, माङ्सेबुङ गाउँपालिकाको बाँझो लगायतका ठाउँमा आवतजावतका लागि सुविधा पुगेको प्रमुख थेवेले बताए ।

प्रतिकृया दिनुहोस